www.tandavnews.com
Fact ~ In search of truth

एम्नेष्टि इन्टरनेशनल नेपालद्धारा मृत्युदण्डको विरोध

काठमाडौँ ।

एम्नेस्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले यही असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लागुऔषधको अपराधमा कारागारमा रहेका चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयनका लागि अधिकारपत्रमा हस्ताक्षर गरेकोप्रति शान्तिपूर्ण विरोध गरेका छन् ।

उक्त संस्थासहित एड्भोकेसी फोरम, जवाफदेहिता निगरानी समूह, जुरी नेपाल, द्वन्द्वपीडित साझा चौतारीलगायत सङ्घसंस्थाले आज काठमाडौँको महाराजगञ्जस्थित श्रीलङ्काली दूतावास अगाडि पुगेर सो विरोध गरेका हुन् ।

Batas

श्रीलङ्काली सरकारले विगत ४३ वर्षदेखि मृत्युदण्ड दिन रोक लगाएकामा यही असार ११ गते एक सूचना सार्वजनिक गरी ती चार जनालाई ‘सफाया’ गर्ने घोषणा गरेको थियो ।एम्नेष्टी नेपालका निर्देशक निराजन थापाले २१ औँ शताब्दीमा पनि मुत्युदण्डजस्तो पाशविक र अमानवीय सजायलाई अङ्गीकार गरिराख्नु आधुनिक समाजका लागि एक लज्जाको विषय भएको बताए ।

“जुनसुकै प्रकृतिको अपराध भए पनि र जस्तोसुकै परिस्थति भए पनि कुनै पनि अपराधमा सजायस्वरुप मृत्युदण्ड दिन हुँदैन ”, उनले भने, “मृत्युदण्डको प्रावधानले गरीबी र न्यून जीवनस्तरका मानिसलाई असमानुपातिक रुपमा असर पर्ने मात्र होइन, यस्तो व्यवस्थाले निर्दोष मान्छेसमेत मृत्युदण्डको शिकार हुने जोखिम हुन्छ ।”

एम्नेष्टीसहितको समूहले नेपालका लागि श्रीलङ्काका राजदूत शोर्ना परेरालाई समेत भेटेर मृत्युदण्डको व्यवस्थाले व्यक्तिको मानवअधिकार र खासगरी बाँच्न पाउने अधिकार तथा यातनाविरुद्धको अधिकार उल्लङ्घन हुने हुँदा श्रीलङ्काली सरकारको यस अमानवीय र आपत्तिजनक निर्णयप्रति ध्यानाकर्षण गराएको थियो ।

राजदूत परेराले आफूले यस विषयमा श्रीलङ्काली सरकारसमक्ष जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणालगायत मानव अधिकारसम्बन्धी अन्य दस्तावेजले मानिसको बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.