www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बाँदर धपाउन मकैबारीमा शङ्ख

footware

पोखरा ।

 

सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ ।

बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै बाँदरले नछोडे पनि तै धपाउन सकिन्छ कि भन्दै शङ्ख फुक्ने गरिएको हो ।

Batas

“खै अघिल्ला वर्षमा त शङ्ख फुकेपछि बाँदर तर्सिएर भाग्थे,” स्थानीय कृषक बन्धुराज पौडेलले भने, “अहिले त शङ्ख फुके पनि बाँदरले छोड्दै छोडेनन्, हामी त आजित भइसकेका छौँ ।”कसैगरी मकै जोगाउन नसकेपछि स्थानीयले बाँदरबाट जोगिएका हरिया मकै नै भाँच्न थालेको उनले बताए । “अघिल्ला वर्ष एक ट्र्याक्टरभन्दा बढी मकै आँगेटारीबाटै घरमा भित्र्याउँथ्यौँ,” दुःखेसो सुनाउँदै उनले भने, “खै अहिले त भन्न पनि लाज लाग्छ, हरियै भाँचेर एक डोकी लगियो ।”

आँगेटारीमा त हरिया भाँचेर राखेका मकै पनि बाँदरले घरबाटै खाइदिए पछि कृषक थप पीडामा छन् । स्थानीयवासीका अनुसार आँगेटारी, नाङ्गे चौर र आसपासका क्षेत्रमा दुई महिनायता भित्रिएका झण्डै छ सय बाँदरको फौज यतिखेर अड्डा जमाएर बसेका छन् ।

अघिअघि एक दुईजनाले धपाएर पनि बाँदर भाग्ने गरेको अनुभव सुनाउने स्थानीय चण्डी माध्यमिक विद्यालयका शिक्षक कमलप्रसाद पौडेलले अहिले भने भाग्नुको साटो एक दुई जनालाई त उल्टै कोपर्न आउने गरेको बताए ।केही वर्षयता बाँदरका कारण यस क्षेत्रका कृषक ठूलो समस्यामा परे पनि सरकारी निकायबाट कुनै किसिमको सहयोग पाउन नसकिएको र सम्बन्धित निकायमा खबर गरे पनि त्यसको पूर्ण बेवास्ता गरिएको उनले बताए ।

बाँदरले मकै खेतीमा ठूलो क्षति पुर्याएको भन्दै कृषकहरू सम्बन्धित निकायमा क्षतिपूर्तिको माग गर्ने तयारीमा लागेका छन् । बाँदरले खाद्यान्न, तरकारी बाली र फलफूल खेती नष्ट गरिदिए पनि सरकार एवम् सम्बन्धित निकाय मौन बनेको भन्दै कास्कीका किसानले २०७३ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

बाँदर आतङ्कका कारण खेती बाँझै छाडेर गाउँ छोड्नुपर्ने अवस्था आएको भन्दै राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीका तर्फबाट रिट दिइएको अगुवा कृषक खेमराज बरालले जानकारी दिए ।किसानकै पक्षमा सर्वोच्चले रिटको सुनुवाइ गरिसकेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनले बताए । “बाँदरका कारण किसान धेरै मर्कामा छन्, सरकारले मर्का सुनेको छैन”, कृषि सञ्जाल वडा नं २२ का अध्यक्षसमेत रहेका बरालले थपे ।

बाँदरका कारण कृषक सधैँ समस्यामा पर्ने र कुनै किसिमको राहत तथा सहयोग नपाउने अवस्थाको तत्काल अन्त्यका लागि सर्वोच्चको आदेशको कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.