www.tandavnews.com
Fact ~ In search of truth

कुसुण्डा परिवारकी छोरी सीमान्तलाई स्वास्थ्य र शिक्षाका लागि आर्थिक अभाव

दमौली ।

छोरी बेला–बेलामा बिरामी पर्छिन् । छोरीको औषधि उपचारका लागि मलाई धौ–धौ परिरहेको छ । मलाई अरु केही चाहिएको छैन, छोरीको स्वास्थ्य र शिक्षाकै चिन्ता छ ।

तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया तामाङ कुसुण्डालाई आफ्नी ११ वर्षीया छोरीलाई कसरी राम्रो स्वास्थ्य र शिक्षा दिने भन्ने चिन्ता छ । लोपोन्मुख र तनहुँकै एक मात्र कुसुण्डा जातिका स्व राजामामा कुसुण्डाका श्रीमती इन्द्रमायालाई छोरी सीमान्तको स्वास्थ्य उपचार र शिक्षाका लागि समस्या परेको हो ।

Batas

सामाजिक सुरक्षा भत्ता बापत सरकारले प्रतिव्यक्ति एक हजार दिने गरेको छ । इन्द्रमायाले आफ्नो र छोरीको मासिक दुई हजार भत्ता पाउछिन् । उक्त भत्ताले घर खर्चसमेत चलाउन धौ–धौ परेको उनले बताए ।

केही समयअघि सोही वडास्थित सतिश बोर्डिङ स्कुलमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएकी उनीसँग अहिले रोजगारी छैन । विद्यालयले घरमा काम गर्न आग्रह गरेपछि उनले दुवै तिर काम गर्न नसक्ने जानकारी दिएपछि अरुलाई नै रोजगारी दिइएको छ ।

उनले भनिन्, “ रोजगारी नभएपछि घरखर्च चलाउन समस्या परिरहेको छ ।” सीमान्त बोर्डिङ स्कुलमा चार कक्षामा अध्ययन गर्छिन् । छोरीको मासिक शुल्क एक हजार ४०० छ । पहिले इन्द्रमाया सोही बोर्डिङमै कार्यरत रहेकाले छोरीको मासिक शुल्क तिर्न पुगेको थियो । उनले भनिन्, “ रोजगारी नभएपछि कसरी शुल्क तिर्ने ” कुसुण्डा भाषा बोल्न जान्ने राजामामाको गत वर्ष वैशाख ५ गते निधन भएको थियो ।

राजामामाको निधनपछि कुसुण्डा भाषासमेत लोप हुने चिन्ता बढेको इन्द्रमायाले बताइन् । ‘मलाई पनि कुसुण्डा भाषा खासै आउँदैन । राजामामासँग विवाह गरेपछि अलि–अलि मात्रै बोल्न जानेको छु । तर कोसँग बोल्ने, यो भाषा बोल्ने मान्छे अरु छैनन् ।’ आफूलाई राजामामाले नै अलिअलि बोल्न सिकाएको उनले बताइन् । सीमान्तलाई भने यो भाषा बोल्न आउँदैन ।

सोही वडाका अध्यक्ष तुलसीराम सापकोटाले सीमान्तको पढाइको जिम्मेवारी वडा कार्यालयले लिने प्रतिबद्धता जनाए । उनले आगामी आर्थिक वर्षको बजेटमै वडाबाट सीमान्तको शिक्षाको लागि बजेट छुट्याउने तयारी गरिएको जानकारी दिए । साथै इन्द्रमायाको रोजगारीको लागि आफूले नगर प्रमुखसँग छलफल गर्ने उनले बताए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी तीन कोठे घर निर्माण गरिदिएको छ । प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.