www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा स्वर्गद्धारीको शाखा मन्दिर वरिपरि तारबार

म्याग्दी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ र मङ्गला गाउँपालिका–१ को सिमानामा रहेको धार्मिकस्थल स्वर्गद्धारी शाखा मन्दिरको संरक्षण शुरु भएको छ ।

रघुगङ्गा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तीर्थयात्री निवास र गौशालाको संरक्षणका लागि तारबार गर्न थालेको छ । प्युठानको स्वर्गद्धारीको शाखा मानिएको यो क्षेत्र १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख बजेटबाट स्वर्गद्धारी क्षेत्रमा १४० मिटर तारबार गरेर घेराउ गरिएको झिँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए ।

Batas

तारजालीका साथै प्रवेशद्धार र प्रतिक्षालय पनि निर्माण गरिएको छ । स्वर्गद्धारा शाखाको संरक्षणका लागि चारैतर्फ घेराबार गर्नुपर्ने शिव मन्दिरका सन्यासी प्रभानाथ योगीले बताए ।रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले स्वर्गद्धारी परिसरमा गौशाला निर्माणका लागि आफूले पाउने पारिश्रमिकबाट स्थापना गरेको कोषबाट सहयोग गर्ने बताए ।

उनले तारजालीको घेराबारलाई पूर्णता दिन गाउँपालिकाबाट थप बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।प्युठानको स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा स्वर्गद्धारीबाट आएका ऋषिहरुले तपस्या गरेको इतिहास छ । स्वर्गद्धारी महाप्रभु प्युठानबाट आएर केही समय टोड्केमा तपस्या गरेको तत्कालीन कुहुँ गाविसका अध्यक्ष प्रेमप्रसाद रेग्मीले बताए ।

उनका अनुसार स्वर्गद्धारी महाप्रभुले प्रयोग गरेको खराउ (काठको चप्पल) अझै रहेकाले महाप्रभु टोड्केमा आएको पुष्टि हुन्छ । अहिले पनि स्वर्गद्धारीबाट टोड्केमा ऋषिहरु समय समयमा आउने गरिरहेका छन् ।धौलागिरि हिमालको फेदीमा रहेको रिखार क्षेत्रमा तपस्या गर्न आउने जाने ऋषिहरुले टोड्केलाई बासस्थानको रुपमा प्रयोग गरेको इतिहास छ ।

२०७२ मा महायज्ञ आयोजना गरेर स्वर्गद्धारी शाखाको संरक्षणका लागि शिव मन्दिर पुनःनिर्माण गरिएको थियो ।महायज्ञको आम्दानीबाट गौशाला सञ्चालन र तीर्थयात्री निवास निर्माण गरिएको छ । समथर भूगोल र एकान्त वातावरणमा अवस्थित, हिमशृङ्खला, सूर्योदय, गुरासको जंगल, प्राकृतिक सौन्दर्यता र ग्रामीण बस्तीको अवलोकन गर्न सकिने टोड्केको पर्यटकीय सम्भावना पनि छ

गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ वटा हिमशृङ्खलालाई नाङ्लोको घेराझै नजिकबाट अवलोकन गर्न सकिने टोड्केबाट म्याग्दीका ३८ भन्दा धेरै बस्ती देखिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.