www.tandavnews.com
Fact ~ In search of truth

निर्धक्क भएर समाचार सम्प्रेशण गर्ने वातावरण बनाउन माग

पोखरा ।

नेपाल पत्रकार महासङ्घको आह्वान तथा महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै र्याली निकालिएको छ ।

पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको र्याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो । र्यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा गिरफ्तार पत्रकारको रिहाइ र प्रेस स्वतन्त्रताको रक्षा गरिनुपर्ने माग गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारलाई मात्र नभइ सबै जनताको लागि आवश्यक रहेको बताए ।

वर्तमान संविधानको प्रश्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै उनले भने, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग पत्रकारको मात्र होइन सबै जनताको हो, प्रेस स्वतन्त्र नभएसम्म जनताको अभिव्यक्ति स्वतन्त्रता पनि हुँदैन, यसमा सरकारले दायाँबायाँ गर्न पाउँदैन ।” महासचिव गणेश पौडेलले सरकारले पत्रकारलाई निर्धक्क भएर समाचार सम्प्रेशण गर्ने वातावरण बनाउन माग गरे ।

पत्रकार बराललाई टङ्कादेवी पुरस्कार

पोखराका क्रियाशील पत्रकार ऋषिराम बराललाई ‘टङ्कादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिने भएको छ । पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित तथा पोखरा–५ निवासी सुवर्णप्रसाद कोइरालाद्वारा स्थापित सो पुरस्कारको राशि  २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला छ ।

दुई दशकदेखि पोखरालाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा आवद्ध रहेका बराललाई पत्रकारितामार्फत समाज रुपान्तरणमा भूमिका खेलेकोमा सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

पत्रकार बराल हाल दि हिमालयन टाईम्स र आदर्श समाज दैनिकमा कार्यरत रहेका छन् । प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक तथा पत्रकार  रमेश पौडेल, जमुना वर्षा शर्मा सदस्य र महासङ्घका अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई महासङ्घको आजको बैठकले अनुमोदन गरी बराललाई सो पुरस्कार अपर्ण गर्ने निर्णय गरेको हो ।

यही वैशाख २४ गते ‘राष्ट्रिय पत्रकारिता दिवस’को सो पुरस्कार अर्पण गरिने महासङ्घले जनाएको छ । बरालले विसं २०५६ मा आदर्श समाज दैनिकबाट पत्रकारितामा शुरु गरेका थिए ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.