www.tandavnews.com
Fact ~ In search of truth

दीर्घरोगीलाई निको पार्दै म्याग्दीको तातोपानी कुण्ड

गलेश्वर ।

प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ ।

तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महङ्गा अस्पतालमा पुगेर उपचार गर्दा समेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका बिरामीले बताएका छन् ।

Batas

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयको रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन् ।

देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउँछन् । लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका बिरामीले पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताएका छन् ।

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६२ वर्षीय प्रेमबहादुर घर्तीले आफू १५ वर्षसम्म तातोपानीको कुण्डमा निरन्तर रूपमा डुब्न आएको बताए । उनले आफ्नो ढाड र घुँडा दुख्ने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताएका छन् । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने उनको भनाइ छ ।

यसैगरी गुल्मीको थर्पुकोट–१ का विष्णु कर्केले पनि विदेशमा रहँदा छालामा समस्या देखिएर औषधि सेवन गर्दा पनि रोग निको नभएको हुँदा तातोपानी कुण्डमा आएर डुबेपछि धेरै ठिक भएको अनुभव सुनाए । औषधि उपचारमा मात्रै करीब डेढलाख खर्च गरिसक्नुभएका कर्केले हालसम्म तेस्रोपटक तातोपानी कुण्डमा आएको जानकारी गराउँदै रोग निको हुँदै गएको बताए । उनले हातका औँला र पैतालामा समस्या आएपछि उपचारकै लागि दुई महीनाको अवधिमा तीन पटक कुण्डमा आएको अनुभव सुनाए ।

त्यस्तै से–फोक्सुण्डो गाउँपालिका–८ रिक्म डोल्पाकी मिक्मा केसीको परिवार पनि तातोपानी कुण्ड स्नान गर्न आएको १० वर्ष पुग्यो । उनी र श्रीमानको पनि घुँडा दुख्ने समस्याले गर्दा वर्षमा कम्तीमा पनि एकपटक तातोपानी कुण्ड डुब्न आउने गरेको बताए । उनले बेलाबेलामा घुँडा दुखेर दुःख दिने गरेपछि डुब्न आएको भन्नुहुँदै कम्तीमा पनि एक हप्तासम्म डुब्ने गरेको उनले जानकारी दिए ।

तातोपानी कुण्डमा डुब्दा पैसा पनि थोरै लाग्ने र औषधि उपचार तथा चिकित्सककोमा जानुभन्दा प्राकृतिक उपचार खोज्दै आएको उनको भनाइ छ । घुँडा दुख्ने, ढाडको समस्या र ग्यास्ट्रिक भएकाले त्यसलाई निको बनाउन आफूहरु तातोपानी आउने गरेको उनी बताउछन् ।

प्रेम, विष्णु र मिक्मा त केबल प्रतिनिधि पात्र मात्रै हुन् । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरु डुब्न आउने गरेका छन् । पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।

कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । जमीनमुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहिआएको छ ।

तातोपानीमा उपचारका लागि आउने यातायातका साधनबाट नै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका साधन आउने गर्दछन् । बेनीदेखि पनि तातोपानी कुण्डसम्म पुग्नका लागि बस, ट्याक्सी, जिपलगायतका सबै साधन पाइन्छन् । बेनीदेखि बसमा ७० र ट्याक्सीमा १५० तिरेपछि तातोपानीमा पुग्न सकिन्छ । तातोपानीबजारमा पुगिसकेपछि त्यहाँ होटल तथा कोठा भाडामा लिएर बस्न पाइन्छ ।

होटलको राम्रो प्रबन्ध पनि छ । त्यसैगरी आफैँ पकाएर खानेलाई कोठासँगै ग्यास चुल्हो पनि घरधनीले दिने गर्छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.