www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बृहत सफाइ अभियान

– अन्जु केसी

प्रकृति सुन्दर छ, शान्त छ । प्रकृतिलाई आफ्नै स्वरूपमा रहन मानवीय क्रियाकलापले दिएन । प्रकृतिको स्वरूप बिगारेर मानवीय गतिविधिले कुरूप बनाएको छ । सुन्दर पोखरालाई दुषित, कुरूप बनाउने पनि मानवीय क्रियाकलाप नै हो । मानवीय क्रियाकलाप नै फोहोरको स्रोत हो । फोहोर असभ्यताको प्रतीक हो भने सरसफाई सभ्यताको प्रतीक हो । हामी नेपालीहरु कला, साहित्य, साँस्कृतिमा धनी भए पनि सरसफाईको सवालमा उस्तै उचाई बनाएका छैनौं ।

पोखरा नेपालको प्राकृतिक हिसाबले सुन्दर शहर हो । पछिल्ला समयमा मानबीय क्रियाकलापहरुले यो सुन्दर सहरलाई कुरूप बनाउने त हैन भन्ने चासो सर्वत्र बढ्दै गईरहेको छ । सुन्दर पोखरालाई सफा, स्वस्थ र हराभरा बनाउने अभियानले विगत ४ बर्ष अघिबाट सुरु गरी हालसम्म निरन्तरता पाएको छ । यस पोखरा बृहत सफाई अभियानको बारेमा मैले यस लेखमा चर्चा गर्ने प्रयत्न गरेकी छु । प्रसंग २०७२ साल जेष्ठ महिना २० गतेको हो ।

Batas

म तत्कालिन पोखरा उपमहानगरपालिकाले गठित निगरानी समितिको संयोजक थिए । उपमहानगरपालिकाको कार्यालयमा तत्कालिन नागरिक समाजका संयोजक राम बहादुर पौडेल दाजुसँग भेट भयो । मेरो हातमा पत्र थमाउँदै उहाँले भन्नुभयो ‘बहिनी पर्सि २१ गते न्यु इरा पार्टी प्यालेसमा कार्यक्रम छ जसरी पनि आउनुपर्छ ।’ म साथीहरु लिएर सो कार्यक्रममा गएँ ।

काठमाडांैबाट नेपाल सरकारका तत्कालिन मुख्यसचिव लिलामणि पौडेल, क्षेत्रीय प्रशासक दिनेश थपलिया, डा.राजु पौडेल लगायतको सयौँको संख्यामा मानिसहरुको उपस्थिति थियो । हामीले उहाँहरुको कुरा सुन्यौँ । राष्ट्रका लागि केहि गर्नुपर्छ भन्दै हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयं सेवा गर्नुपर्छ भन्ने विचार उहाँहरुले राख्नुभयो । म उक्त प्रस्तावबाट प्रभावित भएँ र सो प्रस्तावलाई साथ दिने प्रतिबद्धता जाहेर गरे ।

लगतै जेष्ठ २२(जुन५) मा बिश्व वातारण दिवसका दिनमा परेर हाम्रो अभियानको थालनी फेवातालको संरक्षणको कार्यक्रम अगाडि बढाउने गरी सुरु भयो । फेवाताल फिर्के खोलाको फोहोरले पुरिदै गएको छ । फेवाताललाइ सुन्दर बनाउन हामी अभियन्तासँग नागरिक समाज, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपमहानगरपालिका, वित्तीय संघसंस्थाहरु, आमा समूहहरु, टोल विकास संस्था, बिद्यालय, कर्मचारी लगायत गोलबन्द हुनु भयो र सयांै सहभागीको उपस्थितिमा हाम्रो कार्यक्रमको सुरुवात वडा न.१८ को फिर्के खोलाको मुहान अधेरीकुनाबाट गरियो ।

फिर्के खोलाको कुना खोच कहिँ बाँकी नराखी भर्याङ राख्दै मानव संगालो बनाउदै घाम झरी केहि पनि नभनी हाम्रो अभियान निरन्तरता चल्यो । हरेक शनिबार बिहानको समयमा हाम्रो अभियान जारि रहयो र वडा न.२,४,५,७,८,१७ हुँदै हामी १८ औ हप्तामा ड्यामसाइड पुग्यौ । फिर्केखोला सफाई कार्य सम्पन्न भएपछि हामीले अब अभियानलाई विश्राम गर्ने सोच बनाएको केही समयपछि फेरि काठमाडौंबाट लिलामणि पौडेल आउनुभयो र उहाँले भन्नुभयो ‘यो अभियान रोकिनु हुँदैन, तपाईहरु थाक्नु हुँदैन ।’ हामी दैनिकरुपमा हाम्रो मुख, दाँत हात खुट्टा सफा गर्छौ भने तपाई हामी बस्ने वरपरको बातावरणलाई पनि निरन्तर सफा गरिरहनुपर्छ । उहाँको कुरा ठिकै लग्यो । हामीले पोखराबाट ३३ वटै वडामा सरसफाई अभियान लिएर पुग्ने सोच राख्यौँ । यो अभियान पनि सबै क्षेत्रको व्यापक सहभागिता सहित निरन्तर चलिरह्यो ।

हरेक बिहीबार दिउँसो ४ देखि ५ बजेसम्म हामी पूर्व तयारी बैठक बस्छौँ र हरेक शनिबार बिहान फरकफरक स्थानहरुमा सफाई गर्छौ । हामी १ देखि ३३ वडा सम्म पुग्यौँ । कुनै दिन झरी, बादल चाडपर्व, तीज, दसैँ, तिहारमा पनि रोकिएन हाम्रो अभियान । हाम्रो अभियानलाई नजिकबाट नचिन्नेहरुले हामीलाई पागलको संज्ञा पनि दिए । काम नपाएकाहरु डलर आउँछ होला अनि फोहोर टिप्दै हिड्ने गर्छन् भन्न समेत पछि परेनन् । तिम्रो साघुँरो सोचाइले यस्तै बुझ्यौ भन्दै हामी प्रतिक्रियाहरुलाई पचाउँदै हिड्यौ । त्यो चेतनाको र सकारात्मक सोचको कमी हो भन्ने हामीलाई लाग्थ्यो । हामी ढुक्क थियौ । यो अभियान विशुद्ध स्वयमसेवा हो र कहिँ कतैबाट यो अभियानका नाउँमा आर्थिक सहयोग लिएनौ र लिने छैनौ ।

यस अभियानमा सबै अभियन्ताहरु समयमा नै आइपुग्नुहुन्छ । हामीले बोलाएका प्रमुख व्यक्तित्व ढिलो आउनुभयो भने पनि हामी कुर्दैनौ र पूर्वनिर्धारित समयमै कार्यक्रम सुरु गर्छौ । त्यसैले नेता, मन्त्री देखि सबै अतिथिलाई अब थाहा भै सक्यो यो अभियानमा समयमै पुग्नुपर्छ भनेर र उहाँहरु अन्तका कार्यक्रम छोडेर भएपनि समयमा नै आउनुहुन्छ ।

हामी हरेक दिनको सरसफाई कार्यक्रम राष्ट्रियगान गाएर सुरु गर्छौ भने हामी फोहोर गर्दैनौ, फोहोर हुन दिदैनौ । हामी हाम्रो टोल छिमेक सफा राख्छौ भन्ने सामुहिक प्रतिबद्धता समेत व्यक्त गर्छौ । ३३ वडाको सयौ टन फोहोर उठाउनुको साथै लाखौँको सहभागिता रहेको यस अभियानमा १५ सय भन्दा बढी कार्यालय,संघ,संस्थाले सहभागिता र प्रतिबद्धता जनाएका छन् ।

यस अभियानको तेस्रो चरणमा हामीले लाखौ पोखरेलीले पिउने पानीको मुहान मर्दी खोला सफा गर्यौ । मानव जीवनको अन्त्यस्टी गर्ने घाटहरु मलामी जाँदा खाएका पानीका बोतल, फ्रुटिका खोल, पुकार, गुटका, सुर्तीका खोल प्लास्टिक पुराना कपडा जस्ता फोहोरहरुले अत्यन्तै फोहोर रहेको देखिएकोले हामीले पोखराका घाटहरु पनि सफाई गर्यौ ।

हिन्दूधर्म अनुसार पवित्र मानिने सेतीगंगाको रामघाट सफाइमा गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूको समेत उपस्थिति रह्यो । त्यसैगरी यस बर्षको सिमसार दिवस माघ १९फेब्रअरी२) मा नेपाल सरकारका बन तथा बाताबरण मन्त्री शक्तिबहादुर बस्नेत, सचिव डा.विश्वनाथ ओली लगायतले पनि फेवातालको सफाई कार्यक्रममा हामीलाई साथ दिई एकयबद्धता जनाउनुभयो । समाजका हरेक किसिमका फोहोरहरुलाई सफाई गर्दै र खबरदारी गर्दै यो अभियान १५० हप्तामा आइपुग्दा ४ बर्ष पनि बितिसकेछ । हाम्रो अभियान अब हामीमा मात्र सिमित रहेको छैन ।

यसको सकारात्मक प्रभावले हरेक वडा वडाहरुले सरसफाई अभियानलाई निरन्तरता दिइरहेका छन् र धेरै अभियन्ताहरु पनि तयार हुनु भएको छ । कतिपय ठाउँहरु पूर्ण सरसफाई क्षेत्र घोषणा समेत भइसकेका छन् । खहरे आमा समूह बैदामको फेवाताल सरसफाई अभियानले १०० हप्ता नाघी सकेको छ भने बेगनास युवा क्लवको सफाई अभियान, हेमजा सफाई अभियानहरु पनि ५० औ हप्ता नाघिसकेका छन् ।

यस अभियानले हामीलाई धेरै शिक्षा पनि दियो । मुख्य गरेर चाउचाउ बिस्कुट आदिका खोलहरु जथाभाबी फाल्ने प्रवृतिको नियन्त्रण गर्न बिद्यालयस्तरमा विद्यार्थीहरुलाई सरसफाई र नैतिक शिक्षाका अतिरिक्त कक्षाहरु सञ्चालन गर्नुपर्ने र सकेसम्म यस्ता बिषयहरु पाठ्यक्रममा समावेश गर्नुपर्ने देखिन्छ । अत्यन्त फोहोर हुने टोलछिमेकहरु छनौट गरि सचेतना गोष्ठीहरु सञ्चालन गर्नुपर्ने देखियो र स्थानीय पत्र पत्रिका र एफएम रेडियो मार्फत सरसफाईबारे सचेतनामुलक सामग्रीहरु प्रकाशन र प्रसारण गर्नुपर्ने देखियो । यस्ता कार्यक्रमहरु सञ्चालनका लागि यो अभियान मार्फत सम्बन्धित निकायहरुलाई हामी आग्रह पनि गरेका छौ ।

अभियानका केही सकारात्मक पक्षबारे विश्लेषण गर्दा यसले उच्च पदस्थ कर्मचारी, मन्त्री र सभासदस्यज्यूहरुलाई सर्बसाधारण जनताले आफ्नै घरदैलोमा भेट्न पाउनु भयो र शान्ति, सुरक्षा र विकासनिर्माण लगायतका आफना समस्या र चासोबारे आफ्नो कुरा राख्न पाउनुभयो भने यस्ता अतिथिहरुले स्थानीय समस्या र चासोहरुबारे प्रत्यक्ष बुझ्ने मौका पाउनु भयो ।

जनता, प्रशासक, मन्त्री, संसदज्युहरुको बिचमा पुलको काम समेत यस अभियानले गर्यो जसले गर्दा जनताका कतिपय समस्याहरु समाधान भएका र विकास निर्माण कार्यले गति लिएका उदाहरणहरु पनि भेटिए । जस्तै हेमजाका जनताहरुको प्रहरी चौकी राख्ने मागका यसै अभियानमै उठान भै पूरा पनि भयो । हामी अभियन्ताहरुलाई पनि पोखराका हरेक टोलटोल अनि समाजमा भएका सकारात्मक कार्यहरु, कमीकमजोरी, समस्या र सञ्चालित विकास निर्माणका कुराको बारेमा ज्ञान भयो । यसका साथै हामीलाई धेरै मानिससंग चिनजान र सहकार्य गर्ने मौका समेत मिल्यो ।

अन्त्यमा, यस अभियानलाई निरन्तर नेतृत्व दिदै यस अवस्थासम्म ल्याई पु¥याउने सामाजिक अभियन्ता तथा पोखरा बृहत सफाई अभियानका संयोजक आदरणीय रामबहादुर पौडेल ज्युलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

साथै हामीलाई हौसला प्रदान गर्ने नेपाल सरकार तथा प्रदेश सरकारका माननीय मन्त्रीज्युहरु, सभासदज्युहरु, लिलामणि पौडेलज्यू, नागरिक समाज, कर्मचारी, सुरक्षा निकाय,आमा समूह, युवा क्लब, टोल विकास सस्था, सामाजिक राजनीतिक क्षेत्रका अगुवा तथा कार्यकर्ताहरु, वित्तीय सस्थाहरु,बिद्यालय,शिक्षक तथा विद्यार्थीहरु लगायत प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्ने सबै सबैमा हार्दिक नमन गर्दछु र भविष्यमा पनि यहाँहरुबाट यस्तै सहयोगको अपेक्षा समेत गर्दछु । जय पोखरा वृहत सफाई अभियान ! !

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.