www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको साराङघाटमा पहिलो पटक बिजुली

तनहुँ ।

हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।

पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनले भने, “हालसम्म विद्युत् सेवा नपुगेको यस ठाउँमा बिजुली बाल्न सफल भएका छौँ ।” केन्द्रले एक महीना अघि मात्रै सोही वडाको ग्याजाटारमा समेत ९६ घरधुरीमा विद्युत् सेवा पुर्याएको थियो ।

Batas

गोशलीले तनहुँका १५ प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको दुई वर्षभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पुर्याउने बताए । उनले अनुसार आर्थिक अभावले मिटर जडान गर्न नसक्ने घरधुरीलाई अनुदानमा पनि मिटर जडान गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत केही दिनभित्रमा रिसिङ गाउँपालिका–३ को दुवुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, व्यास नगरपालिका–१३ को सुढे र व्यास नगरपालिका–१४ को मास्दीघाटमा विद्युत् सेवा पुर्याउन काम तीव्ररुपमा चलिरहेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमका लागि तनहुँमा ८५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

साराङघाटका स्थानीयवासी चन्द्रबहादुर गुरुङले पहिलो पटक बिजुली बल्दा गाउँलेमा उत्साह छाएको बताए । वर्षौंदेखिको बिजुली बाल्ने सपना अहिले पूरा भएको बताउँदै उनले बिजुली बलेपछि अब गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे । उनका अनुसार बिजुली बाल्नका लागि गाउँलेले पोल ढुवानी, पोल गाड्ने र झाडी बुट्यान फाँड्न जनश्रमदानसमेत गरेका थिए ।

पहिलो पटक बिजुली पुगेपछि गाउँ पुग्नुभएका गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, केन्द्र प्रमुख गोशली, सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, प्रहरी उपरीक्षक विनोद सिलवाललाई स्थानीयवासीले फूलमालाले स्वागत गर्दै खुशी साटेका थिए ।

मन्त्री चुमानले अब तनहुँका कुनै पनि घर विद्युत्विहीन नहुने बताउँदै विद्युत् नपुगेका सबै घरधुरीमा बिजुली पुर्याउन प्रदेश सरकार लागिपरेको बताए । उनले भने, “विद्युत् सेवा पुग्न नसकेको सबै घरधुरीमा बढीमा दुई वर्षभित्र घरमा बत्ती बाल्ने प्रदेश सरकारको योजना छ ।”

दुई वर्षपछि बिजुली

पोल गाडेको दुई वर्षपछि तनहुँको घिरिङ गाउँपालिका–४ मा बिजुली बलेको छ । बिजुलीको पोल र तार जडान गरेको दुई वर्षपछि गाउँपालिकाको पहलमा १५५ घरधुरीमा बिजुली बलेको हो ।

कोट साभुङमा राखिएको ट्रान्सफर्मरमार्फत् साविक भगवतीपुरको रामकोट, जितपुर, थामडाँडा, फूला, गुरुङगाउँ र सिप्लुङका घरमा विद्युत् सेवा पुगेको स्थानीयवासी सुमनकुमार श्रेष्ठले बताए । स्थानीयवासी मोहन रानाभाटले टुकीको भरमा बाँच्न बाध्य भएका यहाँका स्थानीयवासी बत्ती बाल्न पाएपछि खुशी भएको बताए ।

तत्कालीन जिल्ला विकास समितिले दुई वर्षअघि पोल र तारमात्र जडान गरेको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले विद्युत् नपुगेका ठाउँमा विद्युत् जडानको पहल भइरहेको बताए । उनका अनुसार गाउँपालिकाको वडा नं १ मा विद्युत् विस्तारको काम भइरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.