www.tandavnews.com
Fact ~ In search of truth

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : इमर्जेन्सी ल्याण्डका लागि तयार

‘२०७७ पुसमा सबै काम सकिन्छ’

पोखरा
ताण्डव न्युज ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कामले तिव्र गति लिइरहेको छ । इमर्जेन्सी ल्याण्ड गर्न मिल्नेगरी धावनमार्ग (रनवे) निर्माण भइसकेको छ । यो विमानस्थलको निर्माण तोकिएको मिति भन्दा ६ महिना अघि नै सक्ने लक्ष्य रहेको छ र आयोजनाका अनुसार काम सोही अनुसार भइरहेको छ । यो आर्थिक वर्ष असार मसान्त सम्म रनवे बाहेकका प्रगती ३५ प्रतिशत हुने अनुमान गरेको आयोजनाले आर्थिक वर्ष सकिँदा ४० प्रतिशत भन्दा धेरै काम हुने आँकलन गरिरहेको छ । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्झौता भएर काम अघि बढेको हो ।

नेपालकै नयाँ प्रयोगमा रनवे

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा रनवेको काम सम्पन्न भइसकेको छ । नेपालमा रहेका सबै विमानस्थलमा रनवे बनाउँदा पिच गर्ने गरिएपनि यो विमानस्थलमा भने ढलान गरिएको आयोजनाले जनाएको छ । २५ सय मिटर लामो दुरीको विमानस्थलमा पहिलो पटक ढलान गरिएको हो । ‘पहिलो पटक ढलान गरेर रनवे बनाइको छ । यो रनवेको ढलानको ३० वर्षे वारेन्टी छ’ विमानस्थलका प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले भने । रनवे सकेपछि अहिले विभिन्न प्रयोजनको लागि प्रयोग हुने आठ वटा भवनहरु धमाधम निर्माण भइरहेका छन् ।

Batas

आपत्कालीन ल्याण्ड गर्न सकिने

विमानस्थलको धावनमार्गले पुग्ने क्षमताका विमानहरु आपत्कालीन ल्याण्ड गर्न सकिने मुनाकर्मीले जानकारी दिए । ‘धावनमार्गले पुग्ने विमानले आपत्कालीन ल्याण्ड गर्न सक्छन्,’ उनले भने ।
लक्ष्य भन्दा धेरै प्रगती
चालु आर्थिक वर्षको असार मसान्तसम्म ३५ प्रतिशत काम सक्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको अहिलेको गतिले ४० प्रतिशत पुग्नेमा आयोजना कम्पनी ढुक्क छ । यो प्रगती रनवे निर्माण बाहेकको हो । ‘हामीले जहिले नी काम गर्दा यति समयमा यति काम सक्ने भनेर लक्ष्य राखेर गरेका छौँ,’ उनले भने, ‘हामीले यो आगामी असार मसान्तसम्म ३५ प्रतिशत काम हुन्छ भन्ने अनुमान थियो । तर, हामीले तीन महिना अघि नै ३५ प्रतिशत लक्ष्य पुरा ग¥यौँ ।’ २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तराष्ट्रिय नागरिक उड्ययन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ ।

२०७७ पुसमा सबै काम सकिन्छ

आयोजनाले विमानस्थल निर्माणको सम्पूर्ण काम २०७७ सालको पुससम्ममा सक्ने लक्ष्य राखेको छ । नेपाली र चिनीयाँ गरेर झण्डै पाँचसय हाराहारी कामदारले विमानस्थलको विभिन्न निर्माणको काम गरिरहेका छन् । रनवेको काम सकिसकेको निर्माण कम्पनीले ट्याक्सी पार्कीङमा पनि दोस्रो चरणको काम सकिकेको छ । २०१७ को नोभेम्बरमा निर्माण सुरु भएको विमानस्थलमा टर्मिनल भवन धमाधम बनिरहेको छ । सम्झौता भने २०२१ को जुलाइ १० सम्म छ । विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार वर्गको हुनेछ । टर्मिनल भवनको शिलान्यास स्व.पर्यटन मन्त्री रबिन्द्र अधिकारीले गत भदौमा गरेका थिए ।

उक्त टर्मिनल स्वदेशी र विदेशी उडानको लागि छुट्याइएको छ । आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुनेछ । पोखरा विमानस्थलमा ल्याण्ड गर्ने विमानहरु अहिले विश्वमा धेरै उडान भरिरहेका मझौला खालका १८० सिट क्षमताका विमानहरुले उडान भर्नेछन । मुनाकर्मीका अनुसार २०१९ मा ६० प्रतिशत र २०२० भित्र ४० प्रतिशत काम सक्ने आयोजनाको लक्ष्य छ । वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । २०२१ को जुलाइमा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य आयोजनाको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.