संजय रेग्मी
पर्वत/ताण्डव न्युज ।
लोक साङ्गीतिक क्षेत्रको यात्रा वर्ष २०७५ मा अब्बल बन्यो । यस वर्ष लोकगीतमा नयाँ खालको ट्रेन्डिङ आयो । प्रायः गरी बिछोड, दुःख, पीडाका गीतहरू बजारमा आउने गरेका भए पनि कुलेन्द्र बिकले बजारमा ल्याएको ‘सालको पातको टपरी’ गीतले लोकगीतहरूको यात्रा नै फरक बनायो ।
जसरी नेपाली चलचित्रहरू सुस्ताएको बेलामा ‘लुट’ ले चलचित्रको ट्रेन्ड फेरेको थियो त्यसरी नै विष्णु माझी, कुलेन्द्र बिक र वसन्त थापाले स्वर भरेको गीतले दुःखका कथा छोडेर रमाइलो गरी नाच्ने खालका गीतहरूको रचना गर्न अरू कलाकारहरूलाई पनि बाध्य पार्यो । असोज १ गते सार्वजनिक भएको गीतले युटुुबमा अहिलेसम्म ४ करोड दर्शक कमाएको छ ।

सधैँ एकै खालको प्याटन दर्शक र श्रोताले मन नपराउने भएका कारण नै अहिलेको ट्रेन्डिङ ‘सिक्स एट बिट’ का गीतहरू बनेको कलाकार राजन कार्कीले बताए । अहिलेका दर्शक रुने भन्दा रमाउने बढी भएका कारण नै ‘सिक्स एट बिट’ का गीतहरूले बजारमा राम्रो ठाउँ पाएको उनको अनुभव छ । ‘सिक्स एट बिट’ का गीतहरूमा परम्परागत शैलीका बाजासँगै आधुनिक बाजाहरूको प्रयोग उच्च भएको हुन्छ । नाच्नका लागि चाहिने सबै मसलाहरू यस्ता खालका गीतहरूमा राखिएका कारण मेला महोत्सवमा पनि यिनै गीतहरूले बढी ठाउँ पाएका छन् ।
प्रायः नेपाली चलचित्रका गीतहरूमा गायन कोरसको प्रयोग हुने गरेकोमा अहिलेका लोकगीतहरूमा पनि गायन कोरसको प्रयोग गरिएको छ । एक जना कलाकारको स्वर जस्तो भए पनि सुन्नै पर्ने बाध्यतालाई तोडेर पृष्ठभूमिमा राखिएको कोरस आवाजले गीतमा स्वर भरेका कलाकारको स्वरलाई मिठो बनाइदिएको छ । यही कारण पनि ‘सिक्स एट बिट’ का गीतहरूले वर्ष २०७५ मा राम्रो ठाउँ बनाउन सकेका हुन् ।
पछिल्ला ७ महिनामा बजारमा आएका १० ओ ‘सिक्स एट बिट’ का गीतहरूले रेडियो, टेलिभिजन, युटुब, टीकटक, मेला महोत्सव लगायतका ठाउँमा एकछत्र राज गर्न सफल बने । असोज १ गते ‘सालको पातको टपरी’ रिलिज भएपछि चैत २९ गते रिलिज भएको पशुपति शर्मा सम्झना भण्डारीको गीत ‘क्यार्न मया मारिचौ’ सम्म आइपुग्दा ‘सिक्स एट बिट’ मा कोरस राखेर बनाइएका १० वटा गीतहरूले कलाकारलाई स्टेजमा राम्रै ठाउँ बनाइदिए ।
कुलेन्द्र बिकको सालको पातको टपरी, राजन कार्कीको पान खायो मायाले र खोलीमा माछी, सन्दीप न्यौपानेको लालुमै, वसन्त थापा र रवि कार्कीको जाउँ सुस्तै, कुलेन्द्र बिक र सरिता कार्कीको लाउँछ माया, तेजस रेग्मीको पिँडालु र भँगेरी, मोहन खड्काको लाल्टिन तथा पशुपति शर्मा र सम्झना भण्डारीको क्यार्न माया मारीचौ दर्शक र श्रोताको मनमा बस्न सफल भए । यी गीतहरूले ४ करोडसम्म ‘भिजिटर’ यूटूवमा पाएका छन् ।
लोकगीतमा मात्रै होइन म्युजिक भिडियोमा पनि निर्माताहरूले राम्रो मिहिनेत गरेका छन् । प्रायः नायक र नायिकालाई मात्र म्युजिक भिडियो निर्माण हुने गरेकोमा ‘सिक्स एट बिट’का सबै गीतहरूमा नायक नायिका सहित ‘कोरस डान्सरहरू’ मा बढी महत्व दिन थालिएको छ । एउटै गीतमा ५० जना भन्दा माथिको सङ्ख्यामा कोरस डान्सरहरूलाई नचाउँदा उनीहरूको भेषभुषा, पारिश्रमिक, यातायात, ‘सुटिङ ड्यूरेसन’ समेत बढ्दा म्युजिक भिडियोको लगानी पहिलेको भन्दा दोब्बर भन्दा पनि माथि उक्लिएको कलाकारहरु बताउँछन् ।
यस अगाडिका म्युजिक भिडियोहरू ‘स्टिल क्यामेरा’ बाट खिचिने गरिएकोमा अहिले ‘ड्रोन क्यामेरा’ को पनि उत्तिकै बढेको छ । गीत र म्युजिक भिडियो दुबै राम्रो बन्न सकेमा मात्र दर्शकले मन पराउने भएका कारण स्टेज र यूटूवबाट राम्रै कमाइ भइरहेको कलाकारहरू बताउँछन् । लगानी महङ्गो परेपनि लोकगीतहरूले राम्रो कमाएका कारण लोक साङ्गीतिक क्षेत्र उत्साहजनक रहेको ‘सिक्स एट बिट’ का गीतहरू बजारमा ल्याएका कलाकारहरूको भनाइ छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.