www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा अलैँचीबाट पाँच करोड आम्दानी,तेस्रो मुलुक बिक्रि गर्ने तयारी

लमजुङ ।

जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका हुन् ।

गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट चार करोड ४८ लाख रुपैयाँ आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो ६०० देखि ८०० सम्म बिक्री भएको थियो ।यस वर्ष प्रतिकिलो ६०० देखि ७५० सम्ममा अलैँची दाना बिक्री गरेको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले जनाएको छ । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो दुई हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए तर अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेनन् ।

Batas

अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो एक हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची दाना बिक्री गर्न बाध्य हुँदै आएका छन् । यस वर्ष २० लाख अलैँची नर्सरी बिरुवा जिल्लामा उत्पादन भएको थियो भने १२ लाख ९९ हजार ५०० बिरुवा बिक्री भएको थियो ।

उक्त अलैँची बिरुवाबाट जिल्लाका कृषकलाई ६४ लाख ९७ हजार ५०० आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा लमजुङका अध्यक्ष अजय तामाङले जानकारी दिए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन गर्नेमा मस्र्याङ्दी गाउँपालिकाका अलैँची कृषक रहेका छन् ।

जिल्लामा ७०० मिटर देखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा गोलसाई र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामसाई र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भने । कृषकले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन् । करीब एक हजार ५६ हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ ।

लमजुङमा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारले कृषकले भने जति मूल्यमा अलैँची दाना बिक्री वितरण गर्न सकेनन् ।लमजुङमा उत्पादित अलैँचीको दाना भारतमा बिक्री हुने गर्दछ । अन्तर्राष्ट्रिय मूल्यअनुसार बिक्री गर्न जिल्लाका कृषक बाध्य हुँदै आएको जिल्ला शाखा लमजुङका अध्यक्ष तामाङले बताए । उनले भने, “आगामी दिनमा भारतमा मात्र नभई तेस्रो मुलुकमा समेत बिक्री गर्ने तयारी भइरहेको छ ।”

गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४० कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो । यस वर्षसमेत केही दिनमा ४० अलैँची कृषक छनोट गरी अलैँची भट्टी वितरण गरिने अलैँची महासङ्घ लमजुङले जनाएको छ । जिल्लामा ३५ हजार अलैँची कृषक रहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.