www.tandavnews.com
Fact ~ In search of truth

पानी पिउन कुवा चहानुपर्ने लमजुङेलीको बाध्यता 

लमजुङ। 

बेंसीशहर नगरपालिकामा खानेपानी अभावले उपभोक्ता पीडित भएका छन् । खानेपानीको मुहान सुक्दै गएकाले बेंसीशहरमा दुई महीनाअघिदेखि खानेपानीको अभाव हुँदै आएको हो ।

खानेपानीको अभावले यहाँका होटल, व्यवसाय, बालगृह, मानवसेवा आश्रम र विभिन्न अस्पतालदेखि स्थानीयवासीसमेत समस्यामा परेका छन् । बेंसीशहरका बासिन्दाले पनि पर्याप्त धाराको पानी उपभोग गर्न पाएका छैनन् । खानेपानीका लागि ४० मिनेटसम्म खर्चेर कुवा जानुपर्ने बाध्यता भएको स्थानीयवासी कृष्णबहादुर भण्डारीले बताए ।

Batas

उनले भने, “नुहाउन तथा कपडा धुनलाई त पानी नै छैन, टाढाबाट पानी बोकेर ल्याउन गाह्रो हुन्छ ।” घरमा जडान गरिएको पाइपको पानी नआउँदा कपडा धुन, नुहाउन र  दैनिक प्रयोगका लागि पानीको समस्या भइरहेको विद्यार्थी सिर्जना श्रेष्ठले गुनासो गरे ।

बेंसीशहरभित्रका सरकारी तथा निजी विद्यालयका विद्यार्थीसमेत पानी पिउनका लागि नजिकैको कुवा चाहर्ने गरेका छन् । जिल्लामा सञ्चालित मानव सेवा आश्रममा खानेपानी कहिले आउने कहिले नआउने गर्दा पानीको समस्याले खान र सरसफाइ गर्न कठिन भएको आश्रमका अध्यक्ष अनिता अधिकारीले बताए ।

“केही हप्तादेखि खानेपानीको निकै समस्या भएकाले होटल चलाउन पनि पानीले निकै समस्या बनाएको छ”, होटल व्यवसायी गोपाल श्रेष्ठले भने । धारामा पानी पर्याप्त नआउँदा अधिकांश उपभोक्ता पानीको समस्या भयो भन्दै वर्षेनी बेंसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा गुनासो गर्दै आएका छन् ।

खानेपानीको मुख्य स्रोत नै खोला नाला हो, सुक्खा जमीन भएकाले पानीको मुहान सुक्दै जाँदा खानेपानी कम आएको बेंसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए।

उनले भने, “पानी कम भएकाले विद्युतभार कटौती गरी बिहान र बेलुका मात्र पानी वितरण गरेका छौँ । अहिले वितरित पानी पनि कम हुँदै गएकाले अर्को व्यवस्था नभएसम्म पानी कम हुने समितिका अध्यक्ष प्रधानको भनाइ थियो ।

बेंसीशहर नगरपालिकाभित्र दुई हजार ६७५ वटा धारामा पानी वितरण भएको र उक्त धाराको पानी झण्डै ५० हजारले प्रयोग गर्दै आएको अनुमान उक्त समितिको छ ।

समितिका अनुसार बेंसीशहरका उपभोक्तालाई पर्याप्त खानेपानीका लागि दैनिक ५२ लाख लिटर आश्वयकपर्ने भए पनि बिहान र बेलुकी गरेर मुश्किलले १७ लाख लिटर पानी वितरण भइरहेको समितिले जनाएको छ ।

दुई ठाउँका खानेपानी ट्याङ्की साढे सात लाख लिटर क्षमताका रहे पनि पानी कम आएकाले समय मिलाएर पानी दिइएको छ । शेरा र क्याम्पस क्षेत्रमा बेलुका र अन्य ठाउँमा बिहान खानेपानी वितरण हुँदै आएको छ ।

उक्त समितिले पुमाखोला, डुदखोला, मधीर, लब्ले, साम्ली, फुर्केभिरलगायत ठाउँबाट खानेपानी ट्याङ्कीमा पानी जम्मा गरी वितरण हुँदै आएको छ ।

बेंसीशहरका उपभोक्तालाई अझै आगामी १५ असारसम्म पर्याप्तमात्रामा पानी वितरण गर्न नसकिने समितिका अध्यक्ष प्रधानले बताए । वर्षेनी पानीको अभाव हुँदा दीर्घकालका लागि ट्याङ्की निर्माण भइरहेको सो समितिले जनाएको छ ।

उक्त समितिको अगुवाइमा रु २८ करोड ८३ लाखको लागतमा सो आयोजना आगामी असोज महीनामा निर्माण गरिसक्ने जनाइएको छ । आयोजना सम्पन्न भएपछि प्रतिसेकेण्ड २५ लिटर पानी उपलब्ध गराउने गरी करीब ३० वर्षसम्मलाई खानेपानी पुग्ने उक्त समितिले जनाएको छ ।

उक्त आयोजना खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहकार्यमा हुन लागेको समितिका अध्यक्ष प्रधानले बताए । चार लाख लिटरको ट्याङ्की चार लाख लिटरको फिल्टरसहितको हुने भएको छ ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.