www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको ऐतिहासिक ठूलीपोखरी भरेर ताल बनाइँदै

पर्वत । 

 

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी तालको मर्मतसम्भार शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रु २५ लाखको लागतमा ऐतिहासिक ठूलीपोखरीको मर्मत गरी बाह्रै महीना पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थालिएको हो ।

झण्डै दुई सय वर्ष पुरानो सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठूलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । अहिले पानीविहीन तथा मर्मत संरक्षण हुन नसक्दा जीर्ण बनेको पोखरीलाई मर्मतसम्भार गरी पोखरीको गहिराइ समेत बढाइने योजना छ । उक्त पोखरीमा पञ्चासेदेखि पानी ल्याएर सङ्कलन गरी पर्यटकीय र आर्थिक विकासको हिसाबले सञ्चालन गर्ने योजना समेत रहेको ठूलीपोखरी संरक्षण तथा मर्मतसम्भार समितिका अध्यक्ष ढकाराम सापकोटाले जानकारी दिए ।

पहिलो चरणमा मन्त्रालयबाट विनियोजित रकमले पोखरीको भौतिक संरचना निर्माण गरिनेछ । ठूलीपोखरीको मर्मतसम्भारको काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रबार शुभारम्भ गर्दै पुराना पोखरी, चौतारी, ऐतिहासिक मठमन्दिरहरुको संरक्षणमा प्रदेश सरकार लागेको बताए।  ठूलीपोखरीमा कृत्रिम ताल बनाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्दा आयआर्जन र रोजगारी सिर्जना गर्ने एउटा महत्वपूर्ण माध्यम बन्ने उनले बताए ।

प्रदेश सरकारले गण्डकी प्रदेशका दुई हजारभन्दा बढी ताल तथा पुराना पोखरीलाई संरक्षण गर्न र पानीको अधिकतम सदुपयोग गर्न ताल प्राधिकरण समेत गठन गरेको बताए ।

सो अवसरमा प्रदेशसभा सदस्य जुनादेवी नेपालीले संसारको सबैभन्दा ठूलो उद्योग रहेको चर्चा गर्दै नेपालमा पर्यटनबाट नै विकास र समृद्धि प्राप्त गर्न सकिने बताइन् ।

फलेवास नगरपालिकाका प्रमुख पद्मपाणी शर्माले ऐतिहासिक र धार्मिक महत्वका पुराना मठमन्दिरदेखि पोखरीलाई संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए। कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले समृद्धिको पहिलो आधार पर्यटन भएकाले ठूलीपोखरीमा बन्न लागेको कृतिम तालले समृद्धिको मार्गमा हिँडाउने दाबी गरिन् । (रासस) 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.