माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।
प्रश्नपत्र आउट, डाटा चोरी लगायत संवेदनशील कुरामा पोखरा विश्वविद्यालय विवादमा तानिइरहेको हुन्छ । संवेदनशील विषयमा आरोपमात्रै पनि लाग्नुले विश्वविद्यालयको विश्वसनियतामाथि नै प्रश्न चिह्न खडा हुन्छ ।

यही विश्वविद्यालय अहिले ‘डि प्लस’ काण्डमा तातिरहेको छ । सर्वोच्चले ‘डि प्लस’का विद्यार्थीको रजिष्ट्रेसन र परीक्षाका लागि आदेश नै दिएपनि उक्त कार्य गलत नियतले गरिएको विद्यार्थीहरु बताउँछन् ।
कसरी सुरु भयो ‘डि प्लस’ विवाद ?
सर्वोच्च अदालतले ‘डि प्लस’ ग्रेड प्राप्त विद्यार्थीलाई रजिस्ट्रेसन लिई परीक्षामा सहभागी गराउन पोखरा विश्वविद्यालयलाई आदेश दियो । यस आदेशले विभिन्न कलेजले भर्ना लिएका ‘डि प्लस’ का ३ सय ४४ विद्यार्थी परीक्षाबाट बन्चित नहुने भए ।
यही आदेशलाई लिएर आन्दोलन सुरु भयो । मापदण्ड विपरीत, कलेजले लिएको डि प्लस भर्नाविरुद्ध कारबाही गर्नुको साटो प्रश्रय गरिएको भन्दै आन्दोलनले चर्को रुप लियो । अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघलगायत विद्यार्थी संगठन आन्दोलनमा उत्रिए ।
आन्दोलनरत विद्यार्थी र प्रहरीबीच वैशाख १५ गते आइतबार झडपसमेत भयो । झडपमा १ विद्यार्थी घाइते भए । आन्दोलनरत विद्यार्थीले परीक्षामा अवरोध सिर्जना गर्ने देखेपछि विश्वविद्यालयले वैशाख १६ गते सोमबार बिहानैदेखि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गर्याे ।
ठूलो मात्रामा सुरक्षाकर्मी खटाएर परीक्षा सञ्चालन गरिनु गलत ठहर्दै विद्यार्थीले परीक्षा केन्द्र अगाडि नै नाराबाजी सुरु गरे । आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले ११ विद्यार्थीलाई पक्राउ गरेर परीक्षा सुरु गरायो ।
प्राइभेट कलेजसँग ‘सेक्रेट डिल’ !
विश्वविद्यालयमा ‘डि प्लस’ विवाद चुलिएपछि हामीले केही स्रोतसँग यसबारे बुझ्ने कोशिस गर्यो । विभिन्न श्रोतले ताण्डव न्यूजसँग खुलाएका रहस्यहरु उनीहरुकै शब्दमा :
पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर देशमा थुप्रै कलेजहरु सञ्चालनमा छन् । ती कलेजहरुले ‘डि प्लस’ ल्याएका विद्यार्थी भर्नाका लागि विश्वविद्यालयका केही व्यक्तिसँग सम्पर्क गरे । केही व्यक्ति भनेको ३ जना हुन् । भिसी, रजिष्टार र एक्जाम कन्ट्रोलर ।
अहिले जति पनि कलेजले ‘डि प्लस’ भर्ना लिएका छन्, उनीहरु सबैसँग यी ३ जनाको राम्रो सेटिङ छ । यिनीहरुबिच राम्रै पैसाको डिल भएको हुनुपर्छ ।
सरल हिसाब गरौँ न ।
काठमाडौंको एउटा कलेजमा यही विषयका लागि ६ वटासम्म सेक्सन छ । एउटा सेक्सनमा लगभग ४० विद्यार्थी होलान् । भनेको, २ सय ४० विद्यार्थी । एउटा विद्यार्थी भर्ना गर्दा करिब १ लाख रुपैयाँको हाराहारीमा जान्छ । टोटल गर्दा २ करोड ४० लाख भयो ।
भर्ना गर्दा मात्रै एउटा कलेजबाट करोडौँ आउँछ भने, विचार गर्नुस् देशभरका विद्यार्थीबाट चार वर्षमा कति रकम उठ्ला ?
अरु केही होइन, भिसी रजिष्टार र एक्जाम कन्ट्रोलरकै मिलेमतो हो । सुरुमा भर्ना गर्नुस् हामी मिलाउँछांै भने होलान् । पछि विद्यार्थीले आन्दोलन सुरु गरे । उनीहरु सर्वोच्चमा गएर रजिष्ट्रेसन र परीक्षाका लागि बाटो खुलाइदिए ।
कतिपय कलेजमा त विद्यार्थीसँग के पनि सहमति भएको पाइयो भने, ‘डि प्लस’मा भर्ना लिँदा सहमति गर्ने । सहमति पनि अभिभावक विद्यार्थी र कलेजबीच । ‘डि प्लस’ले स्वीकृति पायो भने ठिकै छ, पाएन भने पनि अभिभावकले गुनासो गर्न नपाउने गरी सहमति गरिएको पनि थाह पाइयो । र, फि को कुरामा ‘डि प्लस’ले स्वीकृति पाएपछि मात्रै सम्पूर्ण फि तिर्ने । अब यसरी सहमति हुनुलाई चलखेल छैन भनेर कसरी भन्नु ।
त्यति मात्रै होइन, केही विद्यार्थी नेताहरुसँग पनि विश्वविद्यालयका केही पदाधिकारीले डिल गरिरहेका हुन्छन् । यस्तै आन्दोलन चर्किने इस्यु आयो कि, नेताहरुलाई गोप्य रुपमा बोलाउने र सहमति गर्ने । विशेषतः पैसाकै चलखेल हुन्छ यहाँ । थाह पाए अनुसार कसैले ५० हजार, कसैले त्योभन्दा बढी बाँडीरहेकै हुन्छन् ।
यहाँबाट केस मिलेन भने, केन्द्रकासँग डिल हुँदो रै‘छ । अनि केन्द्रका नेताहरुको फोन आउँछ, आन्दोलन सुस्ताउँछ । केस यसै डिसमिस । विद्यार्थीको हकहितमा लाग्छु भनेर बाहिर देखिनेहरु पनि गोप्य सहमतिपछि विस्तारै सुस्ताउँछन् ।
यहाँ विश्वविद्यालय चलाउने कांग्रेस, माओवादी र एमाले निकट छन् । विश्वविद्यालयका रजिष्टार गोविन्द शर्मा कांग्रेस निकटका हुन्, भिसी चिरञ्जीवि वाग्ले एमाले र भरतराम ढुंगाना प्रचण्ड निकटका व्यक्ति हुन् । यी ३ जनाले विश्वविद्यालयको शाख घटाउने कार्य गरिरहेका छन् । यता मिलेन भने उता सोर्सफोर्स लगाउने, उता मिलेन भने यता सोर्सफोर्स लगाउने ।
अर्को कुरा, विश्वविद्यालयमा केही समय पहिले सफ्ट्वेयर ह्याकको विषय आयो । त्यो केस पनि त्यतिकै सेलाएको छ । संलग्न कर्मचारीलाई कारबाही गरेजस्तो गरियो । एउटा विश्वविद्यालयको सफ्ट्वेयरमाथि नै आक्रमण हुनुले यसको विश्वसनियतामाथि नै प्रश्न उठाउँछ ।
एक पटक रिजल्ट प्रकाशन गर्दा पनि त्यस्तै भयो । रिजल्ट चित्त बुझ्दो नभएको भन्दै विद्यार्थीले आन्दोलन गरे । विश्वविद्यालयले रि चेक गर्यो । रि चेकपछिको रिजल्टमा सबै विद्यार्थी पास भए । यस्तो पनि हुन्छ । यो विश्वविद्यालयको गम्भिर गल्ती हो कि होइन ?
परिक्षार्थीलाई तनाव
पोखरा विश्वविद्यालयमा ताला लगाइनु, बन्द गरिनु, विभिन्न माग राख्दै आन्दोलन भइरहनु नौलो कुरा रहेन । तोडफोड र कुर्सी जलाउनुलाई समान्यनै लिइरहँदा उपकुलपति विद्यार्थीद्वारा कालो मोसोले दलिए ।
बेलाबेला विवादमा आइरहने यस विश्वविद्यालय पछिल्लो समय विद्यार्थी भर्नाको विषयलाई लिएर विवादमा आयो । परिक्षा सुरु हुनै लाग्दा विभिन्न विद्यार्थी संगठनको आन्दोलन सुरु भएपछि परीक्षार्थी तनावमा भए । परीक्षाको तयारी गरिरहेका विद्यार्थीले ३ पटकसम्म परीक्षा सारिएको सूचना सुन्नु पर्यो ।
..
विश्वविद्यालय अन्तर्गतकै एक कलेजमा इञ्जिनियरिङ अध्ययन गरिरहेका विष्णु तिमिल्सिना परीक्षाको तयारी गर्दै थिए । ०७५ फागुन ३० गते परीक्षा हुनेभएपछि उनी सोही अनुसार लागिपरेका थिए । अध्ययन गरिरहेकै बेला एउटा साथीले विष्णुलाई फोन गर्यो ।
‘ओई, परिक्षा त सरेछ नि यार’ साथीले सुनायो । सुन्ने बित्तिकै उनको जाँगर घट्यो । ‘परीक्षा सर्यो भन्ने वित्तिकै दिमाग तात्यो । मिहेनत गरेर तयारी गरिएको हुन्छ । यसरी परीक्षा सरेपछि त झ्याउ भइहाल्यो नि । एक खालको मानसिक तनाव नै हो’ विष्णुले भने ।
…
फागुनमा स्थगित भएको परीक्षा चैत्र १५ का लागि तोकिएपछि लक्ष्मण भुसाल तम्तयार अवस्थामा थिए । उनी पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक कलेजमा अध्ययनरत छन् । मिति सरिसकेको परीक्षा अब त सञ्चालन हुन्छ भनेर ढुक्क बसेका लक्ष्मणलाई पुनः मिति वैशाख ६ का लागि परीक्षा सरेको समाचारले झस्कायो ।
‘परीक्षा सरेको स¥यै गर्दा विद्यार्थीमा कति मानसिक तनाव हुन्छ ? विश्वविद्यालयले यो कुरा ध्यानमा राख्नु पर्दैन ? विद्यार्थी नेताहरु पनि उस्तै । सबैको आआफ्नो स्वार्थ मात्रै छ । तनाव हामी परीक्षार्थीलाई’ उनले गुनासो पोखे ।
…
यीमात्र होइनन् अधिकांश विद्यार्थीलाई मिति सरेपछि परिक्षाका लागि ‘मेन्टल्ली रेडी’ हुन मुस्किल प¥यो ।
‘केही समय हामी परीक्षा दिनेहरु मेन्टल्ली रेडी हुनै सकेनौँ । १६ वैशाखका लागि त स¥यो, तर हुने हो कि नहुने भन्ने थियो । फेरि पनि सर्ने त होला भन्ने हुन्छ नि’ विश्वविद्यालयका विद्यार्थी अञ्जान मगरले सुनाए । पटक–पटक मिति सारिदा विद्यार्थीलाई असर पुग्ने उनको ठम्याइ छ ।
प्रश्नपत्र आउट ! भिडियो फुटेज सहितको उजुरी
वैशाख १६ गते परीक्षा सुरु गर्ने तयारी गर्दैगर्दा पोखरा विश्वविद्यालयमा खिचिएको एउटा भिडियो बाहिरियो । उक्त भिडियोमा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट ३ जना व्यक्ति बाहिर आउँदै गरेको देखिन्छ ।
विद्यार्थीहरु बाहिर ढोका कुरेर बसेका हुन्छन् । एउटाले सोध्छ, ‘तपाईं ह्याँको कर्मचारी हो ?’ झोला भिरेको एउटा व्यक्तिले उत्तर दिन्छ, ‘काठमाडौंबाट आएको हो ।’
विश्वविद्यालयका विद्यार्थीले परीक्षा नियन्त्रक कार्यालयमा असम्बन्धित व्यक्ति घुसेर शंका पैदा गरेको आरोप लगाएका छन् । सीमित र सम्बन्धित व्यक्तिमात्रै जाने स्थानमा कसरी बाहिरको मान्छे पुग्यो ? विद्यार्थीको प्रश्न छ ।
गोप्य शाखामा कागजात, प्रश्नपत्र र सम्पूर्ण रजिस्ट्रेसन राखिन्छ । परीक्षा नियन्त्रक कार्यालयमा असम्बन्धित मान्छे पसेर शंका उत्पन्न गराएको र त्यसबारे छानबिन हुनुपर्ने माग राख्दै विभिन्न विद्यार्थी संगठनले गत आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रसमेत बुझाए । नेपाल विद्यार्थी संघ कास्की, अनेरास्ववियु कास्की, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थी फोरम पोविविले संयुक्त रुपमा बुझाएका हुन् ।
गतवर्ष भदौ ७ गते पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा डाटा चोरी भएको थियो । उक्त चोरीमा कार्यालयकै कर्मचारीको संलग्नता पाइएको थियो ।
लफडै लफडा…
त्यसो त पोखरा विश्वविद्यालय ‘लफडाकै अखडा’ जस्तो भएको छ । विद्यार्थी मात्रै होइन, करिब ६ वर्षअघि यहाँका कर्मचारीहरुले १९ दिनसम्म आन्दोलन गरेका थिए ।
कर्मचारीहरुले बिना विज्ञापन अपारदर्शी र अवैधानिक ढंगले गरेको कर्मचारी नियुक्ति गरेको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयमा ताला लगाएका थिए ।
सोही आन्दोलन जारी रहँदा विश्वविद्यालयको सवारी साधनमा आगजनीसमेत भएको थियो ।
..
०७३ असारमा पुनः परीक्षामा लिईने शुल्क मिनाहा गर्न माग गर्दै विद्यार्थीले आन्दोलन चर्काए । त्यसबेला प्रहरीले लाठिचार्जसमेत गरेका थियो ।
विद्यार्थी आन्दोलित भएपछि पोखरा विश्वविद्यालयले बिबिए दोस्रो सेमेष्टर र बिबिएडिआई दोस्रो सेमेष्टरको परीक्षा स्थगित गरेको थियो ।
उपकुलपतिलाई कालो मोसो
डि प्लसकै भर्ना विवादलाई लिएर विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि विद्याथीले कालो मोसोसमेत दल्न भ्याए । काठमाडौंको चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको एउटा समूहले उनीमाथि गत मंगलबार दिउँसो मोसो दले ।
परिवारका सदस्यहरुसहित आफ्नो सवारीमा रहेका शर्मालाई विद्यार्थीहरुको समूहले मोसो दलेको थियो ।
उपकुलपति शर्मा १५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालय पुगेका थिएनन् । आन्दोलन चर्काउँदै जाँदा पनि माग सम्बोधन गर्न चासो नदिई प्रहरी लगाएर दमन गरेको भन्दै विद्यार्थीहरु शर्मासँग आक्रोशित भएको जनाइएको छ ।
यस घटनाको सर्वत्र विरोधसमेत भयो । विद्यार्थीबाट यस्तो हर्कत हुनु गलत भएको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आएका थिए ।
रजिस्टार भन्छन् : विद्यार्थीले आन्दोलन गरे भनेर, सर्वोच्चको आदेश नमान्न त भएन नि
पोखरा विश्वविद्यालयका रजिष्टार गोविन्द शर्माले लगाइएको सबै आरोप झुटो भएको बताए । सर्वोच्चको आदेशपछि पनि विद्यार्थीले आन्दोलन जारी राख्नुको अर्थ नरहने उनको भनाइ थियो ।
‘अब अदालतले स्टे अर्डर जारी गरिसकेको छ । विद्यार्थीले आन्दोन गरे भनेर, सर्वोच्चको आदेश नमान्न त भएन नि,’उनले भने ‘हामीले विश्वविद्यालयको विधिविधानमा रहेर कारबाही पनि गरेकै छौँ ।’
‘रजिस्टार, भिसी र एक्जाम कन्ट्रोलर मिलेर यो सब गरिएको हो भन्ने आरोप छ नि ?’ भन्ने प्रश्नमा शर्माले भने ‘अब कागले कान लग्यो भनेर कागकै पछाडि दगुर्न त भएन नि । यो सब झुटो हो । सर्वोच्चले आदेश दिइसक्यो, त्यही अनुसार हामी अघि बढ्नुपर्छ ।’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.