www.tandavnews.com
Fact ~ In search of truth

भर्जिन पदमार्ग ‘मर्दी’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

पोखराको पर्याय ‘पर्यटन’ हो । यस क्षेत्रको रुप रङ नै पर्यटनले भरिएको छ । कल्चर, नेचर र एडभेण्चर पर्यटनका मेरुदण्ड हुन् जसको कारण पोखरा लगायत आसपासका स्थानहरु मुख्य गन्तव्य बन्नबाट अछुतो छैन ।

प्राकृतिक सौन्दर्यता, तालतलैया तथा गुफा, मनोरम हिमशृङ्खला, तथा ऐतिहासिक महत्व बोकेका विभिन्न धर्मसम्बद्ध मठ–मन्दिर तथा गुम्बाहरु यहाँ मुख्य आकर्षणहरु हुन् । गण्डकी प्रदेशको राजधानी समेत रहेको तालै तालको शहर भनेर विश्वविख्यात पोखरा पछिल्लो समय साहसिक पर्यटनको मुख्य गन्तव्य समेत बनेको छ ।

Batas

बन्जिजम्प, प्याराग्लाइडिङ, ¥याफ्टिङ, कायकिङ, क्यानोनिङ, जिप फ्लाइङ तथा ट्रेकिङ जस्ता शाहसिक गतिबिधिका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु पोखरा ओर्लने गर्दछन् ।

मुख्यतः हिमाललाई नजिकबाट नियाल्न र पैदलयात्रा गर्न मन पराउने पर्यटकहरुका लागि अन्नपूर्ण पदमार्ग र बिरेठाँटी– पुनहील पदमार्ग बिगतदेखि नै सञ्चालनमा छन् । यी लगायतका पदमार्गमा पुगेकाहरुको अर्काे गन्तव्य र भर्जिन ट्रेकको रुपमा मर्दी पदमार्गलाई लिने गरिन्छ । भर्जिन रुटको रुपमा लिँदै आएको यस पदमार्गमा यतिबेला पर्यटकीय गतिबिधि मौलाएको छ, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भएको छ ।

केही वर्ष प्रचार–प्रसारको अभावले ओझेलमा परे पनि स्थानीयवासीको पहलमा ट्रेकिङ रुटको प्रबद्र्धन भएपछि यतिबेला सो मार्गमा आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो लागेको पर्यटन व्यवसायीहरु बताउँछन् । पछिल्लो तीन वर्ष यता पर्यटकको सङ्ख्यामा एक्कासी बृद्धि भएको पर्यटक सङ्ख्याको तथ्याङ्क लिँदै आएका मर्दी होटल व्यवस्थापन समितिका प्रतिनिधि आइतबहादुर तामाङ बताउँछन् । ‘अहिले नेपाली र विदेशी पर्यटकको सङ्ख्यामा ७५ प्रतिशतले वृद्धि भएको छ, मैले राखेको तथ्याङ्कमा मात्रै दैनिक ५ सय भित्रिन्छन्,’ उनी भन्छन् ‘अझ बढी त सिदिङबाट पनि पर्यटकहरु भित्रिन्छन् ।’

उक्त मार्गको रेखदेख, मर्मत सम्भार लगायतका जिम्मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को हो । तर आन्तरिक तथा बाह्य पर्यटकसँग छुट्टाछुट्टै दस्तुर लिए पनि पदमार्ग व्यवस्थापनमा खर्च गरेको पाइँदैन । विशेषगरी आन्तरिक पर्यटकहरुको रोजाइ बन्दै गएको मर्दी पदमार्गको संस्थागत अध्ययनबाट बस्न खानको लागि पर्याप्त सुविधा नभएको नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया बताउँछन् ।

‘त्यो पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने भएकाले नियमावली एक्यापकै लाग्छ,’ थपलिया भन्छन्, ‘पर्यटन विकास, संरक्षण र सन्तुलनमा समयमै ध्यान दिनुपर्छ ।’ मर्दी टे«क भर्जिन पदमार्गको रुपमा विस्तारै विकसित हुदै गएको थपलियाको तर्क छ ।

त्यस्तै हरेक वर्ष मर्दी ट्रेक आउँदा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको आन्तरिक पर्यटक माधव प्रधानको अनुभव छ । उनले पहिला भन्दा यस वर्ष उल्लेख्य मात्रामा पर्यटकीय गतिविधि बढेको अनुभव सुनाए । पर्यटकीय गन्तव्य बन्दै गएको मर्दी पदमार्गको पूर्वाधारमा आवश्यक भए जति विकास हुन नसकेको प्रधानको भनाइ छ ।

पर्यटन विकासको सम्भावना

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ र ९ मा पर्ने मर्दी पदमार्गका कारण पनि गण्डकी प्रदेश पर्यटनको क्षेत्रबाट समृद्धिको बाटोमा सहजै लम्किन सक्छ । तर सरोकारवाला निकायले भने गतिलै अभ्यास गर्न आवश्यक देखिन्छ । पर्यटन विकासको क्षेत्रमा यस मार्गको प्रचुर सम्भावना रहँदा रहँदै पनि सरोकारवालाहरुले व्यवस्थापनमा चासो नदिदा मर्दी ट्रेकमा जाने पर्यटकहरुले सास्ती खेप्नुपरेको छ ।

यही गाउँपालिकामा पर्ने मर्दी हिमाल, माछापुच्छे« हिमाल र आधार शिविर सम्म पुग्ने पदमार्गलाई व्यवस्थित गर्न समेत स्थानीय सरकारले कुनै पहल कदमी नगरेको स्थानीहरुको गुनासो छ । होटेल व्यवसायी गुन्जबहादुर क्षेत्री भन्छन्, ‘सिजनमा पाहुनाहरु बढ्छन्, बास राख्नलाई ठाउँ प्रर्याप्त छैन । पाहुनाहरुलाई रातरात फिर्ता पठाउन पर्दा नमज्जा लाग्छ दुःख लाग्छ ।’

भारी सम्भावना बोकेको मर्दी पदमार्ग पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ तर यसको सम्भावनालाई सरोकारवालाहरुले मध्यनजर गर्दै यस मार्गको व्यवस्थापन तर्फ लाग्न बाह्य पर्यटकहरुको सुझाव छ । नर्वेबाट घुम्न आएका पर्यटक सोल्गुन स्टेभ यहाँको प्रकृति र संस्कृतिकै लागि नेपाल आउने गरेको बताउँछन् । हरेक वर्ष मर्दी ट्रेक आएको सुनाउँदै भन्छन्, ‘यो ठाउँको सौन्दर्यता र सम्भावनाको वर्णन गरी साध्य छैन ।’

मर्दी पदमार्गमा पछिल्लो समय पर्यटकीय गतिविधि मौलाउँदै गएको छ अनि सम्भावना पनि बढ्दो छ तर सरकारी पक्षबाट नीतिगत रुपमा सम्भावनाको परिभाषालाई पूरा गर्न नसक्दा भने सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य केवल लक्ष्ममै सीमित हुने हो कि भन्ने चिन्ता छ ।

गण्डकी प्रदेशको मुक्तिनाथ, अन्नपूर्ण पदमार्ग लगायतका विभिन्न ठाउँहरु घुमिसकेका पर्यटकहरुको मुख्य रोजाइ मर्दी पदमार्ग बन्दै गएको ट्रेकिङ एजेन्सी एसोसियसन नेपालका अध्यक्ष हरि भुजेल बताउँछन । ‘नयाँ र नौलो पदमार्गको रुपमा मर्दी पदमार्ग विकसित भएको छ यसको सम्भावनाको मात्रै कुरा गर्ने हो भने अत्याधिक छ,’ भुजेल भन्छन्, ‘सन् २०११ मा सञ्चालनबाट आएपनि पछिल्लो समय यसको चार्मिङ दिनानुदिन बढिरहेको छ ।’
पूर्वाधार अभावका कारण पर्यटकलाई सास्ती

मर्दी पदमार्ग यतिबेला लोकप्रिय र पर्यटकको रोजाइ बन्दै गएपनि आवश्यक पूर्वाधारको विकास र निर्माण नहुँदा पर्यटकहरुले भारी सास्ती बेहोर्न परेको छ । तर यस विषयमा विशेष सरोकार राख्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई भने कुनै वास्ता छैन ।

एकातिर आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दो अर्काे तिर पूर्वाधारको अभावमा समस्यामा थपिनु, जस्को मुख्य कारण बनेको छ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) । पर्यटकहरुको सुविधाको लागि आवश्यक होटलहरु बनाउन नदिनु र उचित नीति तर्जुमा नगर्नुले चुनौती र समस्या सिर्जना भएको स्थानीयहरु बताउँछन् ।

कालिमाटी, सिदिङ, पोथना तथा लान्दु्रक लगायतका स्थानबाट पैदल यात्रा सुरु गरेर ४५०० मिटर उचाइको बेसक्याम्प सम्म पुगेर हिमालको काखबाटै प्रत्यक्ष मनमोहक दृश्य हेर्न सकिने यस ठाउँको विकास र प्रबद्र्धन अपरिहार्य छ । लालिगुरासँका बोटहरुले ढकमक्क ढाकेको वन जङ्गल छिचोल्दै हिमाल नियाल्दै प्राकृतिक सौन्दर्यतासँग रमाउन सकिन्छ ।

बाह्य पर्यटकहरुलाई ३ हजारको दरले प्रति व्यक्ति उठाएपनि पदमार्ग र सो क्षेत्रको विकासमा कही पनि खर्च नगरेको पर्यटन व्यवसायी राम गुरुङको भनाई छ । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायी गुरुङले सम्भावना कै बिचमा जटिल समस्याहरु मौलाइरहेको बताउँदै सो क्षेत्रको विकास र संरक्षणको विषयलाई समायोजन गर्दै अगाडि बढ्नु पर्ने सुनाउँछन् ।

एक्यापले पदमार्ग सुरुहुने चेक प्वाइन्टबाटै माथिका क्षेत्रमा पर्यटकको लागि होटल क्षमता अनुसार पर्यटकलाई पठाएको खण्डमा पर्यटकले सास्ती भोग्न नपर्ने उनको तर्क छ । ‘हामी नेपालीहरु पो रातभरी मादल बजाएरै नाँचेरै भएपनि रात काट्छाँै,’ गुरुङ भन्छन्, ‘तर विदेश पाहुनाहरुलाई बासको व्यवस्था भएन भने होटल पाएनन् भने त नकरात्मक सन्देश जान्छ नि ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.