www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा हतारमा आठौं राष्ट्रपति रनिङ शिल्ड

अर्जुन कार्की ,
बागलुङ/ताण्डव न्यूज

 

आर्थिक वर्षको समापन हुन केहि दिन बाँकी रहँदा बागलुङमा बर्षातको समस्या र हतारै हतारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

शुक्रबार जिल्ला खेलकुद विकास समितिले हतार हतार पत्रकार सम्मेलन गरेर आठौं राष्ट्रपति रनिङ शिल्डको जिल्ला छनौट असार २३ र २४ गते गर्ने बारेमा जानकारी गरायो ।

Batas

नेपाल सरकार खेलकुद मन्त्रालयले यस वर्षदेखि स्थानिय तहहरुमै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्नको लागि १–१ लाख रुपैयाँ बजेट विनियोजत गरेर परिपत्र जारी गरेपनि असारको विचसम्म पनि बागलुङका चार ओटा स्थानिय तहहरुले मात्र प्रतियोगिता सम्पन्न गरेका छन् ।

बागलुङका चार नगर र ६ गाउँपालिकाहरु मध्ये अहिलेसम्म गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले मात्र प्रतियोगिता सम्पन्न गरिसकेका छन् । तर अन्यस्थानिय तहहरुले भने अहिलेसम्म कुनै चासो देखाएका छैनन् ।

असार १६ गते राष्ट्रिय खेलकुद परिषद्ले नेपालभरका सवै जिल्लाहरुलाई जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चाडो सक्न र जिल्ला छनौट पछि प्रदेश छनौट र राष्ट्रिय प्रतियोगिता असार महिना भित्र गर्न परिपत्र जारी गरेपछि बागलुङमा प्रतियोगिताको आयोजना गरिएको हो ।

बागलुङमा २३ र २४ गते हुने आठौं राष्ट्रपति रनिङ शिल्डमा शुक्रबारसम्म बागलुङका ६ ओटा स्थानिय तहहरुका विद्यालयहरुले मात्र सहभागिता जनाउने खबर प्राप्त भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले जानकारी दिए ।

‘हामीलाई राखेपले १६ गते परिपत्र गरेपछि बागलुङमा राष्ट्रपति रनिङ शिल्ड गरेका स्थानिय तहहरुसँग सम्पर्क गयौं र जिल्ला छनौटमा पठाउनको लागि अनुरोध गरेका छौं,’ अध्यक्ष परियारले भने–‘हालसम्म ४ ओटा स्थानिय तहहरुले मात्र प्रतियोगिता सम्पन्न गरिसकेको भएपनि असार २२ गते बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले पनि प्रतियोगिता गर्ने जानकारी दिएपछि ६ स्थानिय तहको सहभागिता हुने निश्चित भएको हो ।’

अध्यक्ष परियारले जैमिनी नगरपालिकासँग सम्पर्क भएर हुन्छ भनेपनि फाइनल निर्णय नदिएको बताए । असारको विचमा प्रतियोगिता गर्नको लागि राखेपले निर्देशन दिएपछि अहिले जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको निद्रा हराम भएको छ ।

असारको मौषममा पानी कति खेर पर्छ थाहा हुँदैन साथै अहिले जिल्लाका सरकारी विद्यालयहरु विदा भएको र निजी विद्यालयहरुमा परिक्षा संचालन भइरहेकाले विद्यालयहरुलाई प्रतियोगितामा सहभागिता गराउन हम्मेहम्मे परिरहेको छ ।

आर्थिक वर्षको समापन हुन लाग्दा राष्ट्रिय खेलकुद परिषदले पैसा सक्नको लागि कार्यक्रम गर्न भनेको जस्तो गरेर बल्ल रनिङ शिल्ड प्रतियोगिता गर्न निर्देशन दिएपछि अहिले हतारै हतारमा प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिए ।

उनले स्थानिय तहहरुले बजेट खातामा आउँदा पनि खेलकुदको बारेमा कुनै चासो नदिदा अहिले समस्या सिर्जना भएको पनि बताए ।

अध्यक्ष परियाले भने–‘प्रतियोगिता संचालनको लागि राम्रो होमवर्कको जरुरी पर्छ तर अहिले ३, ४ दिनमै गरिसक्नुपर्ने बाध्यता आईपर्दा रेफ्रि खोज्न, खेलाडीको जर्सि, मेडल र प्रमाणपत्र बनाउन समस्या सिर्जना भएको छ ।’

उनले तोकेको समयमा प्रतियोगिता सम्पन्न हुन नसकेमा प्रदेश स्तरिय प्रतियोगितामा सहभागिता गराउन गाह्रो पर्ने भन्दै मौषमले साथ दिएमा जसोतसो सम्पन्न गरिने बताए ।

प्रतियोगितामा गाउँबाट विद्यार्थीहरु सहभागिताको लागि आउँदा असारको बर्खाले खेलाडीहरुलाई समस्या हुन सक्ने आशंका समेत पैदा भएको छ ।

ग्रामिण भेगका सडकहरु पहिरोले बन्द भइरहेको बेलामा जिल्ला सदरमुकाममा प्रतियोगिता हुन लाग्दा ग्रामिण भेगका विद्यार्थीहरुलाई सहभागिताको लागि समस्या पैदा हुन सक्ने छ ।

जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलनमा असार २२ गते बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको छनौट खेल हुने जनाएको छ ।

जैमिनी नगरपालिकासँग मौखिक सहमति भएपनि अन्तिम निर्णय नआएकाले सहभागिता हुने नहुने निश्चित नभएको अध्यक्ष परियारले बताए । उनले जैमिनी नगरपालिको अन्तिम निर्णय दिएमा २२ गते छनौट गरिने बताए ।

यस्तै असार २३ र २४ गते जिल्ला छनौट प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने जनाइएको छ ।

प्रतियोगतामा एथ्लेटिक्स तर्फ छात्र र छात्राको १ सय, २ सय, ४ सय, ८ सय, १५ सय मिटर, ३ हजार मिटर र रिले तर्फ ४÷१०० र ४÷४०० प्रतियोगिता हुनेछभने छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटफूटमा छात्र तर्फ १२ पाउण्ड र छात्रा तर्फ ८ पाउण्डको प्रतियोगिता हुनेछन् ।

यस्तै भलिबल र कबड्डी प्रतियोगिता हुनेछ । मार्सल आर्टंतर्फ कराँते, उसु र तेक्वान्दो प्रतियोगिता हुनेछ ।रनिङ शिल्डको विजेताले सरकारको नियमअनुसार १५ हजार उपविजेताले १२ हजार र तृतीय हुने विद्यालयले ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता संचालनको लागि ५ लाख १० हजार ९ सय रुपैयाँ खर्च लाग्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता संचालनको लागि बागलुङ नगरपालिकाले छनौटको लागि २ लाख रुपैयाँ र काठेखोला गाउँपालिकाले १ लाख रुपैयाँ विनियोजित गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.