www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा गल्याङका किसानद्धारा सामूहिक टिमुरखेती

स्याङ्जा ।

गल्याङ नगरपालिका– १० भिरालेका किसानले घरबारीको पाखो बारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुरखेतीको शुरु गरेका छन् ।

बाँदर, मृगलगायतका जङ्गली जनावरले लगाएको खेतीबाली आएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छाडेका थिए ।
खेती नलगाएसँगै झाडी बनेको बारी भने यतिबेला किसानले फाँडेर चिटिक्क पारेका छन् ।

वडा कार्यालयले किसानलाई टिमुरखेतीका बारेमा जानकारी दिनुका साथै आवश्यक बिरुवासमेत उपलब्ध गराएपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् ।

भिरालेका ५० घर स्थानीयले देवीभञ्ज्याङ टिमुर व्यावसायिक कृषि समूह गठन गरी साढे एक हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुरखेती शुरु गरेका हुन् ।

करीब एक हजार २०० टिमुरको बिरुवा लगाएको टेकबहादुर सिंजालीले बताए । बाँदर, मृग, दुम्सीलगायतका जनावरले अन्नबाली रहन नदिएपछि टिमुरखेती शुरु गरेको सिंजालीले बताए ।

सामूहिक टिमुरखेतीमा लाग्नुभएकी लीला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने भएकाले सामूहिक टिमुरखेतीमा लागेको बताए ।

टिमुरखेतीको सम्भावना देखेर आफूहरु यस खेतीमा लागेको उनले बताए ।अघिल्लो वर्ष वडामा ७०० टिमुरका बिरुवा परीक्षणका रूपमा लगाइएको र टिमुरका लागि चाहिने खालको उपयुक्त हावापानी भएकाले यस वर्षदेखि व्यावसायिकरूपमा समूह बनाएर शुरु गरेको कृषक लक्ष्मण शाहीले बताए ।

टिमुरखेतीका लागि गाउँमै नर्सरी बनाएर बिरुवासमेत उत्पादन गरिएको शाहीले बताए ।वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले वडालाई जैविक वडाका रूपमा विकास गर्न कृषिका माध्यमबाट अगाडि बढिएको बताए ।

युवालाई विदेश पलायन हुनबाट रोक्न सामूहिक टिमुरखेती, सामूहिक कागतीखेती, कुरिलोखेतीलाई समेत वडाले प्राथमिकता दिएको उनको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.