www.tandavnews.com
Fact ~ In search of truth

चट्याङले लुटेको दृष्टि

उमा विक
पोखरा, ताण्डव न्यूज । 

ताते ताते गर्ने सानै उमेरमा आँखाको दृष्टि गुम्न पुग्यो । बर्खायामको बेला चट्याङले आँखाको ज्योति लुट्यो । केहीबेर अघिसम्म देखिरहेको उज्यालो संसार आँखाको एकै निमेषमा अन्धकार बन्यो ।

साविक धिताल गाविस, हालको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ का सूर्य परियार, जन्मिँदा सद्दे आँखा लिएर जन्मेका थिए । तर ३ वर्षको उमेरदेखि उनी दृष्टिविहीन बन्न पुगे । चट्याङले दृष्टि लगिदिएपछि उनी उपचारका लागि डाक्टर कहाँ नपुगेका होइनन् । डक्टरले आँखाको नानी नै छैन र यसको उपचार त हुने तर ज्यादै खर्चिलो हुने भने पछि सूर्यको बाहिरी दृष्टि सदाको लागि हरायो ।

Batas

उपचार गरेको भए सायद देख्न सक्ने हुन सक्थे तर उपचार खर्चिलो भएको कारण आँखाको उपचार गर्न सकेन उनको परिवारले । परिवार सामान्य कृषिमा आधारित थियो त्यसैले पनि उपचार गर्ने खुबी थिएन परिवारको ।

चट्याङले संसार देखाउने उनको दृष्टि त खोस्यो खोस्यो, उनलाई यो संसारमा ल्याउने आमालाई उनको आँखाको ज्योतिसँगै लिएर गयो ।

दृष्टिबिनाको बालापन

अन्य बालबालिकाको जस्तो बालापन उनको भएन । साथीभाइ बनाउने, चकचक गर्ने, खेल्ने भन्ने नै भएन ।  आँखा देख्न नसक्ने भएको कारण बाल्यकाल पृथक बित्यो उनको । घरबाट बाहिर निस्किन पाउँदैन थे उनी । जसले गर्दा साथीभाइसँग घुममिल हुन सक्दैनथे । बाल्यकाल एक्लै घरभित्रै बित्यो । दृष्टिविहीनप्रति सकारात्मक सोच नहुँदा सँगै अन्य साथीसँग भावना साटेर खेल्न सक्ने अवस्था पनि थिएन उनको ।

जब सूर्य दृष्टिविहीनले पढ्ने विद्यालयमा भर्ना भए त्यतिबेला बल्ल उनको बाल्यकाल सुरु भयो । सूर्य सम्झन्छन््, ‘त्यतिबेला बल्ल थाहा भो हाम्रो संसारमा हामी पनि नाच्न, गाउन, खेल्न मिल्दो रहेछ, सक्ने रहेछाँै भन्ने ।’ आफू जस्तै साथीहरु भेटेपछि उनले पनि भावना साट्ने साथी पाए ।

उनी पढ्नका लागि पोखरा आएका थिए । उनले पढ्ने समयमा ब्रेल पुस्तक नहुँदा धेरै नै कठिनाइ भयो । ५ कक्षा सम्म त पढे तर उनीहरुले पढ्ने पुस्तक नहुँदा केही समय पढाइलाई निरन्तरता दिन सकेनन् । उनी एब्बलहरुसँग बसेर पनि केही समय पढे । साथीहरुले पढेको कुरा सुनेको आधारमा पढ्थे तर त्यसरी पढ्न सम्भव नहुँदा पढाइ रोकियोे ।

पछि गाउँकै उनको ठूलाबुबा पर्ने कृष्ण अधिकारी जो शिक्षक थिए । उनकै सहयोगले सिट फाउन्डेसनका अध्यक्ष दामोदर थापासँग सूर्यको भेट भयो । उनले सूर्यलाई पढ्न सहयोग गरे । सूर्यले ब्याचर पास गरेका छन् ।

मिडियामा कसरी ?

उनलाई दृष्टिविहीन भएकै कारण पछाडि बस्नु थिएन । सानैदेखि दृष्टिविहीनले पनि गर्न सक्छन् भन्ने देखाउनु थियो उनलाई । गाउँमा रेडियो सुन्दा उनलाई रङ्ग लाग्थ्यो । आफू नि त्यसरी नै रेडियोमा बोल्न पाए, सबैलाई मेरो आवाज सुनाउन पाए भन्ने लाग्थ्यो ।

कक्षा ९ मा पढ्दादेखि उनलाई मिडियामा काम गर्न रहर जाग्यो । उनी स्मरण गर्छन्, ‘त्यो बेला रुममा बसेर रेडियोमा बोल्ने आर्जेहरुको कपि गर्थे,’ उनी थप्छन्, ‘अनि हामीले पनि गर्न सक्छाँै भन्ने कुरा मिडियाको थ्रु देखाउन मन थियो, त्यसैले पनि अहिले म मिडियामा छु ।’

२०६२ सालमा नमुना मल्टिमिडिया भन्ने इन्स्टिच्युड पोखरा सिर्जना चोकमा खुलेको थियो त्यसले निःशुल्क उद्घोषण तालिम दिएको थियो । सूर्य होस्टेल बसेर पढ्दै थिए । त्योबेला ब्रेकको टाइममा रेडियो अन गर्दा उद्घोषण तालिमको विज्ञापन सुने ।

उनलाई तालिम लिन जानु थियो तर स्कुल पनि पढ्दै थिए । २१ दिनको ट्रेनिङ थियो । उनले टे«निङ जानको लागि स्कुलमा बहाना बनाउन थाले । कहिले टाउको दुख्थ्यो, कहिले पेट त कहिले ज्वरो आउथ्यो । यस्तै बहाना गरि स्कुलबाट निस्केर उनले ट्रेनिङ लिए ।
त्यही ट्रनिङ उनको करियरको कोसेढुङ्गा सावित भयो । उनी लगनशील थिए उनको लगनशीलता देखेर पत्रकार सुष्मा पौडेल र गोविन्द सिन्जालीले उनलाई तिमी गर्न सक्छौ भन्दै सधैँ हौसला दिन्थे । त्यही हौसलालाई आत्मसात् गर्दै सूर्य अगाडि बढे ।

२०६४ सालमा पोखरा एफएममा खोजमूलक कार्यक्रम ‘समानताको सन्देश’ भन्ने कार्यक्रमसँगै उनको करियर सुरु भएको थियो ।
उनी करियरको सुरुवाती दिन सम्झदैँ भन्छन्, ‘पहिलो कार्यक्रम मै मैले बे्रल लिपी (हातले छामेर)इन्फमेसन दिई लाइभ कार्यक्रम गरेको थिए , मलाई त्यो समय गर्न सकिने रहेछ भन्ने लागेको थियो ।’

त्यो भन्दा अगाडि उनले माछापुच्छ्रे एफएममा साङ्गीतिक कार्यक्रम गर्थे । हाल १२ वर्ष भयो सूर्यले मिडियामा काम गरेको । उनी अहिले थ्रि एन्जस कम्युनिटी रेडियोमा आबद्ध छन् ।

दृष्टि नहुँदाको समस्या

दृष्टि हुनेले उनीहरुलाई समस्या छ भन्ने लाग्न सक्छ तर सूर्य भन्छन्, ‘आँखा नदेख्दा समस्या छैन हामीलाई तर अन्य व्यक्तिलाई शतप्रतिशत समस्या छ ।

सबैको सोचाइ आँखा नदेख्दा यो लड्ला, चोटपटक लाग्ला, यसको काम अरु कसैले गर्दिनुपर्ला भन्ने लाग्छ तर हामी सबै गर्न सक्छौ,’ उनी थप्छन्, ‘बाहिरी आँखा बन्द भएको हो भित्री समझको आँखा खुलै छ , त्यसैले हामी गर्न सक्छाँै ।’ आँखा देख्ने भएको भए भन्ने उनलाई नलाग्ने होइन तर चाहेर पनि देख्न सक्ने होइन । उनलाई लाइफ यहाँसम्म ल्याइसकियो, अब ठूला कुराको कल्पना नगर्दा हुन्छ भन्ने हुन्छ ।

मागेरै खाने होइन

सूर्यलाई जीविका चलाउन गाह्रो थियो सुरुवाती दिनमा । उनले रेडियोमा साप्ताहिक कार्यक्रमको ३ सय रुपैयाँ, घण्टाको ७५ रुपैयाँ बाट काम सुरु गरेका थिए । त्यति पैसाले चल्न सक्ने अवस्था थिएन तर त्यतिले नै धानिएर काम गर्थे । अहिले मिडियामै काम गरेर पनि राम्रै कमाइ गर्छन् उनी । मिडियामा काम गर्दा उनले प्रोत्साहन पाइरहेका छन् र उनको क्षमताले स्थान पनि पाइरहेको छ ।

अहिले उनी दोहोरी साँझमा गीत गाउने काम पनि गर्छन् । पछिल्लो समय पोखराका गल्लीदेखि मुख्य सडकका चोकमा दृष्टिविहीनहरुले गीत गाइरहेको देख्छौँ । यस प्रति उनको गुनासो छ । उनी भन्छन्, ‘ उनीहरुको सडक सङ्गीतले राम्रै गरेर खाने दृष्टिविहीनहरुलाई धक्का लागेको छ । दृष्टिविहीन मागेरै खाने हुन् भन्ने वातावरणको अन्त्य गर्नुपर्छ । सडक सङ्गीतलाई मर्यादित बनाउनुपर्छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.