www.tandavnews.com
Fact ~ In search of truth

बिकेन तनहुँका कैदीबन्दीका मुढा

तनहुँ ।

बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन ।

विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दी उत्पादन गरिएका मुढा बिक्री नभएपछि चिन्तित भएका छन् । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि आफूले बनाएको मुढा बिक्री नभएको बताए । उनका अनुसार कारागारबाट २सय ५० देखि ३ सय ७५ रुपैयाँसम्मका मुढा बिक्री हुँदै आएको र अहिलेसम्म ती मुढामा गुनासो आएको छैन ।

Batas

पाँच सयभन्दा बढी मुढा बिक्री नभएपछि कैदीबन्दीले मुढा बनाउनसमेत छाडेका जानकारी दिँदै बन्दी घिमिरेले भने, “मेरो मात्रै ३०० भन्दा बढी मुढा बिक्री भएको छैन । अरु साथीको पनि बिक्री नहुँदा अहिले काम नै बन्द गर्नुपरेको छ ।” कारागारमा बित्ने समयको सदुपयोग र आम्दानीको बाटोको रुपमा रहेको मुढा बिक्री नहुँदा आफूहरूलाई चिन्तित बनाएको आर्का कैदीबन्दी विनोद गन्दर्भले बताए ।

उनका अनुसार एउटा मुढा बिक्री गर्दा ५० जति फाइदा हुने र एउटा मुढा तयार गर्नका लागि दुई÷तीन लाग्ने भएकाले श्रम अनुसारको प्रतिफल नपाइए पनि फुर्सदको समयमा गरेको कामबाट मासिक चार÷पाँच हजार भने कमाइ हुँदै आएको थियो ।”

कारागारमा रहेका कैदीबन्दीमध्ये ७० ले मुढा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्दै आएका छन् । टायर राखेको १०, मुढा उठाएको १५, बिट मारेको र बुट्टा भरेको ३०÷३० का दरले कैदीबन्दीले पाउने गर्दछन् । यसरी काम गर्दा एक जनाले मासिक पाँचदेखि छ हजारसम्म कमाई गर्ने गरेका छन् ।

कारागारका निमित्त प्रमुख नारायण अधिकारीले मुढा बिक्री नभएपछि कैदीबन्दीले आफूलाई समेत गुनासो गरेको र मुढा बिक्रीका लागि आफूले प्रयास भइरहेको जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.