www.tandavnews.com
Fact ~ In search of truth

सम्पादक गिरी पक्राउको विरोध, पोखराका सबै सञ्चारमाध्यममा ‘ब्ल्याक आउट’

पोखरा ।

ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोध गर्दै पोखराबाट प्रकाशित सबै पत्रपत्रिकाहरुले सम्पादकीय कोलममा ‘ब्ल्याक आउट’ कालो पोतेका छन् ।

‘प्रेस माथिको ज्यादती बन्द गर ! विद्युतीय कारोबार ऐनको दफा ४७-४८ खारेज गर’ उल्लेख गर्दै पत्रपत्रिकाले पत्रकार गिरीको रिहाईको माग समेत गरेका हुन् ।

Batas

नेपाल पत्रकार महासंघ कास्की शाखाको अपिलमा यहाँबाट प्रसारण हुने रेडियो तथा टेलिभिजनहरुले बिहान ६ बजे ९० सेकेण्ड प्रसारण रोकेका छन् ।

अनलाइनहरुले पप्अप स्किप एडमा कालो ब्यानरसहित विरोध जनाइरहेका छन् । ‘पत्रकारिता साइबर अपराध होइन । प्रेस स्वतन्त्रता कायम गर’ उल्लेख सहितका ब्यानरहरु सामाजिक सञ्जालमा समेत व्यापक फैलिएको छ । उक्त ब्यानरहरुमा ठगी विरुद्ध समाचार लेख्ने पत्रकारलाई साइबर अपराध अन्तर्गत मुद्दा लगाइनु खेद भएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

त्यस्तै, पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ११ वटै जिल्लाका प्रशासन कार्यालय तथा प्रहरी कार्यालय अगाडी धर्ना दिन आह्वान गरिएको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।

गोरखा, तनहुँ, स्याङ्जा र कास्कीमा मंगलबारदेखि नै पत्रकारहरुले प्रहरी कार्यालय अगाडी धर्ना दिन सुरु गरिसकेका छन् । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध ठगी विषयमा समाचार प्रकाशित गरेका गिरीलाई गत सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो ।

बतासले सिआइबीमा दर्ता गराएको साइबर अपराध सम्बन्धी उजुरीमा जिल्ला अदालत काठमाडौंले मंगलबार ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश गरेको छ ।
बतासले पोखराका व्यवसायी मनोज भनिने दालप्रसाद श्रेष्ठ र जनकराज पहारीबाट ४ करोड २३ लाख ठगी गरेको आरोप छ । प्रहरीमा दर्ता भएको जाहेरीमा श्रेष्ठको १ करोड ९८ लाख र पहारीको २ करोड २५ लाख बतासले ठगी गरेको उल्लेख छ ।

चैतको अन्तिम सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु भए पनि सोमबार दर्ता भएको थियो । बतासलाई कास्की जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएलगत्तै विपेन्द्रले उच्च अदालत पोखरामा परमादेशसहितको आदेश माग गर्दै रिट दायर गरेका छन् ।

(सिआइबी) मा उजुरी परेर अनुसन्धानकै क्रममा रहेको, जिल्ला अदालत कास्कीमा सोमबारै गाली बेइज्जती मुद्दा दर्ता भएकाले पक्राउ पुर्जी जारी नगर्न आदेश माग गर्दै विपेन्द्रले वारेसमार्फत रिट दायर गरेका हुन् ।

बतासले पत्रकार गिरी सहित व्यवसायी पहारी र श्रेष्ठलाई विपक्षी बनाएर सोमबारै लिखित गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.