पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुलाई महानगरको गेटमा लगाएको ताला खोल्न आग्रह गरेका छन् ।
शुक्रबार महानगरमै पत्रकार सम्मेलन गरेर प्रमुख जिसीले छलफलमा आउन महानगरको मुल गेटमा लगाएको ताला खोल्न आग्रह गरेका हुन् । केहि दिन अघि महानगरले प्रस्तुत गरेको बजेटमा कांग्रेसबाट निर्वाचित प्रतिनिधी भएको वडामा भेदभाव गरेको भन्दै महानगरको मुलगेटमा ताला लगाएका थिए । उनीहरुले बिहीबार रातो किताब च्यातेर पनि विरोध जनाएका थिए ।
महत्वपूर्ण योजनाहरु छुटेको भए थपघट गर्न सकिने भन्दा पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले अनावश्यक विरोध जनाईरहेको मेयर प्रमुखले बताए । ‘मुलगेटको ताला खोल्नुस् छलफल गरेर टुंग्याउँ भनेको छु उहाँहरु मान्नु भएको छैन,’ मेयर जीसीले भने, ‘महत्वपूर्ण योजनाहरु भए थपघट गरौँ । परिवर्तन गरौँ, प्रभावकारी विकासमा लागौँ भन्दा मेयरको पाराले दुख पाए साराले भनेर गेटमा नारा लगाएर हुन्छ ?’
पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट ल्याएको छ । बजेट माथी छलफल नै नगरी एकलौटी ढंगबाट मेयरले पारित गरेको कांग्रेसबाट निर्वाचितहरुको आरोप छ । मेयरले प्राथमिकताको आधारमा वडाहरुमा बजेट विनियोजन भएको समेत बताए । ‘बजेट वितरण गर्दा यो कांग्रेसको, यो अर्काे पार्टीको भनेर गरिएको छैन,’ उनले भने, ‘साच्चै हेर्ने हो भने कतिपय वडामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी भएको वडामा बजेट धेरै छ । हामी सबै पोखराको विकास होस् भन्ने चाहनेहरु अनेक लफडामा लागेर हुँदैन ।’
पोखरा महानगरले फेवाताल संरक्षण, तालचोक खुदी मुहान चार लेनको सडक, सेतीखोँचमा पर्यटकीय गतिविधि, डेभिजफल्समा सिसाको पुल, आँटी मोटरबाटो, लेखनाथको जन्म घरलाई साहित्य सृजनाको थलो, महानगरका विभिन्न कनेक्टिङ रोडहरु, भूउपयोग नीतिलाई यस वर्ष आफ्नो गौरवको योजनाको रुपमा लिएको उनले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.