www.tandavnews.com
Fact ~ In search of truth

विश्वको चौथो अग्लो शिखर ल्होत्सेमा आरोहण शुरु

काठमाडौं ।

वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा छन् भने अन्य सात जनामा एक नेपालीसहित चीन, पाकिस्तान र ग्रिसका दुई÷दुई आरोही छन् । विश्वको चौथो अग्ला शिखरमध्ये ल्होत्से चौथो स्थानमा पर्छ । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ अग्ला हिमालमध्ये नेपालमा आठ वटा हिमाल रहेका छन् । ल्होत्सो आरोहणका लागि १० आरोही समूहका ९२ आरोही गएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

Batas

यसैगरी पाँचौँ अग्लो मकालु (८,४६३ मि) हिमालको पनि आज सफल आरोहण भएको छ । सेभने समिट ट्रेकबाट गएका पाँच शेर्पा मकालुको सफल आरोहण गरेका हुन् । कम्पनीका अध्यक्ष मिङमा शेर्पाले दिएको जानकारीअनुसार शेर्पा आरोही मकालु आरोहणका लागि डोरी टाँग्न चुचुरोमा गएका थिए । केही दिनअघि अन्नपूर्ण हिमालको आरोहण भएको थियो तर, कति आरोही चुचुरोमा गए भन्ने यकिन जानकारी प्राप्त भएको छैन । अन्नपूर्णको आरोहणसँगै यो यामको हिमाल आरोहण शुरु भएको थियो ।

संसारकै आकर्षण सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै शेर्पा समूह चुचुरो नजिक पुगेका छन् । यो यामको सगरमाथा आरोहणका लागि एक्सिपिडिसन अपरेटर्स एशोसिएशनबाट गएका आठ शेर्पा डोरी टाँग्न सगरमाथाको चुचुरो नजिक पुगेका हुन् । सगरमाथाको बाटो पहिल्याउँदै गएका आठ शेर्पाको टोली दुई दिनदेखि सगरमाथाको साउथ कोल (८००० मि. उचाइ) मा छन् । मौसमले साथ दिए आजै सगरमाथाको चुचुरो (८,८४८ मिटर) मा पुगेर डोरी टाँग्ने सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

“शेर्पा समूह हिजो साउथ कोल पुगेर समिटको प्रयासमा थिए । मौसमले साथ दिए आज चुचुरोमा पुगेर डोरी टाँग्ने सम्भावना छ, आज साँझसम्म परिणाम आउँला”, श्रेष्ठले भने । शेर्पाले टोरी टाँगेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको ढोका खुल्नेछ । अहिले सबै आरोही सगरमाथाको आधार शिविरमा रहेका छन् । सामान्यतया मे महीनाको १२ देखि १८ तारिखसम्म दोस्रो शिविरदेखि चुचुरोमा डोरी टाँगिन्छ । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् ।

पर्यटन विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यो याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यो याममा हिमाल आरोहणबाट करीब ५० करोड रोयल्टी जम्मा भएको छ । यसमा सबैभन्दा धेरै ४३ करोड ८९ लाख २७ हजार रहेको छ ।

यसअघि सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) को आठको शेर्पा समूहले क्याम्प–२ सम्म बाटो बनाइसकेको थियो । सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ । सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प–१ र क्याम्प–२ पुग्नु जोखिम मानिने गरेको आरोही बताउँछन् ।

आइसफल डाक्टरका अनुसार विगतमा भन्दा यस पटक सगरमाथा आरोहणका लागि बाटो राम्रो भएको छ । अनुकूल मौसमले आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको एसपिसिसीका अध्यक्ष शेर्पाले उल्लेख गरे ।

सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ । त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ । आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ । सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए । जसमा ३४ विदेशी र चार नेपाली समूह थिए ।

सन् २०१७ मा ३८ आरोही समूहका ३७२ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.