www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसलाई तानाशाही व्यवस्था मान्य छैन : सभापति देउवा

काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काँग्रेसलाई मान्य नहुने बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उनले राणा शासन र राजा फालेका काँग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताएका हुन् ।

सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख निरिह बनेर बसेको आरोप लगाउँदै संसद् विपक्षको हो, सरकार सत्तापक्षको हो, संसद्मा विपक्षले बोल्न पाउनुपर्छ भने । सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख हुनु संविधानको मर्म र भावनाविपरीत भएको बताउँदै उनले जागरण अभियानमार्फत् सरकारको गलत गतिविधिबारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिए ।

“गिरिजाबाबु र सुशील कोइराला पार्टी सभापति हुँदा केन्द्रीय सदस्य तलबाट लड्न नपर्ने व्यवस्था गरेका हुन्”, उनले भने । स्थानीय तहबाट केन्द्रीय सदस्य प्रतिनिधि भएर आउने व्यवस्थाबारे पार्टीभित्र छलफल गर्ने सभापति देउवाले बताए ।

काँग्रेस नेता प्रकाशमान सिंहले जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनतालाई अधिकार सम्पन्न बनाउन काँग्रेसले खेलेको भूमिका आम जनतामाझ चिनाउन उक्त अभियानले सहयोगीको भूमिका निर्वाह गर्छ भने।

जनताको दुःखमा साथ दिने पार्टी काँग्रेस भएको उल्लेख गर्दै उनले जनताको अधिकार सुरक्षित गर्न जागरण अभियान सञ्चालन गरिएको बताए ।नेता सिंहले काँग्रेसको विचारसँग मेल खाने व्यक्तिलाई समेट्नुसमेत जागरण अभियानको मुख्य उद्देश्य रहेको बताउँदै पार्टीलाई विधिसम्वत ढङ्गले अनुशासित रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

जागरण अभियान काठमाडौँका केन्द्रीय प्रतिनिधि एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जागरण अभियानले पार्टीलाई नयाँ शैलीले अगाडि बढाउन खोजेको बताए । “काँग्रेसलाई सवल, सशक्त र जनतालाई बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको हो”, उनले भने ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले जनताको प्रश्न संसद्मा राख्न खोज्दा सरकारको प्रधानमन्त्रीले गैरसंसदीय भाषाको प्रयोग गरेको आरोप लगाए ।काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जागरण अभियानले पार्टीलाई जगाउने काम गरेको बताउँदै “काँग्रेस नजागेसम्म भ्रष्टाचारमुक्त मुलुक बन्न सक्दैन भने ।”

आजदेखि शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म देशभर चल्नेछ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर चल्ने काँग्रेसले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.