www.tandavnews.com
Fact ~ In search of truth

भियतनाम, कम्बोडिया र थाइल्याण्डमा बौद्ध धार्मिक पर्यटन प्रर्वद्धन

काठमाडौं ।

नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा स्थापित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा प्रर्वद्धनात्मक अभियान चलाएको छ ।

उदीयमान पर्यटन बजारको रूपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाइल्याण्डमा बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल)सँगको सहकार्यमा नेपाल गन्तव्य प्रर्वद्धन गरेको हो ।बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार र एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रर्वद्धन गर्ने उद्देश्यका साथ ‘नेपाल सेल्स मिसन २०१९’ कार्यक्रम क्रमशः यही जुन १०, १२ र १४ तारिखका दिन सम्पन्न गरिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

Batas

सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष २०२० लगायत नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तव्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तव्यको रूपमा सहभागीमाझ प्रस्तुतिकरण गरेका थिए ।सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपालसम्बन्धी प्रर्वद्धनात्मक वृत्तचित्र पनि देखाइएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले सरकारले नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीलाई थप व्यावसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरे ।

सोट्टो नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द्रको रूपमा नेपाल भ्रमण ‘प्याकेज’ बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिलाई अनुरोध गरे ।उक्त अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेन्ह र थाइल्याण्डको बैङ्ककमा व्यावसायिक गतिविधि विस्तारका सम्बन्धमा छुट्टाछुट्टै अन्तरक्रियासमेत भएको बोर्डले जनाएको छ ।

नेपाली राजदूतावास बैङ्ककको सहकार्य एवं समन्वयमा बैङ्ककमा आयोजना गरिएको नेपाल साँझ २०१९ मा थाइल्याण्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकालले नेपाल र थाइल्याण्डको ६० वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको स्मरण गर्दै थाइल्याण्डका जनतामा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकाले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीलाई अनुरोध गरे ।

लुम्बिनीका लागि सद्भावनादूत विक्रम पाँडे काजीले बुद्धको जीवन र ‘बुद्धिष्ट सर्किट’ को विषयमा गहन प्रस्तुति दिएका थिए ।सन् २०१८ मा भियतनामबाट कूल १२ हजार ४५४, कम्बोडियाबाट तीन हजार ७९० र थाइल्याण्डबाट ५३ हजार २५० पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्याङ्क छ ।

नेपाल वायुसेवा निगमले हप्तामा तीनपटक काठमाडौँ–बैङ्कक–काठमाडौँ हवाईसेवा सञ्चालन गरिरहेको छ । यो सहज आवागमनले यी देशबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.