ल्हासा ।
राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा पुगेकि छिन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरे ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी भई उक्त मञ्चलाई सम्बोधन गरेकि थिइन् । सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक भई सात सम्झौतामा हस्ताक्षर भएको थियो ।

ती सम्झौतामध्ये आर्थिक तथा प्राविधिक सहयोगको सम्झौतानुसार चीन सरकारले नेपाललाई जीवनस्तर उकास्न, विपत्तिपछिको पुनःनिर्माण तथा आधारभूत संरचनाका क्षेत्रमा आपसी सहमतिका परियोजनामा लगानी गर्न एक अर्ब आरएमबी बराबरको सहयोग उपलब्ध गराउने भएको बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.