www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्छःरक्षामन्त्री पोखरेल

काठमाडौं ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने बताएका छन् ।

मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र संवद्र्धन तथा सशक्तीकरण’सम्बन्धी अन्तरक्रियामा उनले अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्नेमा जोड दिए ।

रक्षामन्त्री पोखरेलले देशको राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्न जरुरी छ भन्दै तराई, पहाड र हिमालको भाग्य एकै ठाउँमा गाँसिएको बताए ।

“तराई मधेशका जनताको असल चालचलन, इमान्दारी र प्रचूर मात्रामा रहेको देशभक्तिपूर्ण भावनाको वर्णन गरेरै सकिन्न”, उनले भने, “विगतमा भएको नजानिँदो भेदभावपूर्ण व्यवहारले अन्यायमा परेको मनोविज्ञानलाई तोड्दै मुलुकको विकास र समृद्धिका लागि एकाकार भएर अघि बढ्न आवश्यक छ ।”

उनले अग्रगमनतर्फ अघि बढ्ने क्रममा आउने समस्याको ठीक ढङ्गले चित्रण गरेर सामाजिक जागरणका माध्यमबाट सम्बोधनको प्रयास गर्नुपर्ने बताए ।

सो अवसरमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले छिमेकी मुलुकको तुलनामा नेपालको संविधानले समानुपातिक र समावेशीको सिद्धान्तलाई उत्कृष्ट ढङ्गबाट आत्मसात् गरेको बताउँदै हामीले अपनाएको उत्कृष्ट शासन प्रणाली र राज्य व्यवस्थालाई ठीक ढङ्गबाट हिँडाउन र त्यसलाई पृष्ठपोषण गर्ने किसिमले ऐन, नियम र कानून बनाएर अघि बढ्नुपर्छ भने ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मधेशी र थारु समुदायका माग एकै खालका भएको बताउँदै तराई–मधेशमा उठेको विषय सम्बोधन गर्न दुवै आयोग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मधेशी आयोगका अध्यक्ष विजय दत्तले मधेशी समुदायको समग्र स्थितिको अध्ययन गरी समस्याको पहिचान भइसकेको हुँदा समाधानको उपाय के हुन सक्छ भनी सुझाव लिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

मुलुकको अन्नको भण्डार तथा कला, साहित्य, धर्म र सस्कृतिको अनुपम क्षेत्र तराई मधेशको विकासका लागि नीतिगत, कानूनी र संस्थागत विकास एवं सुधार गर्न आयोगले सरकारलाई सिफारिश गर्ने पनि उनले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.