www.tandavnews.com
Fact ~ In search of truth

शीतल गुफालाई पर्यटकीय गन्त्व्य बनाउन लागिपरे कास्की झोवाङका स्थानिय

हरि बाँस्तोला,
पोखरा ।

ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ ।

कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् ।

Batas

पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित प्राचीन गुफामा आवश्यक भौतिक संरचनाको विकाससहित प्रचारप्रसारमा जोड दिइएको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका सचिव चुडामणि शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार दुई सय पचास मिटर लम्बाइको सो गुफाको प्रवेशद्वारमा परम्परागत कुटानीपिसानीका साधन ढिकी र जाँतो, १०८ पाला, पञ्चेबाजालगायत केही भित्र गएपछि शिव, सिद्धिविनायक, बूढानीलकण्ठलगायतका विभिन्न देवदेवीका आकृति स्पष्ट देख्न सकिन्छ ।

गुफाको केही भित्र गएपछि करीब १० मिटरको उचाइमा भर्याङमार्फत दोस्रो तल्लामा प्रवेश गरिने बताउँदै उनले २०३७ सालमा शीतला मावि विरेठाँटीका प्रअ शिव पौडेल विद्यार्थीसहित पहिलो पटक प्रवेश गरेपछि मात्रै गुफा पत्ता लागेको हो ।

सडकदेखि ५० मिटरको दूरीमा रहेको गुफासम्म पुग्न पदमार्ग, आवश्यकताअनुसार फलामे भर्याङ, प्रवेशद्वारमा फलामे च्यानल गेट निर्माण गर्ने तयारी भइरहेकोे शीतल गुफा निर्माण समितिका अध्यक्ष उमालाल पौडेलले जानकारी दिए ।

गुफाभित्र फराकिलो रहेको कारण ओहोरदोहोरमा खासै अप्ठेरो नपर्ने बताउँदै उनले विद्युत् लाइन विस्तार गरिने जानकारी दिए ।योसँगै गुफामा आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास लिइएको छ ।

गुफाको विकासका लागि गण्डकी प्रदेश सरकारबाट सात लाख र डिभिजन वन कार्यालयबाट पाँच लाख प्राप्त भएको उनले जानकारी दिए ।उनका अनुसार गुफा परिसरमा पार्किङ एवम् गुफामा आउने पर्यटकको सुविधाका लागि खानेपानी, शौचालयसमेत निर्माण गरिनेछ ।

पोखराबाट लगभग ४० किलोमिटरको दूरीमा रहेको सो गुफाभित्र प्रशस्त चमेरा रहेको ६८ वर्षीय स्थानीय बासिन्दा नरहरि पौडेल बताउछन् ।गाउँमा कोदोको बीउका लागि गुफामा प्रवेश गरेर चमेराको मल ल्याउने गरेको अनुभव सुनाउँदै उनले यो मल राखेपछि बीउ सप्रने गरेको स्मरण गराए ।

सो गुफामा विशेषगरी परम्परादेखि नै बालाचतुर्दशीमा सद्बीज छर्ने र शिवरात्रिमा गाईको दूध चढाउने श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले गुफाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

गाउँपालिकाका विकास निर्माणका गतिविधिको अनुगमनका सिलसिलामा सो स्थानमा पुगेका उनले गुफाको विकाससँगै पर्यटन प्रर्वद्धन गर्न सके स्थानीय बासिन्दाको आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सुगम स्थानमा रहेर पनि प्रचारप्रसारमा आउन नसकेको अलौकिक उक्त गुफाको व्यवस्थापनसँगै प्रचारप्रसारमा जोड दिनुपर्ने बताउँदै उनले यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी प्रदेश सरकारले ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरी व्यवस्थापनमा जुटिरहेको वर्तमान अवस्थामा शीतल गुफालाई थप गन्तव्यका रुपमा विकास गर्नुपर्ने स्थानीय बासिन्दाको सामूहिक माग छ ।

पर्वत, बागलुङ, म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङसम्म दैनिक सयौँको सङ्ख्यामा यातायातका साधन ओहोरदोहोर गर्ने पोखरा–बागलुङ सडकमा रहेको उक्त गुफा धार्मिक एवम् आन्तरिक तथा बाह्य पर्यटकको छुट्टै एउटा आकर्षक गन्तव्य सम्भावना बोकेको जिल्ला समन्वय समितिका सदस्य तोरणबहादुर बानियाँको धारणा छ ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी विभिन्न अभियान सञ्चालन गर्नाका साथै सङ्घीय सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणासहित कार्यान्वयनको तयारी गरिरहेको वर्तमान अवस्थामा शीतल गुफा जस्ता मुलुकका प्राकृतिक सम्पदाको भरपुर उपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.