www.tandavnews.com
Fact ~ In search of truth

इन्द्रचोक हो की अस्पताल ?

पोखरा, ताण्डव न्यूज । 

मानिसहरुको हुल कि बजारमा हुन्छ, कि मेला महोत्सव, जात्रामा हुन्छ । गाउँघर तिर, मानिसको धेरै हुल भए काठमाडौँको इन्द्रचोक सम्झने चलन छ । किनकी इन्द्रचोक जतिबेला पनि मानिसको भीडले भरिएको हुन्छ । मानिसहरु धकेलाधेकल । पोखरामा यस्तो ठाउँ छ, जहाँ न कुनै मेला लाग्नु पर्छ, न त्यो काठमाडौँको इन्द्रचोक नै हो । यो त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हो । त्यहाँ उपचारको लागि कसैलाई लिएर जानु भयो भने बिरामीको साथी नै विरामी हुने अबस्था हुन्छ ।

पालो कुर्न घण्टौँसम्म ठेलमठेल

Batas

स्याङ्जाका बिनोद फेवाली मगर आफ्नी श्रीमती मिनालाई लिएर गर्भवती परिक्षणको लागि आए । गत बिहीबार अस्पतालमा भेटिएका उनले अस्पतालको यत्तिको भीड जिन्दगीमै पहिलो पटक देखेको सुनाए । ‘देश विदेश धेरै ठाउँ गइयो अस्पतालमा यस्तो भीड मैले अहिलेसम्म देखेको थिइन,’ उनले भने, ‘टिकट लिन उत्तिकै भीड, जचाउन जाने ठाउँमा उत्तिकै, अनि औषधी लिनुपरे त्यहाँ पनि उत्तिकै । म लाईन मात्रै तीन घण्टा बसेँ होला । अनि बल्ल पालो आयो ।’

पुग्दीभुम्दीकी दुर्गा लामिछाने युरिक एसिक जचाउँन सोमबार बिहानै क्षेत्रीय अस्पताल पुगिन । बिहान ९ बजे कुपन लिएर पालो पर्खेकी उनी २ बजेसम्म लाममै थिइन् । ‘खै कतिखेर पालो आउँछ थाहा छैन्,’ उनी भन्दै थिइन्, ‘अस्पतालले बिरामी व्यवस्थित गर्न नसक्दा दुख पाइयो ।’

हेम्जाका गंगाराम पौडेल गर्भवती श्रीमतीको स्वास्थ्य परीक्षण गराउन पुगेपनि बेलैमा पालो नआएपछि आक्रोश देखिन्थे । पौडेल भन्दै थिए, ‘सरकारको लापरबाहीले गर्भवती महिलालाई समस्या बनाएको छ ।’ बिहान ८ बजे अस्पताल आएका पौडेल दिउँसोसम्मै लाइनमा थिए । ‘गर्भवती मान्छे यसरी लाइनमा बसेर कसरी परीक्षण गराउन सक्छन्,?’ उनले भने, ‘गर्भवती चेकजाँच गर्ने भनेपछि उचित रुपमा व्यवस्थापन गर्नुपर्छ । त्यसमा कमजोरी देखियो ।’ उनले कुपन लिने कर्मचारीको व्यवहार समेत ठिक नलागेको बताए । ‘कर्मचारीले थर्काउँछन्, कस्तो व्यवस्थापनपन हो यो,’ उनले प्रतिप्रश्न गरे ।

विनोदले जस्तै समस्या धादिङ घर भएका पोखरामै बस्ने मनमाया तामाङले पनि बेहोरिन । उनी आफ्नो छोराको हात भाँचिएपछि प्लास्टर खोल्न आएकी थिइन । उनले प्लास्टर खोल्नका लागि दुई दिन अस्पताल धाउनु प¥यो । अघिल्लो दिन टिकट काटेर प्लास्टर खोल्न लाइनमा बसेपनि बस्नु मात्रै भयो । त्यो दिन पालो नै आएन । भोलिपल्ट त्यो पनि ११ बजे तिर मात्रै पालो आयो । ठाउँ अभावले एकै ठाउँमा धेरै प्रकारका विरामी राखेर उपचार गराउन परेकोले पनि समस्या भएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

भीडले हतारको उपचार

गोरखाको च्याङ्लीका गोपीबहादुर कुमाल गत मंगलबार उपचारको लागि अस्पताल आए । आफ्नी श्रीमतीको पाठेघरको उपचारको लागि आएका उनलाई टिकट लिन मात्रै एक दिन लाग्यो । भोलिपल्ट टिकट लिएर लाइनमा बसेको चार घण्टा पछि पालो आयो । चार घण्टा लाइनमा बसेर भित्र छिरेकी उनकी श्रीमती पाँच मिनेटमै बाहिर निस्किइन । कुमालको अनुभवका आधारमा भन्ने हो भने अस्पतालको भीड पहिलो समस्या हो । दोस्रो आफन्तवादले उपचारमा पनि समस्या भएको छ ।

‘मन लाग्दी रैछ । प्राथमिकताको आधारमा परिक्षण हुँदैन,’ उनले भने, ‘गेटमा बस्नेले अपराध गरेर आएको जस्तो ब्यवहारमा थर्काउने । नमिठो बोल्ने । डाक्टरले पनि राम्रोसँग हेरेनन् । बेडमा सुताएर पेट छामेर पठाए । कुनै सल्लाह सुझाब दिएनन । भिडियो एक्सरे गर्नुपर्छ मात्रै भने ।’ त्यहाँ जाँच गर्ने चिकित्सकले भिडियो एक्सरेको लागि प्राइभेटमा रिफर गर्छन । चिकित्सकहरुले रिफर गर्ने अस्पतालहरु उनीहरुले त्यहाँबाहेक पार्ट टाइम काम गर्ने ठाउँ हुन्छन् ।

दैनिक १२ सय विरामी

गण्डकी अस्पतालको ओपीडीमा दैनिक १२ सय हाराहारी विरामी आउने अस्पतालको रेकर्ड छ । साघुरो ठाउँ, भवनहरु पर्याप्त नभकै कारणले पनि मानिसहरुले थप सास्ती बेहोरिरहेका छन् । अस्पताल प्रमुख अर्जुन आचार्य भन्छन्, ‘अहिले अस्पतालमा दैनिक १२ सय हाराहारी विरामी आउँछन् । भवनहरु अपुग छ । ४० वर्ष अघि बनाएको संरचनाले अहिलेसम्म जसोतसो धानेको छ । अहिले प्यासेन्टका फ्लो बढेको छ ।’ मानिसहरुको भीडको कारणले नै अस्पतालको कुनै पनि कक्षमा अहिले सहजै उपचार पाउन सक्ने अबस्था छैन ।

५ सय बेडको स्वीकृत ३८० सञ्चालन

मुख्यकुरा त चिकित्सक तथा कर्मचारीहरु दरबन्दी अनुसारका छैनन् । ५ सय शैयाको स्वीकृत भएको यस अस्पतालमा जम्मा ३ सय ८० शैयामात्रै सञ्चालनमा छ । ४० वर्ष अघि बनेको संरचनाहरु थपिएका छैनन् । अस्पतालमा जम्मा डेढसय चिकित्सकहरु छन् । यहाँको दरबन्दी कायम भएका केहि चिकित्सकहरु काज मिलाएर कोही राजधानी त कोहि विदेशमा छन् । अस्पतालमा जम्मा ६ सय १ कर्मचारी छन् । ‘चुनौतीहरु धेरै छन्,’ आचार्यले भने, ‘यसलाई केहि सहज बनाउन हामीले आन्तरिक गृहकार्यहरु गरिरहेका छौँ ।’ अहिले अस्पतालको हाताभित्रै रहेका केहि सरकारी भवनहरु खाली हुन सके समस्या केहि हल हुने अनुमान अस्पताल प्रशासनको छ । अस्पतालको जग्गामा अहिले विभिन्न सरकारी कार्यालयका कर्मचारीको आवास गृह छ ।

प्रदेशले माग्यो,संघले दिएन

गण्डकी प्रदेश सरकारले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकार मातहतमा दिन धेरै अघि देखि नै संघ सरकारसँग माग गरेको थियो । तर, संघ सरकारले यसविषयलाई वास्ता नगरेको प्रदेश सरकारका मातहतका मन्त्रालयहरु बताउँछन् ।

क्षेत्रीय अस्पताल केन्द्रीय सरकारको माताहतमा रहँदा जनतालाई सेवा सुविधा दिन नसकेको भन्दै प्रदेश सरकारको मातहतमा दिन मन्त्री परिषदको बैठकबाटै निर्णय गरेर आग्रह गरिएको थियो । संघीय सरकारको मातहतमा अस्पताल हुँदा अस्पताललाई आवश्यक मेसिनहरू खरिद नगर्दा विमारीले दुःख भोग्नु परिरहेको छ ।

प्रदेश सरकारले गण्डकी प्रदेशमा एक हजार शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय भए बमोजिम नै अस्पताललाई आफ्नो मातहतमा ल्याएर एक हजार शैयाको अस्पताल बनाउने योजना प्रदेश सरकारसँग छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले संघ सरकारलाई अस्पताल नै प्रदेशलाई जिम्मा दिन आग्रह गर्दा नसुनेझैँ गरेको बताइन् ।

‘यो अहिले संघकै अघिकार क्षेत्र भित्र छ । संघीय सरकारलाई प्रदेश मातहत ल्याउन मैले पटक– पटक भनेको छु,’ उनले भनिन्, ‘हैन भने अनुगमनको जिम्मा प्रदेशलाई दिनुस भनेका छौँ । केन्द्रमा मन्त्री ज्यूलाई भन्दा हुन्छ भन्नुहुन्छ व्यवहारमा हुँदैन ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.