www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा उद्यमीको खोजी

पर्वत
लक्ष्मीप्रसाद सापकोटा ।

हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी शुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको हो ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ४५० उद्यमी उत्पादन गर्न थालिएको हो । घरेलु तथा साना उद्योग विकास समितिले गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) को सहयोगमा उद्यमी तयार गर्न थालेको हो । न्यून आय भएका समुदायलाई दिगो आयआर्जनमा सहभागी गराउन थोरै पूँजीमा सञ्चालन गर्न सकिने साना तथा घरेलु उद्यममा आधारित उद्यमी तयार पार्न थालिएको परियोजनाले जनाएको छ । सबै स्थानीय तहमा विभिन्न सीपमा आधारित तालीम सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले जनाएको छ ।

Batas

शाखाको आर्थिक सहयोगमा सङ्गम तालीम तथा परामर्श केन्द्र र जिल्ला लघुउद्यमी समूह सङ्घको सहकार्यमा उद्यमी उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए। उनका अनुसार चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

कार्यक्रमले विपन्न समुदायलाई बाँसका मुढा, ब्युटीपार्लर, च्याउखेती, प्लम्बिङ, विभिन्न घरेलु तथा वन पैदावरको उपभोग गरी सामग्री बनाउने हस्तकला र सीपमा आधारित तालीम सञ्चालन गर्दै आएको न्यौपानेले बताए।

“अत्यन्तै कम आयस्तर भएका व्यक्ति छनोट गरेर सीपमा आधारित उद्यमी उत्पादन गर्ने गरी कार्यक्रम शुरु गरिएको हो”, न्यौपानेले भने  “सीप र आवश्यक प्रविधि हामी सहयोग गर्छौं । उद्यमीले जाँगर र तत्परता देखाउनुप¥यो ।” सीप सिकेका व्यक्तिले आफैँ लगानी गरेर लघु उद्योग चलाउनुपर्ने कार्यविधि रहेकामा आवश्यकताअनुसार घरेलुले सहयोग गर्ने न्यौपानेले बताए। तालीममा सहभागी हुन वार्षिक आय ३४ हजार ४३० भन्दा कम रहेका व्यक्ति छनोटमा परेका छन् ।

सेवामूलक संस्थासँंग तालीम तथा परामर्श केन्द्र र जिल्ला लघु उद्यमी सेवा सङ्घमार्फत् कार्यक्रम कार्यान्वयन भइरहेको फलेबास नगरपालिकाका प्रवक्ता टीकाराम गौंडेलले बताए । घरेलुका अनुसार कुश्मा नगरपालिकामा ५८, फलेवासमा ५८, मोदी गाउँपालिकामा ५८, जलजला गाउँपालिकामा ५८, बिहादी गाउँपालिकामा ५८, पैयुँ गाउँपालिकामा ५८ र महाशिलामा ५७ जना उद्यमी तयार हुने भएका छन् । यसअघि तालीम लिएका पुराना २४३ उद्यमीको सीप स्तरोन्नति गर्ने गरी तालीम सञ्चालन भइरहेको घरेलुले जनाएको छ । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.