www.tandavnews.com
Fact ~ In search of truth

राहुघाट पुलमा गुणस्तरहीन सामग्री प्रयोग , निर्माणकार्य रोक्न प्रशासनको निर्देशन

गलेश्वर ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन दिएको छ । गिट्टी, बालुवालगायत पुल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को व्यवस्था नहुँदासम्म पुल निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

पुलको फाउण्डेशन निर्माणमा गुणस्तरहीन गिट्टी, बालुवा प्रयोग भएको भनी रघुगङ्गा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले प्रशासन कार्यालयलाई जानकारी गराएपछि पुल निर्माणको काम अर्को व्यवस्था नहोउञ्जेलसम्म रोक्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

Batas

सदरमुकाम बेनीदेखि तीन किलोमिटर उत्तरतर्फ बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ पिप्लेको सीमाक्षेत्रमा पर्ने राहुघाटको पिप्लेखण्डमा पक्की पुलको फाउण्डेशन राख्न ढलानको काम भइरहेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका डिभिजन इञ्जिनीयर ओमराज ढुङ्गाना, प्रहरी नायब उपरीक्षकसमेत पुल निर्माणस्थल पुगेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्राविधिक आई गुणस्तर निर्धारण नगर्दासम्म पुलमा भइरहेको काम स्थगित गर्न निर्देशन गरेका हुन् ।

“जिम्मेवार तहबाट नै गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि प्राविधिकसहित स्थलगत अनुगमन गर्दा धुलो बालुवा र धेरै साना गिट्टी प्रयोग भएको पाइयो”, प्रजिअ अधिकारीले भने , “डिजाइन स्टिमेटअनुसार निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने दायित्व सम्बन्धित आयोजनाको भएकाले निर्देशन गरिएको हो ।”

तर, ठेकेदार कम्पनी शर्मा गजुरमुखी युनाइटेडका इञ्जिनीयरले भने पुल निर्माणका लागि कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन गरिएको बताएका छन् । “आयोजनाले पुलमा कालीगण्डकी नदीको मसिनो बालुवा र गिट्टी नै प्रयोग गर्न मिक्स डिजाइन दिएको हो”, इञ्जिनीयर सोनारी क्षेत्रीले भने , “ठेकेदार पक्षबाट कुनै बदमासी भएको छैन ।” (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.