www.tandavnews.com
Fact ~ In search of truth

रहरको निशानामा आर्चरीको तीर

उमा विक
पोखरा, ताण्डव न्यूज । 

चाडपर्वका बेला गाउँघरतिर बुढापाकाले धनुष बाँण हानेको देख्दा उनलाई नि धनुष बाँण हानुहानु लाग्थ्यो । उनको बच्चाबेलाको त्यो रहर मात्र थियो । उनलाई धनुष बाँण खेल हो यसको खेलाडी हुन्छन् भन्ने थाहा थिएन ।  बच्चै बेलादेखि उनको मस्तिष्कमा धनुषको बाँणको तीर गडेको थियो । बच्चाबेला खेल्ने धनुष बाँण पनि पाएनन् । उनको घरको आर्थिक स्थितिअनुसार उनले चाहेका खेलौना खेल्न पाउने अवस्था थिएन ।

उनले घरमै बाँसको धनुष र तीर बनाएर धनुष बाँण खेल्थे । उनलाई कहिल्यै लागेको थिएन अहिले उनी यसैको राष्ट्रिय खेलाडी बन्छु भन्ने । कास्कीको माछापुच्छ«े गाउँपालिका रुम्जा गाउँमा जन्मेका तिलक पुन मगर आर्चरीका राष्ट्रिय खेलाडी हुन् ।

Batas

रहरको टर्निङ प्वाइन्ट आर्चरी

गाउँमा जन्मे पनि उनी पोखरामै हुर्के, बढे र पढे । स्कुल पढ्दा बास्केटबल खुब खेल्थे । तर संयोग नै मान्नुपर्छ, बच्चाको रहरले उनलाई आर्चरीको खेलाडी बनायो ।  १० कक्षासम्म पोखरामै पढेका तिलक त्यसपश्चात पढ्नको लागि इन्डिया गए । ११÷१२ कक्षा उतै पढे । उतै मास्टर गर्ने सोच थियो उनको तर घरको समस्याले गर्दा पढाइ अगाडि लान सकेनन् ।

तिलक भन्छन् ‘मध्यम वर्गीय परिवारमा जन्मेको हुँ, आर्थिक अवस्था अलि कमजोर नै थियो । त्यसैले पनि पढाइलाई निरन्तरता दिन सकिन र नेपाल फर्के । ’

२०६९ सालमा प्लस टु सकाएपछि भारतबाट उनी नेपाल फर्किए त्यो नै उनको रहरको टर्निङ प्वाइन्ट बन्यो । यस्तैमा उनले चिनेका देव पुन दाइ आर्चरीको सामान बोकेर हिडेको उनले देखे ।  उनको सानैदेखिको रहर थियो धनुष बाँण हान्ने त्यसैले उनले देव पुन दाइलाई भेटेर आफ्नो रहर सुनाए । उनै देव दाइसँग आर्चरीको बारेमा सोधपुछ गरे ।

देव दाइले उनलाई आर्चरी सिकाउने गुरु किशोर गुरुङसँग उनको भेट गराइदिए । उनीसँग सिक्नका लागि पैसा थिएन तर ढुङ्गा खोज्दा देउता भेटियो भने जस्तै गुरु किशोरले इच्छुकलाई निःशुल्कै सिकाउने रहेछन् । यो उनको लागि पम्पर उपहार नै बन्यो ।

धनुष बाँण हान्ने सपनाको नजिक त उनी पुगे तर त्यसको इक्पिमेन्ट किन्ने अवस्था तिलकको थिएन न त उनको परिवारले नै उनलाई किनिदिने अवस्था थियो । ‘आर्चरीका सामानहरु महंगो पर्ने रहेछ, प्रोफेसनल इक्विपमेन्ट किन्न चार लाख खर्च लाग्छ,’ उनी भन्छन् । तिलकको आर्चरीप्रतिको लगाव देखेर गुरु किशोरले आफै सामानहरु किनिदिएर उनलाई टे«निङ दिए । टे«निङका बेला उनी लगनशील भएर एकाग्रक हुन्थे ।

जुनियर लेभलमा स्वर्ण

उनको लगन र एकाग्रकताले उनलाई राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने अवसर जुट्यो । २०७० सालमा उनले राष्ट्रिय स्तरको आर्चरी प्रतियोगितामा जुनियर लेभलबाट खेलेका थिए । उनले त्यसमा स्वर्णपदक हात पारे । एक वर्ष जुनियरमा जितेपछि अर्को वर्ष फेरि त्यसमै खेल्न नपाइने रहेछ उनले ओपन क्याटगोरीमा प्रतिस्पर्धा गर्न थाले ।

पहिलो पटक ओपन क्याटगोरीमा उनले सिनियर खेलाडीसँग प्रतिष्पर्धा गर्दा उनले सिनियर खेलाडीलाई एक सेट हराएका थिए । उनी सम्झन्छन्,‘त्यो बेला मैले प्रयोग गरेका सामानहरु खासै राम्रा थिएनन् तर पनि मैले जिते, राम्रो खेल सामग्री पाए राम्रो गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास बढ्यो,’ उनी थप्छन्, ‘त्यसपछि त मैले राम्रो सामान किनेर अभ्यास गर्न थाले ।

आर्चरी छोडि असइ

आर्चरीका सामान त जसोतसो राम्रै जुटाए । उनले एक रिटायर्ड खेलाडीको सामान किनेका थिए । तर २०७२ सालमा तिलको आर्चरी रोकियो ।  आर्चरी हाम्रो देशको प्राचीन र ऐतिहासिक खेल हो तर यसले व्यवसायिकता अझै पाइसकेको छैन । यसलाई रमाइलोकै रुपमा लिने गरिन्छ ।

आर्चरी खेलेरै आयआर्जन हुने अवस्था अझै बनिसकेको छैन । आर्चरी खेलेर व्यवसायिक खेलाडी नै बनेर बस्ने अवस्था तिलकको थिएन । त्यसैले उनले जागिरका लागि नेपाल प्रहरीमा भर्ती भए । प्रहरी सहायक निरीक्षकमा नाम निकाले । त्यसपछि उनी जागिरका लागि तालिममा व्यस्त हुन थाले । आर्चरीको अभ्यास रोकियो । अभ्यास रोकिएको थियो तर उनको रहर दिनदिनै बढिरह्यो । उनले अब आर्चरी अन्तर्राष्ट्रिस्तरको प्रतियोगिता खेल्ने सपना बुन्न थालेका थिए ।

तिलकले असईको तालिम सकेपछि नेपाल प्रहरीमा आफू आर्चरीको खेलाडी भएको जानकारी गराए र प्रहरीमा रहेर पनि खेल्ने चाहाना व्यक्त गरे । उनको इच्छाको कदर गर्दै सङ्गठनले साथ दियो । अहिले उनी आर्चरीलाई निरन्तरता दिइरहेका छन् ।

प्रहरीको जागिर गरिरहँदा उनले २०७३ पुसमा गाईघाटमा भएको राष्ट्रिय आर्चरी प्रतियोगितामा उनले सिनियर लेभलमा भाग लिए । प्रतियोगितापछि तिलक नेपालको वरियताको चौथो नम्बरमा पर्न सफल भएका थिए ।  त्यसपछि उनले राष्ट्रिय टिममा पर्नका लागि कसरत सुरु गरे तर उनी राष्ट्रिय टिममा छनोट पनि भए । त्यसपछि उनको अन्तर्राष्ट्रिस्तरमा खेल्ने सपनाको खुड्किला सुरु भयो ।

सन् २०१८ मा उनले थाइल्याण्डको बैंककमा भएको प्रतियोगितामा भाग लिए । खेल सन्तुष्ट हुन लायक भएन । उनी भन्छन्, ‘देशलाई रिप्रिजेन्ट गरेर जाँदा खेल राम्रो खेल्न नसक्दा मेरो देश तल परे जस्तो फिल हुने रहेछ, त्यसपछि अझै मिहेनत गर्नुपर्ने रहेछ भन्ने लाग्यो र खेलमा ध्यान दिन थाले ।’

२०१८ मै मार्चमा उनी बंगलादेशको ढाकामा भएको तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा सहभागी भए । त्यसमा उनले ‘मिक्स टिम’ विद्यामा कास्य पदक जिते । यो उनको लागी अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको लागि ठूलो पदक थियो ।

कास्यपदक जितिरहँदा तिलक र एकजना महिला खेलाडी श्रीलङ्कासँग खेलिरहेका थिए । त्यसमा पनि एक अङ्कले श्रीलङ्कालाई हराएका थिए । ढाकामै भएको सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा तिलकसहितका टिमले रजत पदक जितेका थिए ।

तिलक १८ औँ एसियाली खेलकुदमा सहभागी भएका थिए त्यसमा पदक हात नपारे पनि नेपालको तर्फबाट राम्रै गरे । ‘पहिलो खेलमा भुटानका खेलाडीलाई ६–० ले हराएको थिए तर अन्तिम १६ मा चिनियाँ खेलाडीसँग ६–४ ले हारे,’ तिलक भन्छन्, ‘मिहेनत अझै गर्नुपर्छ अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न । ’

साग र ओलम्पिकका लागि तयारी
रहरैरहरमा आर्चरीका राष्ट्रिय खेलाडी बनेका तिलक अहिले नेपालमै हुने १३ औँ सागमा भिड्नका लागि अभ्यास गरिरहेका छन् । फाइनल सेलेक्सन भइसकेको छैन । आर्चरीबाट मेडल जित्नेमा आश्वस्त देखिन्छन् तिलक ।

त्यस्तै २०२० को ओलम्पिकमा छनोट हुनका लागि पनि उनले कडा कसरत गरिरहेका छन् । ‘हामी सधैं वाइल्ड कार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जाने भन्दा पनि मेहनत गरेर छानिएर जाँदा गर्व लाग्छ त्यसैले छनोटका लागि मिहेनत गरिहेको छु ,’ तिलक भन्छन् । उनी अहिले आर्चरी खेलाडी विश्व वरियतामा २ सय २८ औँ स्थानमा छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.