www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका हिंसापीडित महिलालाई सुरक्षित आवास गृह

पोखरा ।

विभिन्न कारणले हिंसामा परेर कष्टकर जीवन बिताउन बाध्य महिलाको सहज जीवनयापनका लागि गण्डकी प्रदेशमा सुरक्षित आवास गृह निर्माण थालिएको छ ।

विभिन्न सरोकारवाला निकायले पटकपटक उक्त आवासगृहका लागि दबाब र ध्यानाकर्षण गराउँदै आएकामा सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा एक करोडको लागतमा उक्त महानगरपालिकाको वडा नं ३३ मा यस्ता घर निर्माण भइरहेको नगर उपप्रमुख मञ्जु गुरुङले जानकारी दिए ।

निर्माण थालिएका ती भवन निरीक्षण गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले भने, “निर्माण कार्य तीव्ररुपमा भइरहेको रहेछ । भवन निर्माणपछि हिंसापीडित महिलाको उचित व्यवस्थापनमा लाग्नेछौँ ।”

उक्त भवन बनाउनका लागि गत फागुन २३ गते ती दुई निकायबीच सम्झौता भएपछि वडा नं ३३ मा २० रोपनी जग्गा उपलब्ध गराएर अहिले दुई तलाको भवन र पर्खाल लगाउने काम भइरहेको त्यहाँका वडाध्यक्ष शिव आचार्यले जानकारी दिए ।

घरेलु हिंसालगायत शारीरिक र मानसिक हिंसामा परेका महिलाको सुरक्षाका लागि सरकारी तहमा आवास गृह नहुँदा सडकमै जीवनयापन गर्न पीडित महिला बाध्य थिए ।

महिला बालबालिका र मानसिक स्वास्थ्यमा काम गर्दै आएको ‘कोपिला’ नामक गैरसरकारी संस्थाले केही महिलालाई उद्धार गरेर अल्पकालीन सुरक्षित आवास उपलब्ध गराउँदै आइरहेको छ ।

हाल सो संस्थाले ३६ हिंसापीडित महिलालाई आश्रय दिइरहेकामा १० वर्षमुनिका बालबालिका पनि छन् । सो संस्थाले त्यस्ता महिलाको सुरक्षा, मानसिक स्वास्थ्य उपचार, मनोविर्मश गराउँदै आएको कोपिला नेपालका कार्यकारी निर्देशक बीना सिलवालले बताए ।

“हामीले आर्थिक स्रोतको अभाव हुँदा पनि सडकमा महिलाको विचल्ली देखेर उद्धार गर्र्यौं तर दिनदिनै हिंसामा परेर विक्षिप्त भएका महिला थपिँदै गएकाले अब धान्न नसकिने भयो”, निर्देशक बीना सिलवालले भने, “सरकारले भवन निर्माण गरेपछि उचित व्यवस्थापन गर्नेछ भन्नेमा विश्वस्त छौँ ।”

“हामीले निकै कठिन अवस्थामा पनि मानवीय कर्तव्य पूरा गर्नाका साथै स्वास्थ्य सुधार भएकालाई विभिन्न सीपमूलक तालीम प्रदान गर्दै परिवारको पहिचान गरेर पुनःस्थापना पनि गर्दै आइरहेका छौँ ।”

अब यो जिम्मेवारी राज्यको हो । हामी सहकार्य गर्न तयार छौँ, उनको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.