www.tandavnews.com
Fact ~ In search of truth

टेक दाइको ‘द फिसरम्यान’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

‘म सानो हुँदा ड्याम नै थिएन । शान्त थियो ताल । ऊ त्यहाँ बसेर बल्छी हान्ने गथ्र्यौँ ।’ टेक दाइले दाहिने हातले इशारा गर्दै देखाउँदै थिए । ‘माझीकुनामा बस्ती नै थिएन भन्दा पनि हुन्छ । एकदम कम थिए बसोबास गर्ने । अहिले बस्ती बाक्लिएको छ,’ लेखनाथको पुरानो माझीकुना चित्रण गर्न खोज्दैथे उनी ।

टेक दाइ र बेगनास तालको पानी बिचको सम्बन्ध करिब ३५ वर्ष पुगिसकेछ । यो ३५ वर्षमा टेक दाइ र बेगनासको पानीमा धेरै परिवर्तन आएका छन् । शान्त सफा तालमा जलकुम्भी देखिँदा टेक दाइका गलाका दाह्री पनि फुलेको देखिन्छ ।

Batas

उमेर उकालो लागेपनि जोस जाँगर उत्तिकै छ उनमा । फिट एन्ड फाइन छन् तर तालको अवस्था त्यसो रहेनछ । उनले तैरिरहेको जलकुम्भी इसारा गर्दै सुनाउँदै थिए ‘पहिले कहाँ यस्तो थियो । सफा थियो ताल । हेर्नुस् त अहिले जलकुम्भी ।’

फिसर म्यानको ‘द फिसरम्यान’ 

माझीकुनाका टेकबहादुर जलारीलाई सबैले ‘टेक दाइ’ भनेर बोलाउँछन् । माझीकुनामै टेक दाइको रेस्टुरेन्ट छ, द फिसर म्यान । २ वर्ष मात्रै भयो उनले रेस्टुरेन्ट सञ्चालन गरेको । यस व्यवसायबाट सन्तुष्ट पनि छन् उनी । माछा मार्दै आएका टेक दाइ व्यवसायमा कसरी हानिए ?

उनकै शब्दमा :

म जालारीको छोरो । बुवा आमासँग तालमा जान्थेँ । उहाँहरुले जाल हानेको हेर्थेँ र सिक्थेँ । पछि आफै जान्ने भएपछि साथीहरुसँग गएर माछा मारिन्थ्यो ।

त्यतिबेला हामीले सङ्कलन गरेका माछा पोखरा निर्यात हुन्थ्यो । यता त रेस्टुरेन्ट नै थिएन । समयसँगै बस्ती पनि बढ्यो । रेस्टुरेन्टहरुपनि सञ्चालनमा आउन लागे । यहाँको माछा यहीँका रेस्टुरेन्टहरुमा खपत हुन थाल्यो ।
तर पहिला जस्तो माछा भने यहाँ छैन । ड्याम लगाएपछि ताल फराकिलो त भयो तर माछा हराउन थाले । बाम, भुर्लुक, काँडे लगायतका माछाहरु पाउनै मुस्किल छ । एक पटक फङ्गस पनि लागेको थियो । त्यही भएर पनि हो कि ।

समयको विकासक्रमसँगै माछा मारेर मात्रै जिविकोपार्जन गर्न गाह्रो भयो । बिहे गरियो, छोराछोरी भए । उनीहरुको स्याहारसुसार, पढाइ गर्दा पुग्दै नपुग्ने । माछा मार्न छाडेर रेस्टुरेन्टमा काम गर्न थालेँ । करिब २÷३ वर्ष रेस्टुरेन्टमा काम गरेपछि मलाई केही ज्ञान पनि भयो । त्यही अनुभवबाटै कतै रेस्टुरेन्ट सञ्चालन गर्ने सोच थियो ।

मेरो कर्मदाता हुनुहुन्छ, सुरेश शिल्पकार । उहाँले यो ठाउँ दिनुभयो । संरचनाहरु पनि बनाइदिनुभयो । ११/१२ रोपनि जति छ । केही संरचना म आफैले बनाए ।

पाँच वटा कोठामा २० जना आरामले बस्ने व्यवस्था छ । ६०/७० ग्राहक बसेर खान मिल्ने ठाउँ छ । यहाँको स्पेसन मेनु भनेकै माछा हो । माछा फ्राइ, बारबिक्यू, चिल्ली लगायत सबै आइटम हामी सर्भ गछौँ । विदेशी पर्यटकहरु पनि आउँछन् । तर, मेरो रेस्टुरेन्टमा बढी आन्तरिक नै आउनुहुन्छ । सस्तो मूल्यमा स्वादिष्ट परिकार र आरामदायी बासकै कारण पनि ग्राहकको आकर्षण भएको होला ।

जे होस्, आजकल यहीँ रेस्टुरेन्टले नै व्यस्त बनाइराखेको छ । व्यसायबाट सन्तुष्ट पनि छु ।  माछा मार्न त छाडीसके जस्तो भइसक्यो । फेरि माछाबाट मात्रै जिविकोपार्जन गर्न गाह्रो छ । बुढेसकाल लाइसकेकाहरु तालमा छन् । युवाहरु कताकति मात्रै भेटिन्छन् । दिनमा ३ किलोसम्म माछा परे पनि गाह्रो हुन्छ ।

फेवा भर्सेस बेगनास :

फेवाताल भन्दा कुनै मानेमा कमजोर छैन बेगनास । तर पनि ओझेलमा परेको हो कि भन्ने लाग्छ । फेवातालप्रति यहाँको स्थानीय सरकारले जति महत्व दिएको हुन्छ, त्यही बेगनासलाई दिएको पाइँदैन । प्रचार–प्रसारको पनि कमी भयो ।

पोखरा आउने पर्यटक फेवाताल मात्रै हेरेर मख्ख परेर जान्छन् । डुङ्गा सयरको लागि फेवा भन्दा बेगनास कुनै मानेमा कम छैन । टुरिष्ट प्लेस त भनिन्छ तर न टुरिष्ट इन्फर्मेसन सेन्टर छ, न टुरिष्ट पुलिसको व्यवस्था नै छ ।
राज्यलाई तिर्नुपर्ने सबै कर तिरिरहेकै छौँ । तर पनि यहाँको प्रचार–प्रसार र पर्यटक आवगमनका लागि स्थानीय होस् या केन्द्रीय सरकार, खासै चासो दिएको पाइँदैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.