www.tandavnews.com
Fact ~ In search of truth

गोरखा आरुबोटेका ३१ परिवारद्धारा सामुदायिक होमस्टे

गोरखा।
गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिए

स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रर्वद्धन गर्दै त्यहाँका कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसारका लागि होमस्टे सञ्चालनमा ल्याइएको उनले बताए । गुरुङ जातिको बाहुल्यता रहेको आरुबोटेमा शुरु गरिएको उक्त होमस्टेमा बास बस्न पुग्ने पाहुनाहरुले गुरुङ समुदायको कौडा, रोधीलगायत कलासंस्कृतिसँग समेत रम्न र रमाउन पाउने अध्यक्ष गुरुङको भनाइ छ ।

“सिरानचोक गाउँपालिकामै पहिलो पटक होमस्टे शुरु भएको हो”, उनले भने, “यहाँका समुदायको आर्थिक आयआर्जनका वृद्धिका लागि पनि यसले सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।” ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि होमस्टेले महत्वपूर्ण टेवा पुर्याउने अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाभित्रै पहिलो पटक होमस्टे सञ्चालनमा आएकाले यसको प्रचारप्रसारलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

Batas

“सिरानचोक गाउँपालिकाभित्र रहेका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको प्रचार–प्रसार गर्न र यहाँ आउने पर्यटकहरुलाई खानाबस्नको सेवासुविधा पुर्याउने उद्देश्यले होमस्टे सञ्चालनमा गरिएको हो,” उनले भने, “यहाँ आउने पर्यटकहरुले इमल पोखरी, क्षण गुफा, ऐतिहासिक सिरानचोक गढी दरबारको समेत अवलोकन गर्न पाउनेछन् ।”

त्यस्तै होमस्टेमा पुग्ने पाहुनाहरुले माउन्टेन किलरका रुपमा चिनिने मनासलु हिमाललगायत गणेश हिमाल, बौद्ध हिमालको दृश्यावलोकन गर्नसमेत पाउने अध्यक्ष गुरुङको भनाइ छ । होमस्टे सञ्चालनका लागि स्थानीयवासीले आफ्नै पहलमा ५० लाखभन्दा बढीको लागतमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नका लागि सामुदायिक भवनसमेत निर्माण गरेका छन् ।

होमस्टेमा आउने पाहुनालाई स्वागत गर्नका लागि अहिले प्रवेशद्वार निर्माण गर्ने तयारी भए पनि आर्थिक अभावका कारण समस्या हुँदै आएको उनले बताए । “अझै भौतिक पूर्वाधार निर्माणको काम धेरै नै बाँकी छ,” अध्यक्ष गुरुङले भने, “सामुदायिक भवनको कम्पाउण्डवालदेखि प्रवेशद्वारसम्म निर्माण गरी हाल्नु पर्नेछ, तर स्रोत जुटाउन नसक्दा अप्ठ्यारो परेको छ ।”

क्होला होमस्टेमा आउने पर्यटकहरुले स्थानीय उत्पादन हुने कोदो ढिँडो, लोकल कुखुराको मासु, सिस्नो, भटमास, टिमुरको अचारलगायत परिकारको स्वाद चाख्न पाउनेछन् । होमस्टेमा बस्न आउने पर्यटकहरुले एक दिनको ९ सय तिनुपर्ने व्यवस्था गरिएको उनले बताए । “पहिलो रात खान, बस्न र बिहानको नास्ताका लागि ९ सय रुपैयाँ तिर्नुपर्छ त्यसपछि थप दोस्रो रात बस्न चाहने एक जनाको ८ सय र थप अन्य दिन बस्न चाहेमा ७ सयमा खानबस्न पाइने व्यवस्था गरिएको छ”, उनले भने ।

अध्यक्ष गुरुङले होमस्टेमा अहिले केही समयका लागि थोरै मात्र पर्यटक राख्न सक्ने भए पनि आउँदो असोज–कात्तिक महीनादेखि दैनिक दुई जनासम्म पाहुनालाई राख्न सक्ने गरी पूर्वाधार विकासको कामसमेत अघि बढाइएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.