www.tandavnews.com
Fact ~ In search of truth

कुश्माबजारमा पानीको हाहाकार

पर्वत ।

पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ ।

केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो ।लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन् ।

बजारवासी बिहान सबैरै छिमेकीका घर–घरमा पानीको खोजीमा धाउन बाध्य भएका छन् भने बजार नजिकै रहेका इनार, खोल्सा र खोलामा जान बाध्य भएका छन् ।कुश्मा नगरपालिका–५ बडागाउँको मेलमिलाप चोकमा बस्दै आउनुभएका शिक्षक दुर्गा भुसालले पानीको अभावकै कारण पोशाक धुन नपाउँदा विद्यालय जान नै समस्या भएको बताए ।

अर्का स्थानीयवासी शालिग्राम पौडेलका अनुसार धारामा नियमित पानी नआउँदा खानेपानीको सङ्कट परेको बताए । उनले दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको गुनासो गरे ।दिनको एकपटकसम्म पनि धारामा पानी नआउँदा सदरमुकामबाट झण्डै आधा घण्टा टाढा रहेको दोबिल्लाबाट सवारीमा पानी ओसार्नुपरेको होटल व्यवसायीको गुनासो छ ।

पानीको अभावकै कारण भाँडा सफा गर्न नपाउँदा होटल नै बन्द गर्नुपर्ने स्थिति आएको होटल सञ्चालक सुशीला कुँवरले बताए ।बिहान र बेलुकाको दैनिकी भनेकै पानीको भिक्षा माग्दै हिँड्नुजस्तै भएको भन्दै स्थानीयवासीले कुश्मामा पानी वितरण गर्दै आएको कुश्मा खानेपानी कार्यालयप्रति आक्रोश पोखेका छन् ।

कुश्मा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका उपाध्यक्ष रमाकान्त शर्माले अत्यधिक गर्मी हुँदा पानीका मुहान सुक्नु, पानीको मुख्य मुहान रहेको ठाउँ कुश्मा नगरपालिका–२ खुर्कोटमा धान रोपाइँ शुरु हुनु र बजारका कतिपय ठाउँमा पानीको लिकेज रहेका कारण पानी अभाव भएको जानकारी दिए ।

कुश्मा बजारमा एक दिनमा झन्डै २५ लाख लिटर पानीको खपत हुने गरेकामा अहिले बढीमा १५ लाख लिटर मात्र आपूर्ति भइरहेको छ ।आपूर्ति भएकोमध्ये पनि झन्डै ३० प्रतिशत पानी पाइप फुट्नुलगायतका कारण बीचमै लिक हुने गरेको कार्यालयले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.