www.tandavnews.com
Fact ~ In search of truth

भारी वर्षाको सम्भावनाःपूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं ।

मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो ।

आज बिहानैदेखि मुलुकभर लगातारको मनसुनी वर्षा भइरहेको छ । खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ ।

पूर्वी र मध्यमा एक÷दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद् समीर श्रेष्ठले बताए ।उनका अनुसार पूर्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा भने कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ ।

मौसमी भाषामा १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भनिन्छ ।

यस वर्षको मनसुन अघिल्लो वर्षभन्दा १० दिन ढिलो गरी गत जुन २० तारिखदेखि शुरु भएको थियो । आगामी सेप्टेम्बरको अन्तिम सातासम्म नेपालमा मनसुन जारी रहन्छ ।

देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।

त्यसैगरी भोलि शनिबार पनि देशको पूूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षासमेत हुनेछ ।

देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आगामी २९ गते आइतबार पनि खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ ।

पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने जनाइएको छ ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने र पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुने भएकाले पूर्वी र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पूर्वी र मध्य तराई क्षेत्रका नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनन अनुरोध गरिएको छ ।

नदी तटीय क्षेत्रमा उच्च खतरा

निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बढी पूर्वानुमान महाशाखाले आज बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

आज बागमती नदीको तराई क्षेत्रमा बहाव खतरा माथि बढ्दो रहेको छ । कमला र कन्काईमा बहाव सतर्कता तह नजीक पुगेको छ ।

कोशी नदीमा बहाव सतर्कता तह नजीक पुगेको छ । प्रदेश नं १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि र उच्च खतरा रहेको तथा भोलीसम्मै कामय रहने भएकाले सबै शक्ति प्रतिकार्यमा लगाउन आग्रह गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.