www.tandavnews.com
Fact ~ In search of truth

स्पोर्टस अवार्ड : चर्चित खेलाडी छान्न भोटिङ खुला, दिनमा एक भोट

पोखरा।

 टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ अन्तर्गत वर्ष चर्चित खेलाडी छान्न भोटिङ खुला भएको छ । चौथो संस्करणबाट दर्शकको छनौटको आधारमा ‘पपुलर प्लेयर अफ दि इयर’ घोषणा गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निर्णय अनुसार ठीक १० दिन अघिबाट भोटिङ खुला भएको हो ।

विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडीको विधामा परेका ९ जना खेलाडीहरु मध्येबाट सर्वाधिक मत प्राप्त गर्ने खेलाडीलाई मञ्चले पपुलर प्लेयर अफ दि इयरका रुपमा अवार्ड प्रदान गर्ने जनाएको छ । विजेताले नगद २५ हजार सहितका आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

Batas

एसएमएस मार्फत भोट गर्न मोबाइलको म्यासेज बक्समा गई पोखरा स्पोर्टस् अवार्डको छोटकरी रुप PSA टाइप गरी Space दिएर खेलाडीको Voting Code लेखी 33001 मा पठाउनुपर्नेछ । मञ्चका उपाध्यक्ष एवं सूचना तथा प्रविधि उपसमिति संयोजक रञ्जन अधिकारीका अनुसार वर्ष खेलाडी पुरुषतर्फ मनोनयनमा परेका अमृत थापा (स्क्वास) को भोटिङ कोड 1A, रुपक नेपाली (फूलकन्ट्याक्ट कराँते) को 1B र युकेश गुरुङ (प्याराग्लाइडिङ) को भोटिङ कोड 1C रहेको छ ।

यस्तै, वर्ष खेलाडी महिलातर्फ मनोनित भएकाहरु प्रीति बराल (सफ्ट टेनिस)को भोटिङ कोड 2A, श्रेया केसी (सुटिङ) को 2B र सुष्मी श्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) को 2C रहेको छ । यसैगरी, वर्ष उदियमान खेलाडीमा मनोनयनमा परेका अनुष्का शेरचन (आर्चरी) को 3A, अर्जुन कुमाल (क्रिकेट)को 3B र सुस्मिता थापा मगर (आईटीएफ तेक्वान्दो) को 3C रहेको छ ।

खेलाडी छनौट समितिका संयोजक एवं संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीका अनुसार यस वर्षबाट थप भएको यस विधाको अवार्डमा एक मोबाइल नम्बरबाट एक दिनमा जम्मा एउटा भोट मात्र गर्न सकिनेछ । ‘मुलुकमा चलेका धेरै ईभेन्ट, रियालिटी शो तथा प्रतियोगिताहरुमा एसएमएस खेती गरेको भनेर जनगुनासो धेरै छ ।

भोटले एउटा अवार्ड जित्ने भएपछि सम्पति सकाएर पनि भोट गरेको देखियो ।’ सल्लाहकार समेत रहेका ज्ञवालीले भने– ‘खेलाडीको सम्मानका लागि गरेको यो कार्यक्रममा खेलाडीकै पैसा सकेर आयोजकको कमाउने उद्देश्य होईन । त्यसैले एउटा नम्बरबाट एक दिनमा एउटा मात्र भोट मान्य हुने गरी व्यवस्था मिलाएका छौं ।’ एउटा एसएमएस पठाउन कर बाहेक ५ रुपैंया लाग्नेछ ।

अवार्ड वितरण समारोहकै अवधिसम्म भोट गर्न सकिने र पारदर्शी रुपमा भोटबारे जानकारी गराउने उपसमिति संयोजक अधिकारीले जनाए । उनका अनुसार मञ्चको आधिकारीक फेसबुक पेज नेपाल स्पोर्टस् जर्नालिष्ट फोरम, गण्डकीमा समेत खेलाडीहरुको विवरण राखिनेछ । जहाँबाट लाइक, शेयर गर्न सक्नेछन्।

‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ पोखरा सभागृहमा जेठ २४ मा हुने अवार्डमा सांस्कृतिक कार्यक्रम, खेलाडी ¥याम्प, विभिन्न खेल कौशल प्रदर्शन समेत हुनेछ । कार्यक्रमलाई बतास ब्रदर्श प्रालिले मुख्य प्रायोजन गरेको छ ।सहयोगी संस्थाहरुमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, कास्कीका गाउँपालिका, वडा, हङकङ व्युटी इन्स्टिच्युट, सामसुङ मोबाइल वल्र्ड वाइड कनेक्सन, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, जिल्ला खेलकुद विकास समिति कास्की लगायत रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.