www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा र गुल्मी जोड्ने कालीगण्डकी माथिको बेलीब्रिज जीर्ण

स्याङजा ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा स्याङ्जा र गुल्मी जिल्लालाई जोड्न जलविद्युत् आयोजनाको ड्यामभन्दा केही तल कालीगण्डकी नदीमा निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ ।

जलविद्युत् आयोजना निर्माणका क्रममा निर्माण गरिएको सो बेलिब्रिज आयोजना निर्माण भएर विद्युत् सञ्चालनमा आइसकेपछि लामो समयसम्म मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको हो ।

पुलमा सुरक्षाका लागि बनाइएको बारसमेत ठाउँठाउँमा भत्किएका छन् भने पुल खिया लागेर जीर्ण अवस्थामा पुगेको छ।कालीगण्डकी गाउँपालिका– ६ का विष्णुप्रसाद न्यौपानेले पुल मर्मतसम्भार नहुँदा जोखिम बढेको बताए ।

उनले भने, “पुल बनेसँगै स्याङ्जाको पश्चिमी भेग मिर्मी, चण्डीभञ्ज्यङ, आलमदेवीलगायत बासिन्दाको गुल्मीको हर्मीचौर पूर्तिघाटका साथै पर्वत र बाग्लुङवासीसँग सिधा सम्पर्क हुँदै आएको थियो ।”

गुल्मी जिल्लास्थित कालिगण्डकी गाउँपालिका– १ हर्मीचौरका धुव्र पाण्डेले सो आयोजना निर्माण अवधिमा आयोजनाले नै बनाएको पुल लामो समयसम्म मर्मत नहुँदा स्थानीयवासी चिन्तित भएको बताए ।

उनले भने, “तीन जिल्लाका बासिन्दा आवत जावत गर्ने सो पुलका बारेमा बेलाबखतमा प्रशासनमा जानकारी गराउँदा पनि अझैसम्म सुनुवाइ भएको छैन।”

कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी र बाग्लुङ सडकखण्डमा जोडिने उक्त पुल मर्मत भए स्याङ्जा जिल्लालाई पनि कोरला नाकासँग सम्पर्क गर्न सहज हुनाका साथै मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकका लागिसमेत छोटो बाटो हुने स्थानीयवासीको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.