www.tandavnews.com
Fact ~ In search of truth

सर्वोच्चका नवनियुक्त पाँच न्यायाधीशले लिए शपथ

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आइतबार आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा रहेका छन् ।

Batas

उनीहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन् । प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराए । उनी नेपाल सरकारको सचिव थिए ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा .शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिएका थिए। नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।

राष्ट्रपति भण्डारीले उनीहरु सातै जनालाई पदमा गत शुक्रबार नियुक्ति गरेकि थिइन् । सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.