ताण्डव न्युज ।
महिला, उत्पीडित, पछि पारिएको वर्ग र लिंगको उत्थानको नारा लगाउने र वकालत गर्ने सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयदेखि जिल्ला नेतृत्व चुन्दासम्म लैंगिक रूपमा समावेशीता अपनाएको देखिएन।
नेकपाले भव्यताका साथ सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेकपाको ७०औँ स्थापना दिवसका अवसरमा ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम घोषणा गरेको छ। केन्द्रीय सचिवालयले सर्वसम्मत पारित गरेको भनिएको जिल्ला कमिटीको नेतृत्वमा नगण्य रूपमा महिला प्रतिनिधित्व देखिएको छ।

राजनीतिमा समावेशीका एजेन्डा जोडतोडका साथ उठान गर्ने तत्कालिन माओवादी र एमाले मिलेर बनेको देशकै ठूलो राजनीतिक दलमा महिलाको प्रतिनिधित्व दयनीय देखिएको हो। राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनैपर्ने भनेर संविधानमा समेत लेख्न अहम् भूमिका खेलेको नेकपाको संगठनका महत्वपूर्ण पदमा भने महिलालाई जिम्मेवारी दिइएको पाइएन । ७७ जिल्ला कमिटीका अध्यक्षमा जम्मा तीन जिल्लामा मात्र महिला अध्यक्ष तोकिएका छन्।
लमजुङमा मधु अधिकारी*, काभ्रेमा रुकु चौलागाईं र मकवानपुरमा मनु सिग्देल अध्यक्षमा चयन भएका हुन। त्यसैगरी, सचिवमा एक जना मात्रै महिला रहेकी छन्। नेकपाको जिल्ला कमिटी सचिव बन्ने सौभाग्य प्राप्त गर्ने ती महिला इलामकी सोममाया राई हुन। यो संख्या १५४ को १.९८ प्रतिशत मात्रै प्रतिनिधित्व हो। नेकपाको केन्द्रीय सचिवालयमा एकजना पनि महिला छैनन।
९ सदस्यीय सचिवालयमा एकजना पनि महिला राख्न नेकपाले आवश्यक ठानेको देखिँदैन। नेकपाको शक्तिशाली मानिने स्थायी कमिटीमा जम्मा दुई जना मात्रै महिला छन। ४५ सदस्यीय स्थायी कमिटीमा ठाउँ पाउने नेतृ पम्फा भुसाल र अष्टलक्ष्मी शाक्य हुन। नेकपाको ४४१ जना केन्द्रीय समितिमा ७२ जना मात्र महिला रहेका छन।
जुन १६ प्रतिशत मात्रै हो। संविधानले निर्वाचन आयोगमा दर्ता भएका राष्ट्रिय राजनीतिक दलहरूको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनैपर्ने उल्लेख गरेको छ। नेकपाको यो अवस्था आउनुमा पार्टी एकताको संक्रमण मूख्य कारक रहेको नेकपाकी नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्री बताउछिन।
उनले पार्टी र राजकीय पदमा हुने नेतृत्वको कुरा फरक रहेको बताइन। ‘अर्को महाधिवेशनमा एक तिहाई महिला प्रतिनिधित्व हुने गरी नेतृत्व विकास गर्छौँ’, उनको भनाइ थियो, ‘कम्युनिस्ट नेतृत्वको कुरालाई स्थानीय तहले पनि सहयोग गरेको छ। यो संक्रमणकालिन व्यवस्था पनि भएकाले हो। पार्टीले महिलालाई नेतृवमा ल्याउन अलि अनिच्छुक भएको हो कि देखिन्छ तर महिलाका मुद्दामा कम्युनिस्ट पार्टी अग्र पंतिमा छ।’ एजेन्सी ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.