www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध दुर्व्यसनी सुखी नेपालीको बाधकः गृहमन्त्री थापा

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुर्व्यसनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन् ।

समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज राजधानीमा आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उनले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुर्व्यसनलाई रोक्नुपर्ने बताए ।

Batas

‘शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध रहेको छ, यसलाई नियन्त्रण गर्न सरकारी र गैरसरकारी संस्थाको उत्तिकै दायित्व छ,’ उनले भने । लागुऔषध दुर्व्यसनी रोकथामका लागि तीनै तहको सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

गृहमन्त्री थापाले लागुऔषध दुर्व्यसनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृहमन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको उल्लेख गरे ।

लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत काम गरिरहेको उनको भनाइ थियो ।

लागुऔषध दुर्व्यसनीमा युवापुस्ता बढी लागेको भन्दै शैक्षिक संस्थामा जागरुकता बढाउन मन्त्रालयले काम गरिरहेको उनले उल्लेख गरे ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएको बताउँदै लागुऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न सप्ताहव्यापी अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि हुनुका साथै कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित रहेको छ, यसलाई रोकथाम गर्नु हामी सबैको दायित्व हो,’ उनले भने ।

हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेको भन्दै यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने उनको भनाइ छ । सचिव राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न लागुऔषध दुर्व्यसनी समस्याको समाधान गर्नु जरुरी रहेको बताए ।

गृहमन्त्रालयका सहसचिव एवं मुख्य लागुऔषध नियन्त्रण अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले नेपालमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको बताउँदै यसलाई रोकथाम गर्न सचेतनामूलक कार्यक्रम व्यापकरूपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले लागुऔषध नियन्त्रण गर्न विगतमा भएका कमी कमजोरीलाई सच्याएर सरकारले १० वर्षे कार्ययोजना बनाएर अगाडि बढाउनुपर्ने बताए । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको क्षमता अभिवृद्धि गर्नुुपर्ने उनको भनाइ थियो ।

सहसचिव शर्माले लागुऔषध नियन्त्रणका लागि विभिन्न गैरसरकारी संस्थाले ल्याउने कार्यक्रममा नेपालको प्राथमिकता केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लागुऔषध दुरुपयोगसम्बन्धी नाटक, कविता, वतृत्वकला प्रतियोगिता सम्पन्न गर्नुका साथै गृहमन्त्रालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको ‘सुरक्षित जीवन’ स्मारिकाको विमोचन गरिएको थियो ।

अभियानका अवसरमा भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, एनएसी, रत्नापार्क हुँदै राष्ट्रिय सभागृहसम्म पदयात्रा गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घ महासभाबाट पारित भई विश्वभर ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउन थालिएअनुसार नेपालमा पनि जुन २६ मा उक्त दिवस मनाउँदै आइएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.