www.tandavnews.com
Fact ~ In search of truth

गुठी विधेयकले निजी गुठीलाई समाप्त पार्ने

काठमाडौं ।

गुठीसम्बन्धी कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५ ले निजी गुठीलाई समाप्त पार्ने आज काठमाडौं आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् ।

स्वर्गद्वारी आश्रम, नेपाल विद्वत परिषद्, हिन्दू जागरण अभियानलगायतका संस्थाले पत्रकार सम्मेलन गरी संसद्मा पेश भएको गुठीसम्बन्धी विधेयकले गुठीहरूको समस्या समाधान गर्ने नाममा गुठी सम्पदा र सनातन संस्कृतिलाई नियन्त्रण गरी प्राचीन र जीवन्त सांस्कृतिक परम्परालाई समाप्त पार्न खेल भएको बताएका हुन् ।

Batas

पत्रकार सम्मेलनमा स्वर्गद्वारी आश्रमका सदस्य डा .धुव्र श्रीले मूर्त, अमूर्त संस्कृति र परम्पराका रूपमा रहेको गुठी सम्पदाको वास्तविक मर्मलाई विचारै नगरी गुठी विधेयक संसद्मा पेश भएको बताए ।उक्त विधेयक पारित भई लागू भएमा नेपालमा सदियौँदेखि चलिआएका मौलिक संस्कृति, परम्परा, जात्रा, पर्व र सनातन वैदिक यज्ञ परम्परा नाशिँदै जाने उनको भनाइ छ ।

हिन्दू जागरण अभियानका अध्यक्ष रामकृष्ण उपाध्यायले प्रस्तुत विधेयकमा गुठी भनेर केवल गुठीको सम्पत्तिलाई आँखा लगाई गुठीको सम्पत्ति हत्याउन खोज्ने प्रवृत्ति हाबी भएको बताए ।“प्रस्तुत विधेयक संविधानको धारा, २६ को उपधारा, १ मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ भन्ने धार्मिक स्वतन्त्रताको हकको विरुद्धमा छ”, उनले भने ।

नेपाल विद्वत परिषद्का सदस्य उमेश घिमिरेले विधेयकमा उल्लिखित नयाँ मठमन्दिर बनाउँदा सरकारको स्वीकृत लिनुपर्ने प्रावधानले नेपालको मौलिक परम्परा मासिने डर बढ्दै गएको बताए ।विधेयकले देशमा सार्वजनिक जग्गा सकिँदै जाने र देशको सम्पूर्ण भूमि माफियाको कब्जामा जाने अवस्था सिर्जना हुने देखिएकाले देशको सार्वजनिक सम्पत्तिको संरक्षणका निम्ति उक्त विधेयक फिर्ता हुनु आवश्यक रहेको उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.