www.tandavnews.com
Fact ~ In search of truth

हावाले विद्यालयको छानो उडाउँदा आकाशमुनि पढाई

गलकोट।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महीना दिनदेखि पठनपाठन प्रभावित भएको छ ।

यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ । पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा खुला आकाशमुनि पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामु विकले बताए ।

“विद्यालयको छाना उडाएको महीना दिन बित्न लाग्यो, सम्बन्धित निकायलाई जानकारी गराएका छौँ”, प्रधानाध्यापक विकले भने, “हालसम्म नगरपालिका, जिल्ला समन्वय समिति तथा शिक्षा एकाइ कतैबाट सहयोग भएको छैन ।”

Batas

विद्यालयको दुईकोठे छानो उडाउँदा भवनको गारोसमेत चिरा परेकाले जरैबाट भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको विकले बताए । उनले छाना छाउने नगरपालिकाले आश्वासन दिएपनि हालसम्म कुनै सहयोग नआउँदा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको हो ।

नगरस्तरीय विपत् व्यवस्थापन समितिले विद्यालयको स्थलगत अनुगमन गरिसकेको र क्षतिको विवरण प्राप्त हुँदासाथ विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

हावाहुरीले २ र ३ कक्षाका विद्यार्थी अध्ययन गर्ने कक्षाकोठाको छानो उडाएको हो । विद्यालयमा अन्य भवन नभएका कारण खुला आकाशमुनि, बाल विकास भवनको बार्दली र कहिले दुई कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षिका दीक्षा शर्माले बताए ।

हावाहुरीले उडाएको कक्षाकोठासँगैको एककोठे भवनसमेत भूकम्पले चिरा पारेका कारण जोखिम मोलेर अध्ययन÷अध्यापन गराउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । बाल विकास देखि ५ कक्षासम्म अध्यापन हुने विद्यालयमा जम्मा ४३ विद्यार्थी छन् । विद्यालयमा अधिकांश दलित विद्यार्थी छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.