
काभ्रे ।
अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् ।
स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उनकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए ।

घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिए ।
घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण चौँरीदेउराली–४ मजुवामा आज बिहान पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।
स्थानीयवासी दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमा पहिरोले क्षति पुर्याएको पीडित गौतमले जानकारी दिए।
उनका अनुसार बिहानको समयमा पहिरोले क्षति घरमा पुर्दा पनि मानवीय क्षति भने भएको छैन ।पहिरोले मजुवामै रहेको कुशल कृषि उत्पादक समूहद्वारा सञ्चालित बाख्रापालन फार्ममा क्षति पुगेको सोही स्थानका लिलानाथ गौतमले बताए।
उनका अनुसार मजुवाका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिँदा बस्तीनै जोखिममा पर्ने सम्भावना छ ।अविरल वर्षाका कारण सडकमा लेदो जम्दा आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कटुञ्जेको सडक अवरुद्ध भएको छ ।
प्रहरी उपरीक्षक सापकोटाका अनुसार खोसापी–ढुङ्खर्क सडकखण्डको केही स्थानमा पहिरो तथा सडक भत्कँदा यातायात अवरुद्ध भएको छ ।
पहिरोका कारण कोलाँती–मुलाबारी–गुराँसे सडक अवरुद्ध भएको स्थानीयवासी विष्णप्रसाद चौलागाईंले जानकारी दिए।अविरल वर्षाका कारण बनेपास्थित पुलबजारस्थित सडक आज बिहानदेखि डुबानमा पर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
ठूला सवारीसाधन मुस्किलले डुबान सडक पार गरिरहेका छन् भने हलुका तथा दुईपाङ्ग्रे सवारीसाधन बाटोमै रोकिएका छन् । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.