www.tandavnews.com
Fact ~ In search of truth

हुरी र असिनापानीले भत्कायो पर्वतका दुई विद्यालय

पर्वत ।

हुरीबतास र असिनापानीका कारण पर्वतका दुई विद्यालय पूर्णरूपमा भत्किएका छन् ।

बुधवार दिउँसो आएको ठूलो हुरीबतासका कारण पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित जनज्योति प्राविको चारकोठे भवनको पुरै छाना उडाउनुका साथै विद्यायको भवनमा समेतमा क्षति पुगेको छ ।

Batas

विद्यालयको छाना उडाएपछि विद्यार्थीको पढाई समेत प्रभावित हुने भएको छ । बुधवार अन्तर्राष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेकाले मानवीय क्षति हुन नपाएको प्रधानाध्यापक नरबहादुर जिटीले जानकारी दिए । उनका अनुसार विद्यालय तत्काल मर्मत गर्न नसकेमा पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको छ । कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा झण्डै १०० विद्यार्थी छन् ।

विद्यालयका दुईवटै भवनको छाना उडाएको र पर्खालमा समेत क्षति पुगेको छ । स्थानीयवासीका अनुसार अहिलेसम्मकै ठूलो हुरी चलेको हो । भवन पुनःनिर्माण नै गर्नुपर्ने गरी भत्किएकाले तत्कालका लागि त्रिपाल टाँगेर पढाइ सञ्चालन गर्ने तयारी भएको प्रध्यानाध्यापक जिटीले बताए ।

त्यस्तै कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित औँसेलुचौरमा रहेको प्रगति प्राविको भवनसमेत पूर्णरूपमा भत्किएको छ । विद्यालयको चारकोठे भवन पूर्णरूपमा क्षति पुगेको स्थानीयवासी नवराज क्षेत्रीले जानकारी दिए । उनका अनुसार विद्यालय मर्मत गरेर नियमित पठनपाठन सञ्चालन गर्न केही दिन लाग्ने भएकाले बन्द गर्नुपरेको बताए । संयोगले हिजो बिदाको दिन परेकाले ठूलो क्षति हुन नपाएको हो ।

हावाहुरी र असिनाले जिल्लाको पिपललटारी, कटुवाचौपारी, शङ्करपोखरी, धाइरिङ, पाङ, दुर्लुङलगायतका क्षेत्रका बालीनाली र कच्ची घर तथा सार्वजनिक भवनमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।त्यस्तै जिल्लाको जलजला गाउँपालिकाको शालिजा, धाइरिङ, बनौ, कुश्मा नगरपालिकाको पिपलटारी, ठुलीपोखरी, खौलालाकुरी र मोदी गाउँपालिकाको देउपुर, महाशिलाको लुङ्खुदेरालीलगायतका क्षेत्रमा बाक्लो असिना परेको छ । आधा घण्टाभन्दा बढी समय परेको असिनाले बालीनालीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

कार्यालय प्रमुख बासु रेग्मीका अनुसार प्लाष्टिकका टनेल र बेमौसमी तरकारीमा ठूलो क्षति पुगेको भए पनि यकिन विवरण भने आइसकेको छैन । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.