www.tandavnews.com
Fact ~ In search of truth

पाल्पाली अचार ‘चुकाउनी’मा आकर्षण

पवित्रा घिमिरे
रामपुर।

पाल्पाली अचारका रुपमा परिचित चुकाउनीप्रति सबैको आकर्षण बढ्न थालेको छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना र धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने यो अचार धेरैले रुचाइएको पाइएको छ । पाल्पाका रैथाने नेवार समुदायको संस्कृति यो अहिले पाल्पाली पहिचान बनेको जानकार बताउँछन् ।

नेवार समुदायले विवाह, व्रतबन्ध, पूजाराधनालगायत शुभकार्य एवं धार्मिक कार्यमा अनिवार्य जस्तै प्रयोग गरिने चुकाउनी स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण मानिने लेखक निर्मल श्रेष्ठ बताउछन् । शुभकार्य तथा शुभसाइतमा प्रयोग गरिने दही स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण मानिने हुनाले स्थानीयस्तरमा बढी प्रयोग गरिन्छ ।

Batas

सजिलै पाइने र सरल तरिकाबाट बनाउन सकिने हुनाले पनि सबैले प्रयोग गर्न थालेको श्रेष्ठको भनाइ छ । उनले भने ,“ पहिले सदरमुकाम तानसेनमा बस्ने रैथाने नेवार समुदायले चाडपर्व र शुभकार्यमा बेला अनिवार्य तयार पारिने चुकाउनी आजभोलि सबैले मन पराउन थालेका छन् ।” चिल्लो खाएका बेला चुकाउनी खाँदा पेटमा बिसञ्चो नहुने उनको धारणा छ ।

आलुलाई उसिनेर काट्ने, दही, हरियो खुर्सानी र धनियाँ तथा प्याज काटेर सबै एकै ठाउँमा मिसाउने, स्वादअनुसारको नून राख्ने अनि तेल तताएर मेथी फुराएर झानेपछि खानका लागि चुकाउनी तयार हुन्छ । चुकाउनी तयार गर्न समय नलाग्ने र स्वादिलो हुनाले पनि सबैलाई मन पर्ने श्रेष्ठले बताए। जाडोमा केही कम बिक्री भए पनि गर्मीमा चुकाउनी सबैले खोज्ने गरेको होटल व्यवसायीको बताउँछन् ।

पाल्पा राम्दीमा लामो समयसम्म चुकाउनीको व्यवसाय गरेका नन्दकिशोर अमात्यले आफ्नो होटलमा आउने धेरैले चुकाउनी खान मन पराउने बताए । राम्दीपुल चोक नजीकै अमात्य रेष्टुरेन्टका सञ्चालक अमात्यले २२ वर्षदेखि आफूले व्यवसाय गरेको र त्यति बेलादेखि नै चुकाउनीको व्यापार गरेको जानकारी दिए । उनले भने ,“ स्याङ्जा, पोखरा, चितवनतर्फ जानेहरु र जिल्ला बाहिरका मानिस होटलमा आउँछन्, चुकाउनी खान्छन्, अचम्म मीठो हुँदोरैछ भन्छन्, चुकाउनीको परिचय लिएर जान्छन् ।” उनका अनुसार पाल्पाली चुकाउनी अन्त पाइँदोरैनछ, पाल्पाली व्यवसायीले नयाँ स्वाद दिएका छन् ।

राम्दीमा चुकाउनी तयार गर्ने थुप्रै व्यवसायी छन् । पूर्वी र पश्चिमी पाल्पामा पनि यसको व्यवसाय हुन्छ । एक पटक चुकाउनी चाखेर गएका मानिसले फेरि आउँदा चुकाउनी खान मन पराउने अमात्यको भनाइ छ ।

रामपुरमा रामपुर अस्पताल नजीकै चियापसल सञ्चालन गर्नुभएका रामप्रसाद डोटेलले चुकाउनीको माग र व्यापार राम्रो भएको बताए। उनले जाडोभन्दा बढी गर्मीको बेला चुकाउनीको बिक्री हुन्छ भने । पाल्पाली ढाका, करुवालगायत विभिन्न पहिचान दिने वस्तुसँगै चुकाउनीले समेत पाल्पा जिल्लामा छुट्टै परिचय बनाएको छ ।

रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.