www.tandavnews.com
Fact ~ In search of truth

महिलाको शत्रु को ?

एकजना दिदीले भन्नु भो,‘महिलाको शत्रु महिला नै हो । एकअर्काको रिस डाहा गर्छन् । काम गर्नलाई त महिला भन्दा पुरुष नै ठीक हुन्छन्, सजिला पनि हुन्छन् ।’

उनको भनाइप्रति प्रतिक्रिया दिन सकिँन । हो दिदी हजुरले ठीक भन्नुभो, भनँु भने म उनको भनाइमा असहमत थिएँ । होइन दिदी हजुरले गलत भन्नु भो भनाँै भने मैले भोगिरहेको र देखिरहेको परिवेशले सहमत थिए कि भन्ने पनि बनायो ।

त्यसपछि एउटै प्रश्न खेलिरह्यो, के महिला महिलाबिचको सम्बन्धमा रिस र डाहाले मात्र स्थान पाउँछ ? महिला साथीहरु बिचका सम्बन्ध सुमधुर हुन सक्दैनन् र ?

Batas

यही प्रश्नलाई केलाउने क्रममा मैले आफ्ना महिला साथीहरुबिचको सम्बन्धलाई केलाउने प्रयास गरँे । मेरा कति महिला साथीहरु छन् त जसलाई म आँखा चिम्लेर विश्वास गर्न सक्छु, मेरा सफलताहरुमा खुसी हुने कति महिला साथी छन्, कति साथी छन् जसले आपत्विपत् परेको बेलामा पछाडि खुच्चिङ खाइस् भन्दैनन् र निःस्वार्थ रुपमा सहयोगको भावना राख्छन् । मैले हातका पूरा औँला भाँच्न सकिन ।

यही क्रममा म आफैले पनि कति महिला साथीहरुका बारेमा टिका टिप्पणी गरँे होला, उनीहरुको यथार्थलाई नबुझिकन आलोचना गर्न तिर लागँे होला, कतिको सफलता देखेर आफूलाई असुरक्षित ठाने होला, सोचेर पछुतो लाग्यो र अब त्यस्ता आलोचना गर्ने र गराउने वातावरणबाट सकेसम्म टाढा रहन्छु भन्ने प्रण गरँे । यहाँ महिला महिलाबिचको सम्बन्ध सुमधुर हँुदैन भन्ने दृष्टिकोणलाई प्रस्तुत गरिरहेकी छैन । यथार्थको धरातलमा उभिएर मेरा आफ्ना भोगाइहरुले सिकाएको बुझाइलाई मात्र प्रस्तुत गरिरहेकी छु ।

वर्षोदेखि हाम्रो समाजको सन्दर्भममा सासू बुहारीका सम्बन्ध, नन्द भाउजूका सम्बन्ध, देउरानी जेठानीका सम्बन्धहरुलाई सधैँ एउटै स्वरुपमा देखाइयो । चलचित्रदेखि विज्ञापनसम्मका महिला पात्रहरुको सम्बन्ध सधै उही झै–झगडा गरिरहेको, सासू बुहारी लुछालुछ गरिरहेको, कहिले छुच्ची सासु र सोझी बुहारी, कहिले झगडालु बुहारी र आदर्श सासू, नन्दले भाउजूको कुरा पछाडि काटिरहेको, आफ्ना महिला साथीले अर्को साथीसँग रिसले मुर्मरिएकोे आदि दृश्यहरु सामान्य रुपमा देखाइए ।

के महिला महिलाबिचको सम्बन्धको वास्तविकता नै यही हो त ?

सानैमा यस्ता दृश्यको प्रभावले सासूले बुहारीलाई दमन मात्र गर्दछन् भन्ने म बुझ्दथेँ तर वास्तविकता मेरो घरमा हजुरआमाले आमालाई गरिरहेको व्यवहार र उहाँहरुको सम्बन्ध फेरि सुन्दर पाउथँे । नेपालको सन्दर्भममा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा उत्पादन हुने चलचित्र, टेलिसिरियलहरुले पनि महिला नै महिलाको शत्रु हुन्छन् भन्ने किसिमको दृश्यहरु देखाउथँे र अहिले पनि देखाउँछन् ।

जस्तो डिज्नीको सिन्ड्रेलामा उसका सौतेनी आमा र दुई छोरीहरुले गरिरहेको दमनदेखि हिन्दी टेलिसिरियलहरुमा देखाइने महिलाहरुको सम्बन्धमा सधै रिस र डाहाले मात्र स्थान पाइरहेको हुन्छ । र महिला महिलाबिचको सम्बन्ध नकरात्मक हुन्छन् भनि प्रस्तुत गरिएको हुन्छ । किन हामी महिलाका सम्बन्धहरुलाई यसरी चित्रण गरिए ? ससुरा र ज्वाइँका सम्बन्धहरु अथवा पुरुषका आफ्ना पुरुष साथीहरुबिचको सम्बन्धमा नकरात्मक रुपमा प्रस्तुत गरिएको हामी कमै भेट्छाँै ।

यी परम्परागत सोचका परिणाम हुन् कि हाम्रो समाजको यथार्थ, बहसको विषय रहनेछ । हामी सबै एक अर्का भन्दा भिन्न छौँ । हाम्रा भोगाइ, सिकाइ, बुझाइ, आवश्यकता, जीवनप्रतिको धारणा सबै फरक छन् । तर हामी महिला हुनुले नै हामीलाई समान बनाउँछ । पहिलोपटक महिनावारी हुनुको कौतुहलता र डरदेखि प्रश्रवका पीडासम्मका हाम्रा भोगाइहरु समान छन् ।

महिला भएकै कारणले सहनुपरेका हिंसाहरुका दुःखाइ हामीबिचका समानताहरु हुन् । हाम्रा भोगाइहरुलाई हामीले भन्दा अरु बढी कसले बुझ्न सक्छ र ? एक महिलाको समस्या अर्को महिलाले नै बुझ्न सक्दछ । यो भन्दैमा पुरुषले महिलाको पीडा बुझ्नै सक्दैन भन्ने हैन, बुझ्दछन् तर आफैले भोग्नु र महसुस मात्र गर्नुमा फरक हुन्छ । समानुभूति र सहानुभूतिले दुई भिन्न अर्थ राख्दछ ।

असुरक्षित प्रतिस्पर्धामा उत्रनु र कसरी हुन्छ खुट्टा तान्ने प्रवृत्ति हाम्रोमा नयाँ हैन । एकको सफलतामा अर्कालाई खुसी हुन आउँदैन । बरु यसले यति ग¥यो मैले गर्न सकिन भन्छौैँ र एकअर्कालाई प्रतिद्वन्द्वीको रुपमा हेर्छौ । प्रतिस्पर्धा हुनुपर्छ तर स्वस्थ प्रतिस्पर्धा हुनुले महत्व राख्छ ।

मुखमा राम राम बगलीमा छुरा भनेको जस्तै अगाडि ठिक्क पछाडि चाहिँ त्यही मान्छेको बारेमा नकरात्मक टिप्पणी गर्दे हिँड्नुले हाम्रा यथार्थ छविलाई प्रस्तुत गर्छ । महिला महिलाबिचमा प्रतिस्पर्धा हुनुकोे कुनै अर्थ छैन । किनकि यो ठूलो लडाइँको मैदानमा हामी एउटै पक्षका सारा योद्धा हौँ । हामीले एकअर्कालाई चोट पु¥याउनु भनेको आफैलाई नै चोट पु¥याउनु हो । शारीरिक चोट भन्दा भावनात्मक चोट अझ गहिरो हुन्छ ।

महिला सशक्तीकरणका पाटोलाई हामीले आपसी मेलमिलापबाट सुरु गर्नुपर्छ । घरदेखि काम गर्ने ठाउँसम्म, हामी जहाँ पनि पुग्छाँै एकले अर्कालाई सम्मान र सहयोग गर्ने बानी बसाल्नु जरुरी छ । महिला अधिकारदेखि सशक्तीकरणको लडाईँमा हामी छौँ तर सुरुवात हाम्रा आफ्नै साना तर ठूला महत्व राख्ने क्रियाकलापहरुबाट हुनुपर्छ ।

हामीले हरेक महिलाको सानोदेखि ठूला उपलब्धीहरुलाई उत्सवका रुपमा मनाउन जरुरी छ । चाहे ती हाम्रा मिल्ने महिला साथी हुन्, सँगै काम गर्नै महिला साथी हुन्, चिनजानको मात्र हुन्, धारणा नमिल्ने महिला साथी नै किन नहुन् सबैका उपस्थितिलाई हामीले कदर गर्नुपर्दछ । प्रतिस्पर्धीको भावना नराखी हरेकको उपलब्धीहरुलाई साझा उपलब्धी र सिकाई मान्नु जरुरी छ ।

[email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.