www.tandavnews.com
Fact ~ In search of truth

आफै मन्त्री भएको सरकारलाई उपेन्द्र यादवको चेतावनी ः संविधान संसोधन नभए सडक संघर्ष गर्ने

पोखरा
ताण्डव न्युज
आफु स्वास्थ्य मन्त्री रहेको सरकारलाई उपेन्द्र यादबले संविधान संसोधन नगरे सडक तताउने चेतावनी दिएका छन् । नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरम गत बैशाख २३ गते एकिकरण भएपछि पहिलो पटक पोखरामा प्रदेश स्तरिय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो चेतावनी दिएका हुन् ।

उनले संविधान संसोधन गर्ने सहमति पछि मात्रै सरकारमा सहभागि भएको बताउँदै भने, ‘हाम्रो संघर्ष, संसदको माध्यमबाट हो । अहिलेको संविधानमा धेरै विकृति र विसंगती छ, त्रुटिहरु छ, कमिकम्जोरीहरु छ । यसलाई संसोधनको माध्यमबाट सच्याउन सुधार्न । सुधार्छु भन्या छ । सहमति सम्झौता भएको छ संसोधन गरेर संविधान सच्याउन । त्यस आधारमा हामीले सरकारमा सहभागि भएका हौँ ।’

उनले आफ्नो पार्टी सामेल भएरै दुइ तिहाइको सरकार बनेको भन्दै संविधान संसोधन गर्ने सहि समय आएको पनि बताए । ‘हामी सामेल भएरै सरकारलाई दुई तिहाइ पु¥याएको संविधान संसोधन गर्नका लागि नै हो । अब त्यो सहमति र सम्झौता कार्यान्वयन गर्ने बेला आएको छ । त्यसमा अगाडी बढ्नु पर्छ । आफुले गरेको बचन आफुले गरेको हस्ताक्षर र प्रतिवद्धतामा उभिनु पर्छ । फेरी आफैँले दिएको बचन, गरेको प्रतिवद्धता गरेको सम्झौतामा उभिँदैनन् भने जनताले के भन्ने त्यसलाई त्यो पनि समय आउँदै छ ।’ संविधान संसोधन गरी सच्याउन र पाएको अधिकारका लागि रक्षा गर्न सरकारमा गएको उनको भनाई थियो । ‘संविधान संसोधन गरे हाम्रो साथ छ । भएन भने गर्दै गरेन भने हामी फेरी दोस्रो बाटो प्रयोग गर्छौँ,’ उनले भने, ‘अहिलेको पहिलो बाटो हो । दोस्रो बाटो भनेको सडक संघर्षको बाटो हो । सडक संघर्षको बाटो नै हाम्रो मुख्यबाटो हो यसमा कोहि भ्रममा नपरौँ ।’

Batas

त्यस्तै मन्त्री यादवले अहिलेको नेपालको आर्थिक नीति सहि नभएको तर्क गरे । उनले भने, ‘अहिलेको हाम्रो आर्थिक नीति नै गलत छ । यसले जनतालाई दरिद्रता बाहेक केहि बनाउँदैन । केहि मान्छे सधैँ गरिब भइरहने धनी मान्छे कमाको कमै गरिरहने आर्थिक नीति परिमार्जन हुनुपर्छ ।’

भर्खरै नयाँ शक्ति नेपाल पार्टीसँग पार्टी एकता गरेको यादबले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक शक्तिहरुसँग एकता गर्ने बताए । ‘दुई पार्टीको एकता भयो यो यात्रा हो,’ उनले भने, ‘विचार र राजनीतिक सिद्धान्त मिल्नेहरु जो कोहिसँग एकता हुन्छ ।’ उनले राजपा तर्फ संकेत गर्दै राजनीतिक विचार मिल्नेहरुसँग छलफल र गृहकार्य भइरहेको समेत बताए ।

अहिलेको नागरिकता ऐन फन्टुस र जाली झेली रहेको उपेन्द्रको आरोप छ । ‘यस्तो फन्टुस र जाली झेली नागरिकता ऐन संसोधन गर्नै पर्छ नेपालीको सन्तानले नागरिकता पाउनै पर्छ,’ ‘तराइको विषय कोट्याउँदै उनले भने, ‘हाम्रो तिर वारी पारी विवाह गर्ने चलन छ, बाउ नेपाली नागरिक, आमाले पनि त्यहि आधारमा नागरिकता पाउँछ छोराले पाउँदैन । यहाँको नागरिक नभए कहाँको नागरिक त ? यो संस्कारको अन्त्य हुनुपर्छ । नेपाली नागरिकका सन्तान नेपाली नागरिक नै हुन । कोहि पनि नेपाली नागरिकता बिहिन हुनुहुँदैन । राष्ट्रियता विना कोहि पनि रहन सक्दैन ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.