वालिङ।
न्यायिक समितिमा दर्ता भएका मुद्दाको छिनोफानो गर्न वालिङ नगरपालिकाले मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् ।
स्थानीयस्तरमा देखिएका विवादलाई छिटो छरितो समाधान गर्नका लागि मेलमिलापकर्तालाई सक्रिय बनाइएको वालिङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कल्पना तिवारीले बताए ।

प्रत्येक वडाबाट सहभागिता हुनेगरी आठ दिनको ४८ घण्टे तालीम दिएको नगरपालिकाले मेलमिलापकर्ताको सूची दर्ता गरी सूचीकृत भएकालाई नै वडाको मुद्दा तथा विवाद मिलाउने जिम्मा दिइएको संयोजक तिवारीले बताए ।
“नगरवासीले न्यायिक समितिमा निवेदन दर्ता गराएपश्चात ३२ जना मेलमिलापकर्तामध्येबाट छान्न लगाउँछौं” संयोजक तिवारीले भनिन्, “मुद्दा तथा विवादको मिलापत्रका लागि जुन मेलमिलापकर्ता माग गर्नुहुन्छ उहाँलाई नै मिलापत्र गर्ने जिम्मा दिने गरेका छौं ।”
मेलमिलाप एउटा उत्कृष्ट पद्दति भएको र यसका माध्यमबाट एक पक्षले जित्ने र अर्को पक्षले हार्ने भन्दा पनि दुबै पक्षले जित्ने अवस्था सिर्जना हुने गरेको संयोजक तिवारीको भनाइ छ ।न्यायिक समितिमा जग्गा सम्बन्धी विवाद, आर्थिक लेनदेन, पारिवारिक बेमेल, घरेलु हिंसा, सामान्य कुटपिट जस्ता मुद्दा बढी आउने गरेका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताए ।
“न्यायिक समितिमा क्षेत्राधिकारभित्रका मुद्दा तथा विवाद अपेक्षाअनुसार आएका छैनन्” शाखा प्रमुख पौडेलले भने, “क्षेत्राधिकारभन्दा बाहिरका मुद्दा, विवादलाई आवश्यक सल्लाह, सुझाव तथा प्रक्रियाकाबारेमा कानूनी परामर्श दिएर सम्बन्धित निकायमा पठाउने गरेका छौं ।”
वालिङ नगरपालिकाको न्यायिक समितिमा गत वर्षको तुलनामा यसवर्ष मुद्दा तथा विवाद धेरै दर्ता भएका छन् भने मेलमिलापकर्ताको सक्रियताले पनि न्यायिक निरुपणमा महत्वपूर्ण टेवा पुगेको प्रमुख पौडेलले बताए ।
मेलमिलापकर्ताले दुबै पक्षलाई समान दृष्टिले न्यायको तराजुमा राखेर निसाफ गर्नुपर्ने सूचीकृत मेलमिलापकर्ता डण्डपानी पङ्गेनीले बताए । “हामीसँग आएका मुद्दाको निरुपणका लागि कारवाही गर्ने, सजाय दिने मनोबल गिराउने नभइ दुबै पक्षलाई आत्मसम्मान पुग्ने गरी मिलापत्र गराउँछौं” मेलमिलापकर्ता पङ्गेनीले भने, “मेलमिलापका माध्यमबाट पक्ष विपक्ष दुबैको राम्रा/नराम्रा कुरामाथि छलफल गरी दुबैलाई जीतको महशुस हुने गरी समाधानको पहल गर्छौं ।”
न्यायिक समितिमा अपेक्षा अनुसारका मुद्दा नआउने र कतिपय क्षेत्राधिकार बाहिरका मुद्दा आउने गरेकाले अब वडा/वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको न्यायिक समिति संयोजक तिवारीले बताए ।नगरपालिकामा कानूनी शाखा तथा छुट्टै इजलास निर्माण गरी न्याय सम्पादनलाई अझै व्यवस्थित तवरबाट अगाडि बढाउन पहल भइरहेको समिति संयोजक तिवारीको भनाइ थियो । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.