www.tandavnews.com
Fact ~ In search of truth

निर्माण सामग्रीको अभावले मध्यपहाडी लोकमार्गको काम प्रभावित

लक्ष्मीप्रसाद सापकोटा
पर्वत ।

निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम प्रभावित बनेको छ ।

लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा कालोपत्र गर्ने काम नै रोकिएको हो ।

Batas

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कास्कीको फेदी खण्डमा निर्माण सामग्रीको अभाव भएपछि निर्माण कार्य बुधबारदेखि रोकिएको छ ।

पर्वतको कुस्मा र कास्कीको हेम्जामा खानेपानीका पाइप तथा विद्युत्का पोल स्थानान्तरण गर्न समस्या भएपछि सोचेअनुसारको प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । नयाँपुलदेखि फेदी खण्ड निर्माण गरिरहेको श्रेष्ठ/दिवा/एपेक्स जेभीले दिएको जानकारीअनुसार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने लुम्लेको ढावामा निर्माण सामग्री निकाल्न वन कार्यालयले रोकेपछि निर्माण सामग्रीको अभाव भएको छ ।

अहिलेसम्म ६ किलोमिटरभन्दा बढी सडक कालोपत्रका लागि बेस बिच्छ्याएर तयार पारेको तर थप ६ किलोमिटर कालोपत्र गर्न निर्माण सामग्रीको अभाव भएको छ । “हामी असार अगावै १२ किलोमिटरभन्दा बढी सडक कालोपत्र गर्ने लक्ष्यमा थियौँ”, कम्पनीका साइड इञ्चार्ज काशीराज बोहराले भने , “न कुटेको ढुङ्गा छ, न कुट्नका लागि ढुङ्गा नै पाइन्छ”, उनले भने , “द्रुत गतिमा काम भइरहेको अवस्थामा निर्माण सामग्रीको अभाव भएपछि दुई दिनदेखि काम नै स्थगित गरेका छौँ ।” उक्त खण्डमा अहिलेसम्म स्ट्रक्चरको काम करीब सकिएका कारण पिच गर्ने कार्य मात्रै बाँकी छ । निर्माण सामग्री सहज भएको अवस्थामा आगामी वर्षको हिउँदमै सबै काम सक्ने लक्ष्य रहेको साइड इञ्चार्ज बोहराले बताए ।

गाउँपालिकाको स्वीकृतिमा निर्माण कम्पनी स्थानीय वन क्षेत्रबाट ढुङ्गा उत्खनन गरेको थियो । उक्त स्थानमा वडा कार्यालय भवन वा खेलमैदान बनाउने सहमति र गाउँपालिकालाई करसमेत बुझाएर ढुङ्गा उत्खनन हुँदै आएकामा वन डिभिजन ढिकुरपोखरीले वन क्षेत्रबाट उत्खनन रोक्न पत्र थमाएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुलाई निर्माणस्थल वरपर नै निर्माण सामग्रीको व्यवस्थापन गर्न कार्यादेश दिइएको हुन्छ । उक्त खण्डमा अन्यत्र सामग्री निकाल्ने स्थान नभएका कारण वन क्षेत्रमा असर नपर्ने गरी उत्खनन गर्न पहल भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापा मगरले बताए ।

“निर्माण सामग्री अभावमा काम रोकिने अवस्था आएपछि गाउँपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको छ”, उनले भने , “छिट्टै समस्याको हल गरेर निर्माण कार्य अगाडि बढाउँछौँ ।” कम्पनीले पर्वत खण्डमा पर्ने अँधेरीखोलाको भिरमा निर्माण सामग्री निकाल्ने प्रयास गरेपछि कडा चट्टान फोड्न नसकिएका कारण बम विस्फोट गराउनुपर्ने अवस्था आएको छ । विस्फोटन गर्नका लागि जिल्ला सुरक्षा समितिसँग स्वीकृति लिएर प्रक्रिया अगाडि बढिरहेको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ्ग खण्ड २०७४ चैत महीनादेखि स्तरोन्नतिको काम शुरु भएको थियो । पर्वत खण्डमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ । प्रतिकूल मौसम र कुस्मा, डिमुवा, पातिचौर क्षेत्रमा खानेपानीका पाइप र विद्युत्का पोल स्थानान्तरण समयमा हुन नसकेका कारण निर्माण कार्य ढिलाइ भइरहेको छ । पर्वत खण्डमा निर्माण सामग्रीको भने अभाव छैन । लोकमार्गअन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुङ्गासम्मको २४ किलोमिटरमा असारसम्ममा मालढुङ्गादेखि जिल्ला प्रहरी कार्यालय पर्वतसम्म आठ किलोमिटर सडक कालोपत्र गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ । खानेपानीका पाइप र विद्युत्का पोल व्यवस्थापन भएपछि यस खण्डमा पनि निर्माण कार्य तीव्र पार्न सकिने लामा कन्सट्रक्सनका साइड इर्ञ्चाज गोविन्द भुसालले बताए ।

“कुश्माबजारमा बिजुलीका पोल र खानेपानीको पाइपका कारण सडक विस्तारका लागि डोजर लगाउन समस्या भएको छ”, उनले भने , “पोल र पाइपको व्यवस्थापन गरे सदरमुकामभित्रको सडकमा कालोपत्र गर्न सक्छ”, स्ट्रक्चरको काम ८० प्रतिशतभन्दा बढी सकिएको छ । केही भागमा पहरो काट्न र नाली बनाउने काम बाँकी रहेको उनको भनाइ छ ।

आयोजनाप्रमुख थापा मगरले कुस्माबजारको खानेपानीको पाइपलाइन स्थानान्तरणको काम आयोजनाले नै गरिदिने र पोल स्थानान्तरणको स्टिमेट नआएका कारण निर्णय हुन बाँकी रहेको बताइ। उनले निर्माण कार्यमा देखिएका अवरोधहरु हटाएर यसलाई सञ्चालन गरी सम्झौताभन्दा अगावै सम्पन्न गरिने विश्वाससमेत व्यक्त गरे।
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.